images
images
  • एन्फामा पंकजको उदय, प्रशिक्षक अब्दुल्लाहको नेपाल नफर्कने संकेत

    काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चार वर्षे कार्यकालका लागि पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएसँगै राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नेपाल नफर्किने संकेत देखाएका छन् ।

    सामाजिक सञ्जाल इन्स्टाग्राम(स्टोरीमा प्रशिक्षक अल्मुताइरीले नेपाली फुटबलप्रति सुखद् भविष्यको कामना गर्दै आफू नफर्किने संकेत गरेका छन् । यद्यपि उनले त्यो स्टोरी भने हटाएका छन् ।

    हालै कुवेतमा एएफसी एसियम कप छनोट खेलेपछी अब्दुल्लाह गृहनगर नै छन् । उनले टिम फर्कने समयमा चुनावको नतिजासँगै आफू फर्कने या नफर्कने तय हुने बताएका थिए ।

    नेपाली राष्ट्रिय टिमको प्रशिक्षक हुँदै गर्दा प्रशिक्षक अल्मुताइरीले तत्कालीन वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफू पदबाट राजीनामा दिन एन्फा जान लागेको फेसबुकमा लेखेका थिए । तर, उनले राजीनामा भने दिएका थिएनन् । नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याए पनि उनले नेपाल नफर्किने अभिव्यक्ति दिएका थिए ।

    एसियन कप छनोटको तेस्रो चरणका लागि आफ्नो देश कुवेत पुगेका अब्दुल्लाह तीन महिनाका लागि छुट्टिमा छन् ।

    एन्फाको सोमबार भएको निर्वाचनबाट नेम्वाङ ४५ मतसहित अध्यक्ष पदमा निर्वाचित हुँदा ३९ मत पाएका कर्मा छिरिङ शेर्पा पराजित भएका थिए ।

    दुई दशकअघि केन्द्रीय सदस्यका रूपमा एन्फामा प्रवेश गरेयता कार्यसमितिमा निरन्तर रहेका नेम्वाङ उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बनेका हुन् । उनले नेपाली फुटबलमा प्राथमिकताबारे बोल्दै भने, ‘एन्फा र जिल्लाहरू, एन्फा र क्लबहरूको सम्बन्ध बिग्रिरहेको छ । एन्फा र खेलाडीहरूको सम्बन्ध राम्रो भइरहेको छैन । हामीले फिफा, एएफसी (एसियाली फुटबल महासंघ) सँगकै सम्बन्ध राम्रो गरेर लैजानुपर्छ । सबै बिग्रिएका सम्बन्धलाई एउटा मालामा उनेर सम्बन्ध सुमधुर बनाउँदै अगाडि बढ्नुपर्छ ।’

    नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवादमा पनि मुछिएका नेम्वाङले एसियन कप छनोटको क्रममा खेलाडी र प्रशिक्षकको विवादबारे पनि बोले, ‘पहिलो कार्यसमितिको बैठकबाट निर्णय गर्छौं । छानबिन समितिको प्रतिवेदन बृहत रूपमा छलफल गरेर त्यो समस्याको समाधान गर्छौं ।’

    एन्फाले गठन गरेको छानबिन समितिले एसियन कप छनोटपछि प्रशिक्षक अल्मुताइरीको विकल्प खोज्न सिफारिस गरेको छ । अल्मुताइरीले होटल बस्ने कि होस्टेल भन्ने विषयमा होटल रोजेका रोहित चन्दलाई तत्कालै टिमबाट हटाएका थिए । रोहितलाई अन्याय भएको बताएका ९ खेलाडीलाई पनि घर पठाइदिएका थिए । नियमित कप्तान किरण चेम्जोङलाई पनि टिममा बोलाएनन् । त्यसैले दोस्रो रोजाइका खेलाडी समावेश नेपाली टिमले छनोट खेलेको थियो, जहाँ तीनै खेल हारेको नेपाली टिमले त्यसक्रममा १३ गोल बेहोर्दा १ गोलमात्रै गरेको थियो ।

    गत वर्ष अल्मुताइरीले नेम्वाङकै कारण नेपाल छाड्न लागेको भन्दै फेसबुक स्टाटस लेखेका थिए, जसले नेम्वाङलाई विवादमा तानेको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    images