काठमाडौं । दाङबाट ल्याइएका एक सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएपछि नेपालगञ्जमा रहेको भेरी अस्पतालमा आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् ।
कोरोना संक्रमण देखिएपछि जेठ ४ गते अस्पतालमा भर्ना भएका संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार गर्नेक्रममा गएराती ८ बजे मृत्यु भएको थियो । मृतकका आफन्तले भने अस्पतालको लापरवाहीले गर्दा विरामीको मृत्यु भएको भन्दै आक्रोशित बनेका थिए ।
अस्पतालका अनुसार डा। चन्द्रप्रकाश साहु, नर्स अस्मिनी गुरुङ र सदिक्षा गैरैमाथि हातपात भएको छ । आक्रमणमा उत्रिएका आफन्तले आईसियु कक्षसमेत तोडफोड गरेको अस्पतालले जनाएको छ । घटना लगत्तै अस्पताल पुगेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको निर्देशनपछि प्रहरीले तोडफोड गर्ने मृतकका आफन्तलाई पक्राउ गरेको छ ।
घटनाको छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरिएको छ । चिकित्सक तथा नर्सहरुले पटक पटक हुने यस्ता घट्नाले आफुहरुलाई निरुत्साहित बनाएको बताएका छन् ।
यसैबीच भेरी अस्पतालका कोभिड वार्डमा चिकित्सक तथा नर्समाथि भएको भौतिक आक्रमणको विरोध गर्दै दोषिलाई कारवाहीको माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस्