काठमाडौँ- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, यूएईको अध्यक्षमा ढुंगाना निर्वाचित भएका छन् ।
मध्यपूर्व संयोजक मनोजकुमार श्रेष्ठको संयोजकत्वमा सम्पन्न भेलाले अध्यक्षमा ढुंगानासहित ५७ सदस्यीय समितिलाई सर्वसम्मतिले निर्वाचित गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा पासाङ शेर्पा र महासचिवमा दीपक खड्का निर्वाचित भएका छन् ।
उपाध्यक्षमा निरन्जन सिलवाल, विकास शाही, जीवन दास, सुजन सापकोटा, शोभा शर्मा, नोमान सिद्दिकी, रमेश ढकाल, केशव नेपाल, कृष्ण पौडेललगायत १२ जना रहेका छन् भने ९ जनालाई सचिवमा निर्वाचित गरेको छ । समितिको कोषाध्यक्षमा विष्णुलाल श्रेष्ठ निर्वाचित भएका छन् ।
गत वर्ष सेप्टेम्बरमा नै सम्पन्न गर्नु पर्ने अधिवेशन आन्तरिक विवादका कारण पटक-पटक स्थगित भएको थियो । समितिको प्रमुख संरक्षकमा पूर्वअध्यक्ष रमेश श्रेष्ठ निर्वाचित भएका छन् । भेलामा श्रेष्ठले आफू मातहतको नेपाल एसोसिएसनलाई विधिवत रूपमा ढुंगाना नेतृत्वको कार्यसमितिलाई सुम्पने घोषणा गरेका थिए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष बद्री केसी, उपाध्यक्ष धर्मराज खतिवडा, युरोप संयोजक ललितकुमार न्यौपाने र रसिया एनआरएनएका अध्यक्ष शिवमणि भुर्तेल गायतको उपस्थिति रहेको थियो ।


विश्व खबर 



















