images
images
  • एउटै व्यक्तिलाई एकै दिन १२ पदक !

    काठमाडौं- आफुलाई अलौकिक दावी गर्दै आएका पोखराका कवि देशभक्त सिंह कुँवर सामाजिक सञ्जालमा निकै आलोचित भएका छन् । शनिबार भएको एउटा कार्यक्रममा उनलाई आयोजकले १२ वटा उपाधि दिएको फोटो र उपाधिको शीर्षक सार्वजनिक भएसँगै उनको आलोचना शुरु भएको हो । उनले शब्द सम्राट, वाङ्‍मय सम्राट, साहित्य सम्राट, सिर्जना सम्राट, रचना सम्राट, लेखक सम्राट, दिव्य गायक, बहुआयामिक व्यक्तित्व, सङ्गीत मणिरत्न, युग सञ्चारमणि, महासाहित्यकार र दुर्लभ महामानव ‘उपाधि’ प्राप्त गरेका हुन् । कुँवरले उपाधिसँगै प्रमाणपत्र, चिनो तथा नगद ६ लाख समेत प्राप्त गरेका छन् ।

    उनलाई इन्याल्क नेपाल (अंग्रेजी प्रौढ साक्षरता अभियान), काठमाडौँ र पोखरा शाखा, उन्नतिशील वाङ्‍मय प्रतिष्ठान, बैदाम वाङ्‍मय प्रतिष्ठान, रूपाङ्कन साहित्य परिवार, श्रीवृद्धि साहित्य परिवार, श्री ऐतिहासिक कुँवर तथा राणा सांस्कृतिक समाज पोखरा, सनलाइट मिडिया ट्रेनिङ सेन्टर, कारवि फाइनान्सियल एजेन्सी काठमाडौँ, काविन ग्राफिक्स डिजाइनिङ एन्ड सोलुसन र माछापुच्छ्रे नृत्य प्रशिक्षण तथा साँस्कृतिक परिवार लगायतले सम्मान गरेका हुन् ।

    यसरी सम्मानित भएपनि सामाजिक सञ्जालमा उनको निकै आलोचना भएको छ । पोखरालाई नै आधार बनाएकी उपन्यासका तथा कवि सरस्वती प्रतिक्षाले उनको उपाधि प्राप्तिलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘पोखरामा एक कार्यक्रमका माझ एक जना महानुभावलाई यी सबैखाले उपाधि दिइएछ ।

    उपाधिहरुकै हुर्मत काट्ने गरेर यसरी प्रायोजित रुपमा आफैलाई र अरुलाई सम्मान गरेर वाङ्‍मयको सम्मान हुन्छ कि अपमान रु साधना र सृजना कठिन बाटोको अर्को नाम हो । त्यसलाई यो हदको सस्तो मजाक बनाइनु हुँदैन कदाचित ।’

    सरस्वतीको पोष्टमा कमेन्ट गर्दै गीतकार तथा गजलकार अनुराग अधिकारीले यस्ता गाईजात्रे कार्यक्रममा जानेहरूलाई पनि लाज लाग्नुपर्ने होइन र ? भन्ने प्रश्न गरेका छन् । गजलकार तथा मुक्तक मञ्चका पूर्व अध्यक्ष प्राञ्जलले फेसबुकमै लेखेका छन्, ‘पोखरामा हिजो गाइजात्रा मञ्चन भएको खबर पढ्न पाएर जीवन धन्य भएको छ तर पोखरामै बसेर पनि त्यत्रो महान कार्यमा साक्षी बस्न नपाएर अलिकति अभागी महसुस पनि भैराछ ।’

    कुँवरले यसअघि ‘अलौकिक कवि’ को उपाधि पनि पाएका थिए । एक घण्टामा मुक्तक संग्रह तयार पारेकोले आफु अलौकिक कवि भएको उनको दावी थियो । सेतो संसार नामक मुक्तक संग्रह उनले प्रकाशन गरेका छन् । पोखराका पूर्व मेयर मानबहादुर जिसीमार्फत उनले आँफुलाई अलौकिक कवि भनेर घोषणा गराएका थिए ।

    शनिवार उनलाई शिक्षाविद् जर्ज जोनसहित गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, साहित्यकार माधव वियोगी, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, शिक्षाविद् बालगोपाल अमात्य, गायिका बाबा राणा, साहित्यकार डा। गेहेन्द्रमान उदास, एड्स रोग नियन्त्रण संघका अध्यक्ष विश्वमोहन गौचन र शिक्षाविद् टीकाराम कोइराला, चिकित्सकहरु डा।बुद्धिबहादुर थापा, डा। ध्रुव अधिकारी, डा।मुकुन्द आचार्य एक एक उपाधि भिराएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images