• स्थानीय तहको चासो खोपतिर

    जिल्लामा कोरोना सङ्क्रमणका कारण दैनिकजसो बिरामीको मृत्यु हुन थालेपछि स्थानीय तहका प्रमुखहरुले खोप खरीदप्रति चासो देखाउन थालेका छन् । कोरोना सङ्क्रमणबाट बचाउन खोपको अतिआवश्यकता भएको भन्दै स्थानीय तहका प्रमुखहरूले यसतर्फ चासो देखाएका हुन् । वालिङ नगरपालिकाले कोभिड विरुद्धको खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई एक पत्र लेखेर अनुरोध गरेको छ भने हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जनता बचाउनका लागि खोपको अति आवश्यक भएको भन्दै यस आर्थिक वर्षको सबै विकास बजेट कटाएर खोप खरीद गर्न तयार रहेकाले खोप किन्न पाइने ठाउँको खोजी गर्न आग्रह गर्नुभएको छ । वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणद्वारा हस्ताक्षरित पत्रमा वालिङका नागरिकले खोपको अत्यधिक माग गरेकाले मन्त्रालयबाट उपलब्ध गराउन आग्रह गर्नुभएको छ । नगरप्रमुख खाँणले मन्त्रालयबाट उपलब्ध गराउन सम्भव नभए नगरपालिकाले आफ्नै खर्चमा खोप खरीद गर्ने वातावरण सिर्जना गर्न र नगरपालिकाले खोप खरीद गर्न तयार रहेकाले खरीदका लागि अनुमति दिन पत्रमा उल्लेख गरिएको छ । हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले सरकार पहिला जनता बचाउन लाग्नुपर्ने बताउँदै विकास र राजनीति पछि गर्दै गरौँला भन्नुभएको छ । मानन्धरले खोप जसले किने पनि जनताकै पैसा भएकाले खोप किन्न पाइने ठाउँको खोजी गर्नसमेत अध्यक्ष मानन्धरले आग्रह गर्नुभएको छ । जिल्लामा कूल एक हजार ८४२ जना सङ्क्रमित भएका छन् भने ३२० जना निको भएर घर फर्किएका छन् । मृत्यु हुनेहरूको सङ्ख्या ७९ पुगेको छ भने विभिन्न ६४ जना सङ्क्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी मित्रप्रसाद अर्यालले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार होम आइसोलेशनमा एक हजार ३४३ जना रहेका छन् भने क्वारेन्टिनमा ३६ जना रहेका छन् । जिल्लामा २९७ आइसोलेशन श्यया र २४९ अक्सिजन सिलिण्डर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्