images
images
  • प्रभावकारी बन्दै ‘कल सेन्टर’ : दैनिक ३०० गुनासो

    काठमाडौँ- काठमाडौँ महानगरपालिकाले केही दिनअघि सञ्चालनमा ल्याएको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) प्रभावकारी बनेको छ ।

    महानगरले गुनासो सुन्न र तत्काल सम्बोधन गर्न गत मङ्गलबारदेखि कल सेन्टर पुनःसञ्चालनमा ल्याएको थियो । महानगर प्रमुख बालेन्द्र साहको संयोजकत्वमा यही जेठ १६ गते भएको पहिलो कार्यपालिका बैठकको निर्णयानुसार कल सेन्टर सञ्चालनमा ल्याइएको हो । हाल दैनिक ३०० गुनासो आउने गरेको बताइएको छ ।

    महानगरको सूचना प्रविधि विभागका नमराज ढकालका अनुसार आएका गुनासामध्ये ९० प्रतिशत फोहर व्यवस्थापनसँग सम्बन्धित रहेका छन् ।

    त्यसैगरी सडकका खाल्डाखुल्डी पुर्ने, सेवा प्रवाह जस्ता गुनासो नागरिकका रहेका छन् । गत मङ्गलबारदेखि गुनासो भए वा केही सोधपुछ गर्नुछ भने निःशुल्क टेलिफोन नं १६६००१०५५११ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको थियो ।

    सूचना प्रविधि विभागका प्रमुख ढकाल भन्छन्, ‘सेन्टरको क्षमता एकैपटक १५ टेलिफोन रिसिभ गर्न सकिने खालको छ ।’ कामपाको सेवा प्रवाह, वडा, विभाग, आयोजना तथा एकाइसँग सम्बन्धित सोधपुछ तथा गुनासा, कामपाको सेवासुविधा वितरणसँग सम्बन्धित काम तथा महानगरसँग भएका अपेक्षासम्बन्धी गुनासा तथा सोधखोजका लागि यो प्रणाली स्थापना गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images