काठमाडौं- बागमती प्रदेश सरकार पुनर्गठन हुने भएको छ। सत्तारुढ पाँच दलीय गठबन्धनको सहमति बमोजिम नेकपा (एकीकृत समाजवादी)ले नेतृत्व लिइरहेको बागमती प्रदेश सरकार दलहरुबीच भएको सम्झौताअनुसार पुनर्गठन हुन लागेको हो।
समाजवादीका संसदीय दलका नेता तथा वर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीमा दाबी गरेका थिए। दुवैजना दावीबाट पछाडि नहटेपछि आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने दलहरुबीच सम्झौता भएको थियो।
सो सम्झौता अनुसार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट समाजवादीको नेतृत्वमा ल्याउने र त्यसपछि कांग्रेसले प्रदेश सरकारको नेतृत्व गर्ने तयारी भएको स्रोतले जानकारी दिएको छ।
बानियाँ यसअघि पनि मुख्यमन्त्रीको होडमा थिए। नेकपा (एमाले) विभाजन भएर एकीकृत समाजवादी बनेपछि तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन्। त्यससँगै बानियाँ मुख्यमन्त्री बन्ने चर्चा थियो। तर‚ गठबन्धनको भागबन्डामा मुख्यमन्त्री एकीकृत समाजवादीको भागमा पर्यो। सोही अनुसार पाण्डे मुख्यमन्त्री भए।
प्रदेश सभामा अहिले १०९ सांसद छन्। जसमध्ये सत्ता गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका एक सांसद छन्।
त्यस्तै एमालेका ४३ सांसद छन्। विवेकशील साझाका तीन, नेपाल किसान मजदूर पार्टी र राप्रपाका एक(एक सांसद छन्। सरकार गठन गर्न ५५ सांसदको समर्थन चाहिन्छ।
बानियाँको नेतृत्वमा सरकार पुनर्गठन गर्ने विषयमा सत्तारुढ घटक माओवादीको पनि समर्थन छ। माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल पनि सम्झौता अनुसार असारमा बानियाँको नेतृत्वमा सरकार बन्नुपर्ने पक्षमा उभिएको स्रोतको दाबी छ।


विश्व खबर 



















