एमसीसीमा धेरै बिभाजित नहोऔं । सृजनात्मक काममा तल्लीन रहनुपर्ने महत्वपूर्ण समय खेर फाली कुतर्क गर्नु भनेको फाल्तु र अनावश्यक सोच हो। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), अमेरिकी आर्थिक बैदेशिक सहायता सम्बन्धी सम्झौताको पृष्ठभूमि, यसमार्फत नेपालको समृद्ध उन्नतिमा दिगो आर्थिक विकास साथै पूर्वाधारमा सडक निर्माण एवं ऊर्जा तथा जलस्रोत व्यवस्थापनमा विद्युत (बिजुली) को प्रसारण एवं बितरण प्रणालीको बिस्तार कार्यमा अमेरिकी सहयोगी परियोजनाबाट मुलुकले लिन सक्ने बृहत्तर आर्थिक लाभलाई अति राष्ट्रवादी कुचिन्तनीय कुतर्कद्वारा अकल्पनीय, निराधार, असम्भावित र हुँदै नभएका हानिकारक बिषयमा कुपर्चार गरेर उग्ररुपमा विवाद निकाली, समग्र नेपाली जनतामा विभाजन गराई आफूलाई प्रगतिशील हुँ भन्ने केही अप्राकृतिक, कृत्रिम, झुट,नक्कली, अलोकतान्त्रिक अनि अप्रजातान्त्रिक राजनैतिक दलहरुले संयुक्त राज्य अमेरिका बारे अफवाह फैलाउदै आफ्नो भित्री स्वार्थ पुरा गर्न नसक्दा सत्ता गठबन्धनमा ल्यांग ल्यांग गरेर हरेक दिन नेपाली कांग्रेसका पदासीन सभापति तथा श्रीमान् ५ बाट निर्देशित वर्तमान परमादेशी प्रधानमन्त्रीसङ्ग साँठगाँठ गरेर ताम-झामका साथ विविध विषयमा सौदाबाजी मार्फत देश र समग्र नेपाली जनताको मनमा ठेस पुग्ने गरी धोखाधडी लेनदेनहरु गर्दै, हुँदै गरेको देखेर देश तथा बिदेशमा बस्ने ईमान्दार नेपाली जनताहरुलाई असहनीय रुपमा दु:ख लाग्नु अनैठो मानिदैन।
उपरोक्त विषयलाई संवेदनशिल रुपमा ख्याल गर्दै नेपालमा दिगो आर्थिक विकास, पंचशिलको सिद्धान्तमा नेपालको असंलग्न बिदेश नीति र ७५ वर्ष भन्दा अगाडि देखिको कूटनीतिक सम्बन्धलाई ध्यानपूर्वक स्मरण गर्दै नेपाल र संयुक्त राज्य अमेरिका बिच पारस्परिक हित र आपसी सम्बन्धलाई अझ मजबूत बनाई बचाई राख्न बिलम्ब नगरी हामी सम्पूर्ण देश तथा बिदेशमा बस्ने नेपाली सचेत हुन जरुरी छ । सार्वजनिक पदमा रहेर दृश्य वा अदृश्य कुनै पनि तवरबाट देश र जनताप्रति गैरजिम्मेवार गतिविधि गर्ने र गराउने कामहरु गरी, मुलुकलाई दलदलमा फसाएर दोहन गरी सौदावाजीबाट लेनदेन गरी ब्यक्तिगत स्वार्थको लागि मात्र अग्रगामी भै सरकारमा सामेल भएका र बिभिन्न बनावटी बहानामा सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने अन्य समेत जो कसैलाई पनि जनताको आवाजबाट बर्खास्त गर्नु नितान्त जरुरी छ।
कानूनलाई हातमा लिएर तोडमोड गरी देश तथा जनबिरोधी कुकर्म गर्न कानूनी कुतर्क गर्ने र सो बमोजिम मुलुकलाई खाडलमा हाल्नेहरुलाई अब स्वयं जनताले लोकतान्त्रिक र प्रजातान्त्रिक बिधिबाट तह लगाउन, लगातार स्फूर्त भै एक जुट भएर राय दिने अभियानमा दर्बिलो गरी पुनर्जागरण ल्याउनु वर्तमान समयको आवश्यकता र माग पनि हो। नेपालको दीगो आर्थिक विकासको लागि प्राप्त हुने बैदेशिक अनुदान लिने राष्ट्रिय निर्णयमा हामी सबैको एउटै धारणा निर्धारित होस्। दाता राष्ट्र संयुक्त राज्य अमेरिकाको आर्थिक विकास सम्बन्धी परियोजना “एमसीसीलाई” भालूको कन्पट नबनाई अध्यारोबाट उज्यालोतिर फड्को मार्ने गतिशील बैज्ञानिक निर्णयमा सांसदहरुले उत्कृष्ट भै उदाहरण बनौं ।
नेपालको दीगो आर्थिक विकासमा बिधिवत रुपमा दातृ राष्ट्रबाट उपलब्ध हुने आर्थिक अनुदान लिन सफलता प्राप्त गरेर सुनौलो भविस्यको लागि उज्यालो देश, समृद्ध नेपाल र सुखी नेपाली बनाउने सोचमा दूर दराजमा बस्ने निरीह, गरिब नेपाली जनतालाई प्राथमिकतामा राखि निर्णयको भूमिकामा रहनु भएका सबै सांसद ज्यूहरुले रणसंग्राम नमच्चाई, विवेकपूर्वक सोचेर आफ्नो महत्वपूर्ण निर्णय गर्ने जनाधिकारलाई सही ठाउँमा सदुपयोग गर्न बिनम्रतासहित आग्रह गर्दछु । (लेखक अधिकारी हाल अमेरिकाको वासिङ्टन डीसीमा बसोबास गर्नुहुन्छ ।)


विश्व खबर 



















