images
images
  • आँबुखैरेनीको पहिरोमा कार पुरिएको अवस्थामा भेटियो, मानवीय क्षति भएको हुनसक्ने आशंका

    काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी मुग्लिन सडक खण्डमा एक कार पुरिएको अवस्थामा भेटिएको छ ।

    अविरल वर्षासँगै गएराति पृथ्वी राजमार्ग भासिँन पुगेको थियो । सोही स्थानमा एउटा कार पुरिएको अवस्थामा पाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    उक्त कार पुरिँदा मानवीय क्षतिसमेत भएको अनुमान गर्न सकिने अवस्थामा भएपनि हाल केही विवरण सार्वजनिक भएको छैन । अहिले कारको छत मात्रै देखिएको तर पानीको बहाव र पहिरोको जोखिम अझै कायम रहेकाले उद्धार कार्य हुन सकेको छैन ।

    कार फेला परेको स्थान तनहुँको आँबुखैरेनी खैरेनी गाउँपालिका–४ मर्स्याङ्दी जलविद्युत केन्द्रको ड्याम नजिक राजमार्गको तलबाट खसेको पहिरोमा हो । सोही पहिरोका कारण पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    सडकबाट तल मर्स्याङ्दी नदीको खोंचमा कार खसेको देखिएको घटनास्थलमा रहेका तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । उनका अनुसार गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई त्यहाँ परिचालन गरिएको छ ।

    प्रहरीका अनुसार उक्त कार आबुखैरेनीबाट मुग्लिङ तर्फ जाँदै गरेको भनिए पनि कारमा कतिजना थिए र कोको थिए भन्ने खुलेको छैन । तनहुँ प्रहरी प्रमुख रेग्मीले त्यसबारे बुझिरहेको बताए ।

    सडक भासिएका कारण आज बिहान करिब ५ बजेदेखि नै पोखरा–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध भएको छ । अवरुद्ध सडक तत्काल खुल्न सक्ने अवस्था नरहेकाले सवारी साधनहरु जताबाट आएका छन्, उतैतिर फर्काइएको छ । साथै सवारी साधनलाई पोखरा र मुग्लिनमै सवारी साधनलाई रोकिएको छ । तनहुँ प्रहरीले बाटो खुलाउन पहल गरिरहेको बताएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images