images
images
  • जुम्लामा ६७ हजार ७४४ मतदाता

    खलङ्गा- आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय जुम्लाले आवश्यक तयारी गरेको छ । स्थानीय तह निर्वाचनमा जिल्लामा ६७ हजार ७४४ मतदाता सहभागी हुनेछन् ।

    सबैभन्दा धेरै मतदाता चन्दननाथ नगरपालिकामा ११ हजार ८२० रहेको निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए । तीमध्ये पाँच हजार ८४७ पुरुष, पाँच हजार ९७३ महिला छन् । कनकासुन्दरी गाउँपालिकामा नौ हजार १३२ मतदातामध्ये चार हजार ८५० पुरुष, चार हजार २८२ महिला मतदाता छन् ।

    गुठीचौर गाउँपालिकामा ६ हजार ५२४ मतदातामध्ये तीन हजार ३९३ पुरुष र तीन हजार १२८ महिला मतदाता छन् भने तातोपानी गाउँपालिकामा नौ हजार ३२० मतदातामध्ये चार हजार ८८३ पुरुष, चार हजार ४३० महिला मतदाता रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

    निर्वाचन कार्यालयका अनुसार तिला गाउँपालिकामा चार हजार १८६ पुरुष, तीन हजार ७६६ महिला गरी सात हजार ९५२ मतदाता छन् भने पातारासी गाउँपालिकामा चार हजार ५१३ पुरुष र चार हजार ३५ महिला गरी आठ हजार ४४८ मतदाता छन् ।

    आठ हजार १६१ मतदाता रहेको सिञ्जा गाउँपालिकामा चार हजार ३१६ पुरुष र तीन हजार ८४३ महिला छन् भने ६ हजार २८७ मतदाता रहेको हिमा गाउँपालिकामा तीन हजार २८२ पुरुष र तीन हजार पाँच महिला रहेको निर्वाचन कार्यालय जुम्लाका प्रमुख शर्माले जानकारी दिए ।

    त्यस्तै चन्दननाथ नगरपालिकामा १० मतदान स्थल र १६ मतदान केन्द्र कायम गरिएको छ भने हिमा गाउँपालिकामा नौ मतदान स्थल र ११ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

    निर्वाचन कार्यालयका अनुसार सिञ्जामा सात मतदान स्थल र १२ मतदान केन्द्र, पातारासीमा १० मतदान स्थल र १३ मतदान केन्द्र, तिलामा १२ मतदान स्थल र १३ मतदान केन्द्र कायम गरिएको छ । तातोपानीमा नौ मतदान स्थल र १३ मतदान केन्द्र, गुठीचौरमा आठ मतदान स्थल र नौ मतदान केन्द्र र कनकासुन्दरी गाउँपालिकामा १४ मतदान स्थल र १५ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

    एक नगरपालिकासहित सातवटा गाउँपालिका गरी आठवटा स्थानीय तह रहेको जुम्लामा जिल्लाभरि ७९ मतदान स्थल र १०२ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

    ‘ई–पासपोर्ट ’वितरण सुरु :
    जुम्लाबाट विद्युतीय राहदानी (ई– पासपोर्ट) सेवा दिन थालिएपछि सेवाग्राहीलाई सहज भएको छ । जिल्ला प्रशासन कार्यालय ले विद्युतीय राहदानी वितरण सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाइले जानकारी दिए।

    जिल्लाबाटै विद्युतीय राहदानी दर्ता गर्ने तथा वितरण गर्न थालेपछि सेवाग्राहीलाई सेवा लिन सहज हुने प्रशासनले जनाएको छ । राहदानी बनाउन यसअघि कम्तीमा तीन महिना लाग्ने लाग्ने गरेकोमा अब एक महिनाभित्रै राहदानी आइपुग्ने भएको छ ।

    पहिलो चरणमा दैनिक ५ देखि १० जनासम्मलाई सेवा प्रदान गर्ने गरी विद्युतीय राहदानी सेवा सुरु गरिएको हो । सेवा सुरु भएपछि पहिलो ग्राहकको रुपमा चन्दननाथ नगरपालिका– ७ कि हिमाली कठायतले ई–पासपोर्टको लागि आवेदन दिएकी छन् । गत मङ्सिर १ गतेदेखि जारी भएको विद्युतीय राहदानी वितरणलाई सरकारले देशव्यापी बनाउँदै लगेको छ ।

    यससँगै कर्णाली प्रदेशका दस जिल्लामा मध्य अब ई–पासपोर्ट सेवा सुरु हुने जिल्लाको सङ्ख्या आठ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images