images
images
  • गरिबीले श्रमिक बनाउँछ बालबालिकालाई

    बाजुरा- चैतको टन्टलापुर घाम, दिउसो तीन बजेको समय, बाउली खोला र अनाई खोलाको दोभान एकातिर खोला सुसाइरहेका छन भने अर्को तिर हावाको सिरसिर बेगले गर्दा बगरको बालुवा उडीरहेको छ। खोलाबाट बालुवा गिट्टीलाइ ओसार पोसार गर्नको लागि सवारी साधन (ट्याक्ट्रर, टिप्पर) गुडिरहेका छन्। हावाले बालुवा र धुलो आँखाभरी छ, बडिमालिका नगरपालिका ९ कि मनिसा विकको गिट्टी कुट्ने काम निरन्तर चलिरहेको छ।

    उमेरले ११ बर्षकी उनी, अहिले कक्षा ३ मा अध्ययन गर्छिन्। घरमा उनका आमा बुवा, १ भाइ र ५ वटा बहिनी छन्। आमाबुवा पनि दैनिक ज्याला मजदुर गरेर जीवन निर्वाह गर्छन्। आमाले गिट्टी बालुवा गरेर दैनिकी चलाउँछन् भने बुवा पनि दैनिक ज्याला मजदुरी गरेर नै जीविकोपार्जन गर्छन्। उनले भनिन्, “साथीहरू संग खेल्ने रमाउन छोडेर गिट्टी कुट्ने रहर त हैन, के गर्ने आमाबुवालाई दुख छ। थौरै भएपनि सघायो भने म मेरो दिदी बहिनी र एक भाइलाई कपी, कलम किन्न सजिलो हुन्छ। कहिलेकाँहि भएपनि स्कुल पढ्न पाउँछौँ।” छोरीले गिट्टी कुट्दा आमा पनि संगै गिट्टी कुटीरहेकी थिइन। उनले भनीन्, के गर्नु हजुर यसरी ज्याला मजदुर गर्यो भने खाली पेट भर्न र छोरीलाइ पढ्नलेख्न अलिकती भएपनि सजिलो हुन्छ। अहिले सानै उमेरमा छोरीलाइ पढाउन गिट्टी बालुवा गरी छोरीहरूले सघाउँदा त सजिलै छ, जब छोरी ठुली हुन्छन् तब आफूलाइ गाह्रो हन्छ भनेर दुखेसो पोख्छिन् ।

    Photo 1 scaled

    गिट्टी कुटीरहेको मनिसा विक 

    मनिसा त एउटा पात्र मात्रै हुन्। उनी जस्तै श्रम गरेर बाजुरा जिल्लामा प्रत्येक होटेलहरूमा पनि श्रम गरिरहेका बालबालिका भेटिन्छन्। ती मध्येका एक हुन् बुढीनन्दा नगरपालिकाका भिमराज बिष्ट। १६ बर्षका उनी अहिले होटेलमा श्रम गरेर अध्ययन गरिरहेका छन्। सदरमुकाममा आएर श्रम गर्न थालेको डेढ बर्ष बितीसकेको छ। उनले अहिले होटेलमा भाँडा माझ्ने, ग्राहकलाई खाना बाँड्ने, लुगाकपडा धुने काम गर्छन्। मालिकले घर भन्दा राम्रो व्यवहार गरेको उनलाई लागेको छ। उनी भन्छन्, “मेरो मालिक मेरो अभिभावक हुन्। मलाइ अरूको घरमा आएर काम गरेजस्तो महशुस भएको छैन। किनकी मेरो घरभन्दा त मेरो लागि काम गर्ने ठाउँ नै एकदमै राम्रो छ।” उनको अहिले आमा छैन, बुवाले अर्को श्रीमती ल्याएका छन्। उनलाई आफ्नो घरमा हुँदा साह्रै दुख पाएको सुनाउँछन्।

    IMG 20220323 152756 392 scaled

    होटेलमा काम गरेको भिमराज बिष्ट

    उनी बिगतका कुरा सम्झेर लामो सास फेर्छन, भन्छन् “मेरो लागि को आमा को बुवा मलाइ केहि थाहा छैन, आमाको पनि याद छैन, जन्मेको २ बर्षपछि आमाले छोडेर पोइल गइन्। त्यसपछि आमाको आमा (हजुरआमा) संग हुर्किएको बढेको र पढेको हुँ।” फेरि थपे, हजुरआमा संग हुँदा त एकदमै राम्रो थियो, जेनतेनले ७ कक्षा सम्म पढे , जब हजुआमा बित्नुभयो तबदेखि मेरा दुखका दिन शुरु भए। भन्छन्, “त्यो दिन अहिलेजस्तै लाग्छ, जुनबेला मेरो बुवाले जबरजस्ती मलाइ घरमा घिसारेर लगे। मलाइ त्यो घरमा पटक्कै जान मन थिएन। तर के गर्ने मेरो बलले केहि पुगेन। म त्यहाँ पुगिसकेपछि मेरो सौतेनी आमा र बुवाले साह्रै दुख दिए। घरको कामजति मलाइ लगाउँथे। सबैकाम गर्नुपर्थ्यो। स्कुल जान्छु भन्दा, पढेर के गर्छस्, तेरो यही काम हो भनेर हप्काउँथे। काम गरी गरी औँसी पुनी (कहिलेकाँहिँ) जस्तै गरी विद्यालय गएर पढे।

    कहिले दाउरा बोके, गोरु गुवालो (गोठालो) बने, पोर्सो (गाइगोरुको मल) बोके धेरै काम गरे। मनले जसरी पढ्न कहिल्यै पाएन। आफ्नो आमा भएपो राम्रो व्यवहार गर्नुहुन्थ्यो, आफ्नो बालबच्चालाइ राम्रो व्यवहार गर्ने मलाइ भने देखि सहन नसक्नु हुन्नथ्यो। पछि चाहिँ मलाइ दिक्क लाग्यो। यो घर छोड्छु भन्ने निर्णय गरे। एकजना दाइले मलाइ मार्तडीमा काम गर्छस् भन्नुभयो, उहाँकै सम्पर्कमा आएर अहिले म होटेलमा लागिरहेको छु। अहिले म कक्षा १२ मा पढ्छु। बिहान कलेज जान्छु। दिनमा होटेलको काम गरेर दिन बिताउँछु। अनि बेलुका पनी अलिअलि काम गर्छु। काम गरेवापत पढाइ र खान बस्न दिएका छन्, यसैमा म एकदमै खुसी छु , जीन्दगी भनेको यस्तै रहेछ। मेरो जीवन यसरी नै बित्छ होला। कहिलेकाँहि धेरै सोच्छु। मेहेनत गर्यो भने, काम गर्यो भने अवश्य सफल बन्नेछु भन्ने मेरो अठोट छ ।

    1648177419288 scaled

    भेडाच्याङ्गग्रा गन्तब्य तिर लिदै मिन बहादु कुँवर

    होटेलमा मात्रै हैन यहाँ बिभिन्न ठाउमा बालबालिकाले श्रम गरिरहेका छन्। त्यसै मध्येका एक हुन्। हिमाली गाउँपालिका ६ बिच्छ्याका मिन बहादुर कुँवर। उनको दैनिकी पनि यसरी नै बितिरहेको छ। दिउसोको १ बजेको समयमा उनीसंग भेट भयो। हातमा लौरो, काँधमा झोला र साथमा डेढसय जती भेडाहरू लखेट्दै। चैतको टन्टलापुर घाममा आफ्नो गञ्तव्य तिर हिडीरहेका थिए। उमेरले थिए १५ बर्षको। उनी अहिले सात कलाशमा पढ्दै छन्। उनको पढाई भन्दा बढि दिनचर्या भेडा बाख्रा सँगै हिँउद लाग्दा औलतिर झर्ने, बर्खा लाग्दा हिमाल जाने कार्य मै वितिरहेको छ। उनी भेडाच्याँग्रा ओसारपोसार गर्नमै ठिक्क छन्। उनलाई पनि यो काम बाध्यताले गर्नुपरेको छ। उनी भन्छन्, “घरको स्थिती कजोर छ, यी नै भेडाच्याँग्राले हामी पैसा कमाउँछौँ। अनी खाने लाउने र पढ्ने गछौँ।” उनले थप्दै भने “अघिल्लो बर्ष त कोरोनाले गर्दा पास भएँ। अहिलेको बर्ष त आस नगरेपनि हुन्छ , किनकी यो बर्ष भर्ना मात्रै भए, स्कुल गएकै छैन कसरी पास हुन्छु , कसैले ड्रेस लगाएर काँधमा झोला हालेर स्कुल गएको देख्दा मेरो मन पनि झसंग हुन्छ। म पनि सँधै यसरी नै स्कुल जान पाइदिए त कस्तो हुन्थ्यो भन्ने सोच्छु, तर के गर्नु हामी गरिबको जीवन सोचेजस्तै हुँदैन ।”

    यस्तै कथा ब्यथा चेतन बिकको पनि छ, उनी अहिले ६ कक्षामा पढ्दै छन्। सरकारी स्कुलमा अध्ययनरत उनी बाउली खोलाको किनारमा ढुङ्गा बोक्दै किट्टी कुट्छन्। स्कुल जाने समय बाहेकको समय उनि गिट्टी कुट्ने काममा खर्चिने गर्छन्। उनको पनि कथा भिमराजको जस्तै छ। बुवा हुनुहन्न, एउटा आमा, दाइ भाउजु र उनी छन्। आमा पनि काम गर्नु हुन्छ, दाइको साहाराले नै लेख्नपढ्नमा सहज भएको छ। उनी भन्छन्, “काम संगसंगै पढाइ गर्छु, मैले काम गर्नुको कारण मलाइ कापीकलम किन्न, घरधन्दा चलाउन सजिलो होला भनी काम गर्ने गरेको छु।”फेरि भन्छन्, हुने खानेका छोराछोरीले त केहि नगरेपनि हुन्छ, हामी जस्ताले काम नगरी सुखै छैन। काम गरी गरी जीवन जीउनु छ । यी सबै प्रतिनीधि पात्र मात्र हुन्। यहाँ हरेक ठाउँमा बालबालिकालाई प्रयोगमा ल्याइएको पाइएको छ।

    बाजुरा जिल्लामा पनि पछिल्लो समय बालश्रमको स्वरूप केहि भिन्न भए पनी बालश्रम बृद्धी भैरहेका छन्। तर बालअधिकार हनन अथवा बालश्रम भयो भनेर घटना भने जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्यांकमा भेटिदैन। जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्याङ्क अनुसार २०७८ साउन १२ गतेदेखि ०७८ चैत १३ गते सम्म हराएका बालिका २० जना रहेका छन्। जसमा फेला पारेका १७ र फेला पार्न बाँकी ३ वटा घटना रहेका छन।

    त्यस्तै हराउने बालकहरूमा २० जना रहेका छन्। जस्मा फेला पारेका १४ र फेला पार्न बाँकि ५ जना बालबालिका रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी एबम् प्रहरी निरिक्षक धनदेब साउँदले बताएका छन् ।

    गत आर्थिक बर्ष २०७७ -०७८ मा २३ जना बालिका हराएका छन्। यी मध्ये १६ जना फेला परेका र ७ जना बालिका अझैँ भेटिएका छैनन्। बालकमा पनि ९ जना हराएका छन्। यी मध्ये ७ जना फेला परेका र दुई जना फेला परेका छैनन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय बाजुरामा आर्थिक बर्ष २०७८-०८९ मा विभिन्न शिर्षकमा मुद्धा दर्ता भएका छन्। जसमध्ये जबरजस्ती करणी १, अभद्र व्यवहार गर्ने १, आत्महत्या दुरुत्साहन १, जबरजस्ती करणी उद्योगमा १,चोरीका घटनामा दुई जना गरी जम्मा ७ वटा घटनाहरू दर्ता भएका छन्। बालबालिका सम्बन्धी बिभिन्न घटनाहरू जिल्ला प्रहरी कार्यालय बाजुरा आएपनि बालश्रमका घटना भने कहिल्यै आएका छैनन् ।

    बाजुरा जिल्लामा गरिबी र अभिभावकको बेवास्थाका कारण बालबालिका बाच्नका लागि बालश्रम गर्न बाध्य रहेको बताँउनु हुन्छ, नेपाल बालसंगठन बाजुराका अध्यक्ष बसन्त विश्वकर्मा। उहाँका अनुसार पछिल्लो समयमा यातायात र होटल क्षेत्रमा बालश्रम बढ्दै गएको छ ।

    बाजुरा जिल्लामा झण्डै चार दशक देखि बालबालिकाको अधिकारका क्षेत्रमा कार्यरत गैर सरकारी सँस्था पीसविन बाजुराका कार्यक्रम अधिकृत महेश जैशी लामो समयदेखि बालअधिकारका क्षेत्रमा नै काम गरेको अनुभव सुनाउनु हुन्छ। उहाँ जिल्लाको बालश्रमको स्थिती पछिल्लो अबस्थामा केहि सुधार आएको बताउनुहन्छ। उहाँ भन्नुहुन्छ, पहिले दुर्गम क्षेत्रमा बालश्रम बढी देखिन्थ्यो, आजभोली त्यो भन्दा पनि जिल्लाका मुख्य ब्यापारीक केन्द्र र होटलहरूमा बढी बालश्रममा पर्ने गरेका छन्। बालबालिकालाइ अझैपनि काममा प्रयोग गर्ने, होटलहरूमा भाँडा माझ्ने, उसको क्षमता भन्दा बढी भारी बोकाउने कामहरू अझै पनि भैरहेका छन् । उहाँफेरि भन्नुहुन्छ, यसका लागि गैरसरकारी संस्थाको मुख्यभूमिका स्थानीय सरकारलाई घच्घच्याउने, बालश्रम सम्बन्धी नीति नियम बनाएर कार्यन्वयनमा लगाउनु आफ्नो मुख्य दायित्व भएको बताउनुहुन्छ ।

    त्यस्तै शिक्षा शाखा बाजुरामा पनि अहिले तत्कालै कती जना बिद्यायमा छन्, कतिजती विद्यालय भन्दा बाहिर छन् भन्ने तथ्यांङ्ग उपलब्ध नभएको जिल्ला शिक्षा शाखा बाजुराका प्रमुख हरि सिंहले बताउनुभएको छ। उहाँका अनुसार विद्यालयभन्दा बाहिर रहेका बालबालिकाको तथ्यांङ्ग जेठको अन्तिममा हुने गरेको बताउनुभयो ।

    सदरमुकाम मार्तडी स्थीत बडिमालिका नगरपालिकाको महिला तथा बालबालिका शाखालाई आजसम्म बालश्रममा परेका बालबालिकाको कुनै तथ्यांक छैन। यद्यपी आर्थिक बर्ष २०७७ / ०७८ मा त्यो नीति ल्याउने भने पनि त्यो काम यस बर्ष गर्न नसकिए पनि आउँदो बर्ष बाजुराको बडिमालिका नगरपालिकालाई बालश्रममुक्त घोषणा गर्ने योजना भने रहेको शाखाका कर्मचारी शोभा शाहीले बताईन। बाजुरा जिल्लाका कुनैपनि स्थानीय तहले भने बालश्रम सम्म कुनै ठोस नीति र कार्यक्रम अहिले सम्म तय गरेको भेटिदैन ।

    IMG 20220323 174543 462 scaledढुङ्गगा बोक्दै र गिट्टी कुट्दै चेतन विक

    बडिमालिका नगरपालिकामा मात्रै आमा वा बुवा नभएका टुहुरा बालबालिकाको सङ्ख्या ३१ जना रहेका छन्। तिमध्ये पनि कोही आमा नभएका वा कोही बुवा नभएका बालबालिका रहेका छन्। बालश्रम अन्त्य गर्नका लागि एक्लैको साथ सहयोगले मात्रै नभइ सम्पूर्ण अभिभावक, गाउँ समुदाय र सिंगो देश यसतर्फ अग्रसर बन्यो भने बालश्रम पक्कै पनि अन्त्य हुने बालबालिका सम्बन्धी काम गर्ने बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाको दाबी छ।

    बालअधिकार सम्बन्धी महासन्धि १९८९ ले १८ बर्ष उमेर मुनीका ब्यक्तिलाई बालबालिका भनी परिभाषित गरेकोछ। बालबालिका र बालश्रम सम्बन्धी नेपाली कानुनले १६ बर्ष मुनीका ब्यक्तिलाई बालबालिका भनी परिभाषित गरेको छ। बालबालिकाको इच्छा बिपरित काम गराइ उनीहरूको श्रम शोषण हुने खालका गतिबिधी गराउनुलाई बालश्रम भन्ने बुझिन्छ। बालश्रमले बालबालिकाको बालापन,उनीहरूले प्राप्त गर्ने अवसर, सम्भावना र आत्मसम्मानबाट वञ्चित गराउँछ। उनीहरूलाई सानै उमेरमा दास बनाउने, परिवारबाट छुटाउने, स्वास्थ्य लगायत विभिन्न जोखिमको अवस्थामा पुर्‍याइ उनीहरूलाई सडकसम्म पुर्‍याएर बालश्रमको मापदण्ड सम्बन्धित देशको राष्ट्रिय कानुनले निर्धारण गर्ने गरेको पाइन्छ। नेपालमा बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ ले १४ बर्ष मुनिका बालबालिकालाई कुनैपनि प्रकारको श्रममा लगाउन निषेध गरेको छ। यस ऐनले १६ बर्ष मुनिका बालबालिकालाई यस ऐनको अनुसुची १ मा उल्लेख भएका जोखिमयुक्त व्यवसाय वा कामहरूमा लगाउन समेत निषेध गरेको छ ।

    बालश्रम बाजुरामा मात्रै नभएर विश्वब्यापी रूपमा बिकराल बन्दै गएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनले २०१३ मा तयार पारेको बालश्रम सम्बन्धी विश्वब्यापी प्रतिवेदनका अनुसार संसारभरमा १६ करोड ८० लाख बालबालिकालाई श्रममा लगाएको देखाएको छ। तीमध्ये ८ करोड ५० लाख बालबालिका निकृष्ट प्रकारको बालश्रममा संलग्न रहेको पाइएको छ। आर्थिक रूपमा सक्रिय बालबालिका ३१ लाख ४ हजार, बालश्रमिक १६ लाख, र निकृष्ट प्रकारको बालश्रममा लगाएका बालबालिका ६ लाख २१ हजारको सङ्ख्यामा रहेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images