images
images
  • आउँदो साता बेलायतसँग श्रम सम्झौता हुने, २ हजार नर्स पठाउने तयारी

    काठमाडौं- आउँदो साता नेपाल र बेलायतबीच श्रम सम्झौता हुने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरिसकेका छन् । उत्त श्रम सम्झौतामा आगामी साता हस्ताक्षर हुने मन्त्रालयले जनाएकाे छ ।

    शुक्रवार मन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरी श्रम समझदारीको तयारीबारे छलफल गरेकी थिइन् ।

    श्रम आप्रवासनको क्षेत्रमा बेलायतसँगको सम्बन्ध गौरवपूर्ण रहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले नेपालबाट तेस्रो मुलुकमा रोजगारीका लागि जाने प्रचलन बेलायती सेनामा भर्ना प्रक्रियाबाटै सुरु भएको बताए ।

    सुरक्षा क्षेत्रभन्दा बाहिर पहिलो पटक नेपालीहरूले बेलायतमा रोजगारीको अवसर प्राप्त गर्न लागेको भन्दै मन्त्री श्रेष्ठले श्रम समझदारीको मस्यौदा समितिका सदस्यहरूलाई धन्यवाद दिए ।

    बेलायतमा रोजगारीका लागि प्रारम्भमा २ हजार नर्स पठाउन तयार रहेको बताउँदै मन्त्री श्रेष्ठले त्यसका लागि वैदेशिक रोजगार विभागको क्षमता अभिवृद्धि, छात्रवृत्तिको अवसरका साथै नर्सिङ कलेजहरूको क्षमता अभिवृद्धिमा बेलायत सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए ।

    मन्त्री श्रेष्ठले गण्डकी प्रदेशको तनहुँ जिल्लामा कम्तीमा १ सय बेडको नर्सिङ कलेजसहितको अस्पताल निर्माण गर्ने आफ्नो योजना रहेको बताउँदै बेलायत सरकारबाट सहयोगको अपेक्षा गरेको बताएका थिए ।

    नेपालको स्वास्थ्य शिक्षाको गुणस्तर विश्वस्तरको रहेको चर्चा गर्दै उनले नर्सबाहेक डाक्टर, फार्मेसिष्ट, ल्याव टेक्निसियनहरुलाई पनि बेलायतमा रोजगारी प्राप्त हुने विश्वास व्यक्त गरे ।

    भेटवार्तामा नेपाली श्रमिकहरूलाई बेलायतमा रोजगारीका लागि निर्माण, ड्राइभिङ, कृषि, होटल व्यवसाय जस्ता अन्य क्षेत्रहरूमा हुने सम्भावनाबारे पनि छलफल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images