काठमाडौं- शनिबार राति मृत फेला परेकी केएमसी स्कुल बुद्धनगरकी कर्मचारी रमा रायमाझीको शव दुई दिन पछि उठाइएको छ।
विद्यालय प्रशासन र आफन्तबीच मृतकका परिवारलाई ८ लाख रुपैयाँ दिने सहमतिपछि शव राति नै उठाएको काठमाडौं परिसरका निमित्त प्रमुख एसपी दिनेशराज मैनालीले बताए।
शनिबार साँझ स्कुलकै होस्टलमा मृत फेला परेकी रायमाझीको हत्या भएको भन्दै आफन्तले शव उठाउन दिएका थिएनन्। तर प्रहरीले घटनाको सत्यतथ्य अनुसन्धान हुने र पोष्टमार्टमपछि मात्रै प्रारम्भिक कुराहरु खेल्ने भन्दै पोष्टमार्टमका लागि शव उठाउन दिन आग्रह गरेको थियो।
शनिबार र आइतबार पनि पटक पटक भएको छलफलमा राति मानवअधिकार आयोगका अधिकारीसहितको छलफलमा सहमति जुटेको हो। शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।
केएमसी स्कुलको क्यान्टिनमा कार्यरत काभ्रेको तेमाल गाउँपालिका–८, मेच्छेकी २१ वर्षीया रमा रायमाझी शनिबार साँझ होस्टलमै झुन्डिएको अवस्थामा भेटिएकी थिइन्।
रमा केएमसी स्कुलमा ५ वर्षदेखि कार्यरत थिइन्। त्यसदिन घर नफर्किएपछि खोज्दै आफन्त स्कुलमा पुगेका थिए।


विश्व खबर 



















