images
images
  • त्रिकोणात्मक टी-२० शृंखला: मलेसियामाथि नेपालको सानदार जित, फाईनल खेल पीएनजीसँग

    काठमाडौं- दीपेन्द्र सिंह ऐरीले सानदार शतक प्रहार गरेपछि नेपालले त्रिकोणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भएको अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रले एक साताभित्रै दोस्रो शतक प्रहार गर्ने क्रममा अविजित ११० रन बनाउँदा नेपालले २२३ रन बनाएको थियो । नेपालले दिएको २२४ रनको लक्ष्य पछ्याएको मलेसिया एक बल अगावै १३८ रनमा अलआउट भयो ।

    नेपाल, मलेसिया र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित शृंखलामा यसअघि नै लगातार तीन खेल जितेर फाइनलमा स्थान पक्का गरिसकेको नेपाल अपराजित रहँदै शीर्षस्थानमा रह्यो ।

    मलेसिया पराजित हुँदा पीएनजी भाग्यमानी बन्दै दोस्रो स्थानमा रहेर फाइनल पुग्यो । अब नेपालले फाइनलमा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ ।

    ओपनर विरनदिप सिंहले विष्फोटक ब्याटिङ गर्दै मलेसियालाई आक्रमक सुरुवात दिलाएपनि अर्का ओपनर जुबाइदी जुल्किफल पहिलो ओभरको अन्तिम बलमा खाता नखोली आउट भए । मलेसियाले सुरुवाती तीन ओभरमा १ विकेट गुमाएर ३७ रन जोडेको थियो । तर त्यसपछि नेपाली बलरले कमब्याक गर्दै मलेसियाको रनको गति रोक्यो

    पहिलो ओभरमा जुबाइदीलाई कुशल भुर्तेलबाट क्याचआउट गराएका नेपालका कमल सिंह ऐरीले विरनदिपलाई छैटौं ओभरमा आसिफ शेखबाट क्याचआउट गराए ।
    मलेसियाका लागि विरनदिपले २६ बल खेल्दै ९ चौका प्रहार गरेर ४७ रन बनाए । कप्तान अहमद फैजले ३३ र सयद अजिजले १७ रन जोडे ।

    फैज र अजिज दुवैलाई कप्तान सन्दीपले कुशल भुर्तेलबाट क्याचआउट गराए ।

    त्यसपछि मलेसियाले लगातार विकेट गुमायो । सर्भिएन मुनिएण्डी र मुहम्मद अमिर समान १, मुहमद स्याहदत ८, अइनुल हाफिज १८ रन बनाएर आउट भए । स्याज्रुल इद्रुसले खाता समेत खोल्न सकेनन् । मुहम्मद वाफिक १ रन बनाएर आउट भए । पवनदिप सिंह ४ रनमा अविजित रहे ।

    बलिङमा नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । यस्तै कमल सिंह ऐरी र दीपेन्द्र सिंह ऐरीले २(२ विकेट लिए । कुशल भुर्तेल र रोहित पौडेलले समान १ विकेट लिए ।

    त्यसअघि दीपेन्द्र सिंह ऐरीले अविजित ११० रन बनाएपछि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४ विकेट गुमाएर २२३ रन बनाएको थियो । दीपेन्द्रले ५७ बल खेल्दै १० चौका र ६ छक्का मद्दतमा अविजित ११० रन बनाए ।

    दीपेन्द्र ओडीआई र टी-२० आईमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बने । दीपेन्द्रले यसअघि त्रिवि क्रिकेट मैदानमै भएको एकदिवसीय शृंखलामा पपुवा न्यूगिनी विरुद्ध शतक प्रहार गरेका थिए ।

    यसअघि पूर्वकप्तान पारस खड्काले दुवै फर्म्याटमा शतक प्रहार गरेका थिए । पारसले सिंगापुर विरुद्ध टी(२० र युएई विरुद्ध ओडीआईमा शतक बनाएका थिए ।

    यस्तै दीपेन्द्र टी-२० आईमा शतक बनाउने चौथो नेपाली खेलाडी हुन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टी(२० आईमा शतक प्रहार गरिसकेका छन् ।

    यस्तै रोहित पौडेलले पहिलो टी(२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरे । रोहितले ३४ बल खेल्दै ५ चौका मद्दतमा ५१ रन बनाए । दीपेन्द्र र रोहितले तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए ।

    ओपनर आसिफ शेखले १८, आदिल अन्सारीले १४, कुशल भुर्तेलले १२, आरिफ शेखले २ रन बनाए । अन्तिम बलमा आदिल रनआउट हुनुअघि दीपेन्द्रसँग ५९ रनको साझेदारी गरे ।

    मलेसिया विरुद्ध बनाएको रन नेपालले टी(२० अन्तर्राष्ट्रिय बनाएको तेस्रो ठूलो स्कोर हो । यसअघि नेपालले गत वैशाखमा त्रिवि क्रिकेट मैदानमै नेदरल्याण्ड्सविरुद्ध २३८ र २०१९ मा त्रिवि क्रिकेट मैदानमै १३ औं सागमा भुटान विरुद्ध २३६ रन बनाएको थियो ।

    बलिङमा मलेसियाका लागि मुहम्मद वाफिक, पवनदिप सिंह, स्याज्रुल इद्रुस र मुहम्मद अमिरले १-१ विकेट लिए

    प्रतिक्रिया दिनुहोस्
    images
    images