काठमाडौं- झापाको दमकमा आयोजित ‘मिस्टर एण्ड मिस कलेज– २०२२’ का सहभागी सुन्दरीहरुमाथि यौन दुर्व्यावहार गरेको आरोपमा शंखर आर्टस् फाउन्डेसनका निर्देशक लालबहादुर शंखरलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतियोगितामा सहभागी एक युवतीले आफूमाथि सामाजिक सञ्जालमार्फत् दुर्व्यावहार भएको बताए संगै वैशाख २८ गते ती किशोरी र उनको परिवारले इलाका प्रहरी कार्यालय दमकमा उजुरी लिएर पुगेका थिए। कानुनी लडाइँ लड्ने अडान राखेपछि प्रहरीसमक्ष पुगेकी किशोरीको उजुरी लिएर प्रहरीले आरोपितलाई पक्राउ गरेर अनुसन्धान थालेको छ।
स्थानी निर्वाचनको चुनावी चहलपहलमा व्यस्त भएका कारण ढिलोगरी सोमबार (जेठ ९) गते आरोपितलाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी दिलीप गिरीले बताए ।
उनका अनुसार सोमबार नै शंकरलाई जिल्ला अदालत झापाबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ। त्यसबाहेक आरोपी र आरोपितको मेची प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिए।























