काठमाडौं- काठमाडौं महानगरपालिकामा फोहोर नउठेको हप्तौं भइसक्यो। स्थानीय तह निर्वाचन अघि देखि नै थुप्रिएको फोहोर बिचमा एक-दुईपटक संकलन भए पनि त्यसपछि फहोर उठ्न सकेको छैन। महानगरमा नयाँ प्रमुख र उपप्रमुख आइसकेपछि फोहोरको विषयले प्राथमिकता पाएको छ। प्रमुख वालेन्द्र साह (बालेन) र उपप्रमुख सुनिता डंगोल अहिले फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर छलफलमा छन्।
सिसडोलवासीले विभिन्न माग राखी फोहोर विसर्जन गर्न अवरोध गर्दै आएका छन्। मेयर बालेन सिसडोललाई एक साताभित्र दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता जनाएर फर्किएका थिए।
केमिकल प्रयोग गरेर एक साताभित्र उक्त क्षेत्रलाई दुर्गन्धमुक्त बनाउने वाचा गरेर उनी आफ्नो टोलीसहित फर्किएका हुन्। काठमाडौंवासी र सिसडोलवासीसँगको वाचा पूरा गर्न बालेनको दौडधुप जारी छ। उनले शीर्ष नेताहरुसँगको भेटघाट पनि तीव्र पारेका छन्।
केही दिनअघि सिसडोल र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पुगेर उनीहरुले फोहोर व्यवस्थापन र चुनौतीबारे जानकारी लिएका थिए। प्रमुख बालेनले एक हप्ताभित्र सिसडोलमा फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्ने बताएका थिए। साथै, स्थानीयको माग सम्बोधन गर्ने वाचा गर्दै उनले फोहोर फाल्न दिन आग्रह गरेका थिए।
‘म आएको चार दिन भयो। मलाई काम गर्न दिनुस्’ उनले भनेका थिए। उनले काठमाडौंबाट नै फोहोर छुट्याएर पठाउन जनचेतना फैलाउपर्ने, फोहोरबाट मोहोर बनाउने लगायतका योजना समेत सुनाएका थिए।
यसबिच, शनिवार बालेन र सुनिताले फेरि शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग भेटेर फोहोर व्यवस्थानपनबारे परामर्श गरेका छन्। सिसडोल जानुअघि पनि बालेन र सुनिताले झाँक्रीसँग भेटेका थिए। ल्यान्डफिल साइट निर्माणको जिम्मा शहरी विकास मन्त्रालयसँग छ।
उक्त भेटमा बञ्चरेडाडाँमा कहिले र कसरी फोहोर लैजाने भन्ने विषयमा छलफल भएको मन्त्री झाँक्रीको सचिवालयले जनाएको छ। बालेन र सुनिताले सिसडोल र बञ्चरेडाँडाको स्थानीयको माग र महानगरमा देखिएको फोहोरको समस्याबारे अवगत गराएका थिए।


विश्व खबर 



















