images
images
  • बजेटमाथि छलफल रोकिएपछि एमालेले माग्यो मुख्यमन्त्रीको राजीनामा

    पोखरा- सत्तारुढ दलहरुको विवादका कारण बजेटमाथि छलफल नै रोकिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्रीको राजीनामा मागेको छ ।

    एमालेले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी अर्थमन्त्री रामजी बरालले मुख्यमन्त्रीकै निर्देशन र मन्त्रिपरिषदकै निर्णय उल्लंघन गर्दा पनि सरकार निरिह बनेको बताएको छ । एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङको प्रश्न छ, ‘बजेट भएपछि छलफलको प्रकृयामा जानुपर्नेमा सत्तासीन पार्टीभित्रको विवाद, अर्थमन्त्री र मुख्यमन्त्रीबीचको विवादका कारणले बजेट छलफल रोक्न मिल्छ ?’

    नीति तथा कार्यक्रम पारित गर्ने बेलामा नै सरकार संकटमा परेको उनले बताए । नीति तथा कार्यक्रम पेश हुँदा सरकारकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य अनुपस्थित थिए । उनलाई मनाएर नीति तथा कार्यक्रम पास गरेको सत्तारुढ गठबन्धनमा अहिले बजेटको विवाद छ ।

    अर्थमन्त्री बरालले एकलौटी गरेको, मन्त्रालयले सिलिङभित्र रहेर पठाएको कार्यक्रम नै काटेको, मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीको निर्देशन अवज्ञा गर्दै निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम नै हटाएको भन्दै सत्ता पक्षमै विवाद छ । विवादका कारण प्रदेशसभामा बजेटमाथि छलफल सुरु हुन सकेको छैन ।

    मुख्यमन्त्री तथा अर्थमन्त्रीको विवादका कारण संसद बैठक रोक्न नमिल्ने गुरुङले बताए । ‘कि मुख्यमन्त्रीले राजीनामा दिनुपर्यो कि अर्थमन्त्रीलाई कारबाही गर्न सक्नुपर्यो,’ पूर्व मुख्यमन्त्रीसमेत रहेका गुरुङले भने, ‘होइन भने दुई पार्टीले यसरी मिलौं भनेर मन्त्री फेर्नुपर्यो ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images