images
images
  • स्याङ्जा जीप दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

    वालिङ- स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिए ।

    अन्य पाँचजनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु हुने सबै एउटै गाउँका हुन् । मृत्यु हुने र घाइते हुने सबै एउटै गाउँका भएका कारण अहिले गाउँ शोकमा डुबेको छ ।

    वालिङ नगरपालिका–१२ डाँडाखर्कबाट बायँटारी आउँदै गरेको ग १ ज ७३९९ नंको जीप आइतबार बिहान फिरफिरेमा दुर्घटनामा परेको थियो । जीप ग्रामीण कच्ची सडकबाट झन्डै दुई सय मिटर तल खसेको थियो ।

    त्यस्तै, हिजो (आइतबार) मृत्यु हुनेमा वालिङ नगरपालिका १२ बस्ने ६५ वर्षीय बीर बहादुर दाला, ४५ वर्षीय हिरा दाला, २५ वर्षीय शर्मिला सारु, ६-७ महिनाको नाम नखुलेको बालक र वडा नं १४ का ६५ वर्षीय कुल कुमारी कनौजे रहेका  थिए ।

    त्यसैगरी जीप दुर्घटनामा परी घाइते हुनेमा वालिङ नगरपालिका १२ डाडाखर्क बस्ने ५० वर्षीय अंग बहादुर डाला, ५५ वर्षीय माया कुमारी सारु, ३५ वर्षीय योगेन्द्र थापा, १८ वर्षीय नविना सारु, १९ वर्षीय लक्ष्मी दाला र सवारी चालक ६० वर्षीय दल बहादुर थापा रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images