images
images
  • एन्फा चुनाव आज, कसले मार्ला बाजी ?

    काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ।

    नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) को चार वर्षे कार्यकालको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । बुढानिलकण्ठस्थित पार्क भिलेजमा आज आउने नतिजाले आगामी चार वर्ष एन्फा हाक्ने २१ सदस्यीय कार्यसमिति पाउँनेछ ।

    निर्वाचनमा आफ्नो पक्षको जित हुने दुवै पक्षको दाबी छ । आगामी चार वर्ष एन्फा हाँक्न वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आ–आफ्नो समूहसहित चुनावी प्रतिस्पर्धामा होमिएका छन्। दुवै पक्षले आआफ्नो पक्षमा मत बढी खस्ने तर्क गर्दै आएका छन्।

    एन्फाको चुनावमा ८४ मतदाता रहेका छन्। नेम्बाङ पक्षले ४८ देखि ५० मत आफ्नो पक्षमा आउने अनुमान गरेको उपाध्यक्षका उम्मेदवार दावा लामा तर्क गर्छन्। शनिवार नेम्बाङ पक्षको मतादातासँगको परिचयात्मक कार्यक्रममा ४६ जनाको उपस्थिति हुनुले पनि नेम्बाङ पक्ष जित निश्चित भएको दाबी गरिरहेका छन्।

    शेर्पा पक्षका एक जना सदस्य भने उक्त भेलामा ३६-३७ जना मात्र भेला भएको र विभागीयलाई जोडेर त्यो संख्या पु¥याएको बताउँछन्। चुनावको लागि अध्यक्ष पदमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुल्ला सदस्य पदका लागि ३६ तथा दुई महिला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।

    २१ सदस्यीय कार्यसमिति चयनका लागि एन्फाको वैधानिक व्यवस्थाअनुसार जिल्ला फुटबल संघ, विभिन्न श्रेणीका क्लब तथा प्राविधिक संघहरु गरी कुल ८४ संस्थाले मतदान गर्ने पाउनेछन्।

    जसमा ४८ मध्ये ४४ जिल्लाले मताधिकार पाउँदा सहिद स्मारक ‘ए’ डिभिजन क्लबका १४, ‘बी’ डिभिजनका १४ मध्ये ११, ‘सी’ डिभिजनका १४ मध्ये ९ तथा राष्ट्रिय लिगका लागि छनोट भएर पनि दुई वर्षअघिदेखि खेल्न नपाएका चार क्लबले मताधिकार पाउँछन्। यसै गरी महिला, खेलाडी, प्रशिक्षक र रेफ्री संघले पनि एकएक मताधिकार पाएका छन्।

    चार वर्ष अघि भएको एन्फा निर्वाचनमा कर्मा र पंकज समूह नै ‘क्लिन स्विप’ गर्दै एन्फा हाँक्न आएको थियो। तर दुवै समूह विभाजन हुँदै यसपटक एक अर्काविरुद्ध लड्दैछन्।

    चुनावी साधारणसभा बिहान नौ बजे सुरु हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस्

    images