काठमाडौं । स्थानीय तहको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले अपेक्षाकृत नतिजा हासिल गर्न सकेन । यससँगै देशका ५५ जिल्लामा पालिकाको प्रमुख र उप प्रमुख पदमा जित्न नसकेको एकीकृत समाजवादी प्राप्त नतिजाबाट निरास बनेको छ ।
समाजवदीले प्रदेश नं १ का १४ जिल्ला मध्ये २ जिल्लामा मात्र पालिका प्रमुखमा विजय हासिल गरेको छ । यहाँको ईलाममा यो पार्टीले आफ्नो शाख जोगाएको छ ।
मधेस प्रदेशमा समेत समाजवादीको उपस्थीति अत्यन्त कमजोर देखिएको छ । यहाँका ८ जिल्ला मध्ये ४ जिल्लामा यो पार्टीले प्रमुख र उप प्रमुख दुवै पदमा हार बेहोर्नु परेको छ । समाजवादीले महोत्तरी, सर्लाही, बारा, पर्सा र धनुषाका पालिका प्रमुख र अध्यक्षमा पराजय भोगेको हो । मधेसको रौतहटमा भने यस पार्टीको बलियो उपस्थीति देखिएको छ ।
बागमती प्रदेशको राजधानी काठमाडौं सहित भक्तपुर, ललितपुर, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक र नुवाकोटमा पनि एकीकृत समाजवादी प्रमुख र अध्यक्ष पदमा निल बनेको छ । यस प्रदेशको काभ्रे, मकवानपुर र धादिङमा भने समाजवादीले केहि पालिका प्रमु्ख सहित वडाहरुमा जित निकालेको छ ।
उता गण्डकी प्रदेशमा कास्कीको पोखरा बाहेक अन्य कुनै पनि जिल्लामा समाजवादीका उम्मेदवारले चुनाव जित्न सकेनन् । त्यस्तै, लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै जिल्लामा एकीकृत समाजवादीले पराजय भोग्न परेको छ ।
अन्य प्रदेशको तुलनामा कर्णाली र सुदुरपश्चिममा केहि बलियो मानिने समाजवादीले यहाँ पनि ठूलै मूल्य चुकाउनु पर्यो । कर्णालिका डोल्पा, मुगु, कालिकोट र सल्यानका केहि पालिकामा भने समाजवादीले जितेको छ ।
९ जिल्ला रहेको सुदुरपश्चिममा प्रमुख पदमा उम्मेदवारी दिएका मध्ये बाजुरा, अछाम, डोटि र कन्चनपुरमा पनि समाजवादी पराजित भएको छ । कैलालीको घोडाघोडि नगरपालिका र बझाङको केदारस्यूँ गाउँपालिका प्रमुखमा भने नेकपा (एस) ले जितेको छ ।
यसरी नेकपा (एकीकृत समाजवादी) ले प्रमुख र अध्यक्ष गरी १९ स्थानमा मात्रै जित निकालेर चित्त बुझाउनु परेको छ ।























