काठमाडौं-आइतबार बिहानै ४ वटा उडान गरेपछि क्याप्टेन वसन्त लामाले जहाज हस्तान्तरण गरे । अर्थात् उनको आइतबारको उडान तालिका सकिएको थियो । पोखरामै बस्नुभन्दा दिउँसो जोमसोममै गएर बिदा मनाउने भन्दै उनले आफूले उडान गर्दै आएकै जहाजमा टिकट काटे ।
उनले उडाउँदै आएको जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । तर, दुर्भाग्य ! प्रभाकरसँगै क्याप्टेन लामाको पनि सोही उडान अन्तिम हुन पुग्यो । क्याप्टेन लामा काठमाडौं बालुवाटार निवासी हुन् । उनका बुबा पनि नेपाल एयरलाइन्सका क्याप्टेन हुन् । क्याप्टेन दिके बुद्धिका छोरा वसन्त यती एयरलाइन्ससँग सन् १९९८ देखिनै आबद्ध भएका थिए । उनै क्याप्टेन लामा २०७४ सालमा हुम्लाको सिमकोटमा भएको दुर्घटनामा सामान्य घाइते मात्र भएका थिए ।
मंसिरमा हुम्लाको सिमकोट विमानस्थलबाट सुर्खेतका लागि उडेको तारा एयरको ट्विनटर जहाज दुर्घटना भएको थियो । दुर्घटना हुँदा वसन्त लामा क्याप्टेन थिए । दुर्घटनामा परी लामा र सहपाइलट रहेका अमित गुरुङको नाकमा चोट लागेको थियो । ४ वर्षअघि भएको दुर्घटनामा बाँचेका क्याप्टेन लामालाई तारा एयरभित्र अनुभवी चालक मानिन्छ । ’यदि उनी बिदा मनाउन जोमसोम नगई पोखरा नै आराम गरेका भए यो अवस्था आउँदैनथ्यो’, एक पाइलटले भने, ‘बिदा मनाउन जाँदा उहाँको दुःखद निधन भयो, जुन एयरलाइन्सका लागि अपूरणीय क्षति हो ।’
लामो समयदेखि एयरलाइन्समा आबद्ध भएका दुई जना क्याप्टेनहरुलाई एक साथ गुमाउनु दुर्भाग्य भएको ती पाइलटको भनाइ छ । ‘दुर्घटना हुनु आफैंमा दुःखद कुरा हो’, उनले भने, ‘कसैले चाहेर दुर्घटना गराउँदैन । सायद मौसममा खराबी आएकाले घटना भएको हुन सक्छ ।’
१८ वर्षदेखि जहाज उडाउँदै आएका थिए क्याप्टेन प्रभाकरले
आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटनामा पर्यो । क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाइरहेको जहाज खराब मौसका कारण दुर्घटनामा पर्यो ।उनै दिवंगत क्याप्टेन घिमिरेले विगत १८ वर्षदेखि जहाज उडाउँदै आएका थिए ।
एयरलाइन्सभित्र अनुभवी र पुराना क्याप्टेनका रुपमा चिनिँदै आएका घिमिरेले आइतबार बिहान पोखराबाट जोमसोमका लागि तेस्रो उडान गर्दै थिए । आफूसहित २२ जना लिएर जोमसोमका लागि उडान गरेका क्याप्टेन घिमिरेको सोही उडान अन्तिम बन्न पुग्यो ।९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको सो जहाज मुस्ताङको घाँसास्थित डाँडामा दुर्घटनामा पर्यो । बाक्लो कुहिरोका कारण डाँडामा ठाकिएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।
तर, घटना कसरी र किन भयो रुसरकारी निकायले अध्ययन गर्न बाँकी नै छ ।
काठमाडौं कलंकी निवासी घिमिरे करिब ५५-५६ वर्षका थिए । एयरलाइन्सभित्र मिजासिलो स्वभाव भएका उनी सधैं मौसमप्रति सचेत रहनेभित्र पर्थे ।यती एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले क्याप्टेन घिमिरे एयरलाइन्सभित्रकै सिनियर रहेको बताए । उनले भने, ‘दुर्घटनामा भएको उहाँको निधनले हामी सबै स्तब्ध छौं ।’
‘पोखरा र जोमसोमको मौसम सफा भएकै कारण उडान गरे पनि बीचमा एक्कासि कुहिरो लागेकाले अन्य ठाउँबाट अवतरण गराउने ठाउँ नै नपाएका हुन सक्छन्’, त्यस क्षेत्रमा उडान गर्दै आएका एक क्याप्टेनले क्यापिटल नेपालसँग भने, उहाँ जबर्जस्ती उडान गर्ने क्याप्टेनभित्र पर्नुहुन्न ।’ पोखरा–जोमसोम क्षेत्रमा बढी हावा चल्ने भएकोले जोखिम मानिन्छ ।
जहाजमा क्याप्टेन घिमिरेसँगै सहपाइलट उत्सव पोख्रेल र एयरहोस्टेज क्रिस्मी थापा पनि थिइन् । तारा एयरको ९ (एनएइटी) कल साइनको ट्विनअटर जहाजमा ३ जना चालकदलका सदस्यसहित ६ जना विदेशी र १३ जना नेपाली गरी कुल २२ जना सवार थिए ।


विश्व खबर 



















