धरान- स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले धरान उपमहानगरपालिका भित्र एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने तयारी गरेका छन् । धरानमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरुले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेका हुन् ।
नेताहरुका अनुसार एउटै चुनाव चिन्हबाट निर्वाचनका जानका लागि कानुनी जटिलता समाधानका बारेमा छलफल भइरहेको छ ।
मंगलबार धरानमा गठबन्धनको बैठक बसेको थियो । बैठकले वडा तहको भागवण्डामा लगभग सहमति गरेको छ । नेपाली कांग्रेस र अन्य दलले ६०–४० का आधारमा भागवण्डा गर्ने विषयमा लगभग सहमति भएको हो ।
‘मेयर र उपमेयरमा आ-आफ्नै चुनाव चिन्हबाट लड्नुहुन्छ, वडामा अध्यक्षदेखि सदस्यहरु जुनसुकै दलबाट भए पनि एउटै चुनाव चिन्हबाट लड्ने तयारी छ,’ गठन्धनका एक नेताले भने, ‘माओवादीले टिकट पाएको वडामा गठबन्धनका सदस्यले हसिया हतौडाबाटै उम्मेद्वारी दिन्छन्, कांग्रेसले टिकट पाएको वडामा रुखबाटै वडा अध्यक्ष र सदस्यको उम्मेदवारी दिन्छन् ।’
गठबन्धनको बैठकमा एउटै चुनाव चिन्हबाट उम्मेदवार बन्ने विषयमा छलफल भए पनि निर्णय भएको छैन । कानुनी जटिलताका विषयमा परामर्श भइरहेको बताइएको छ ।
वडामा छुट्टा-छुट्टै चुनाव चिन्हबाट उम्मेदवार बन्दा मत बदर हुने सम्भावना बढी भएका कारण एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेका हुन् ।
सहमति भइसकेको नभएपनि कांग्रेसले मेयरसहित १५ वटा वडामा दाबी गरेको निष्कर्षमा पुग्न बाँकी रहेको छ ।
धरानमा मेयरमा गठबन्धन दल नेपाली कांग्रेसबाट तिलक राई, किशोर राई, उमेश थापालगायतको दाबेदारी छ । माओवादी केन्द्रबाट आइन्द्रबिक्रम बेघा, सभाषद किरण राईको दाबी छ ।
नेकपा एमालेबाट उपमेयर मञ्जु भण्डारीसहित आधा दर्जन आकांक्षी छन् । एमाले नेताहरुका अनुसार धरानको मेयरमा मुरारी सुवेदी, बिजय राई, मोतीराज सुनुवार, प्रकाश राई, पूर्व मेयर मनोज मेन्याङ्बोलगायत दाबेदार छन् ।
२०७४ को निर्वाचनमा धरानमा नेकपा एमाले मेयर उपमेयरसहित १४ वटा वडामा विजयी भएको थियो । नेपका माओवादी केन्द्रले १ र कांग्रेसले पाँचवटा वडा जितेको थियो । मेयर तारा सुब्बाको मृत्युपछि भएको उपनिर्वाचनमा भने कांग्रेसबाट उम्मेदवार बनेका तिलक राई मेयरमा निर्वाचित भएका थिए ।


विश्व खबर 




















