कोरोना महामारीबाट बिरामी भएकालाई गाउँमै उपचारको व्यवस्था मिलाइएपछि सहज भएको छ । सङ्क्रमण सङ्ख्या दैनिक बढ्दै जान थालेसँगै यहाँका १० वटै पालिकाले धमाधम आइसोलेशनकक्ष निर्माण गरेर गाउँमै उपचारको प्रबन्ध मिलाएपछि सहज भएको हो । जिल्लाको ऋषिङ गाउँपालिकाले पाँच शय्या क्षमताको सुविधासम्पन्न आइसोलेशनकक्ष निर्माण गरेकामा पुनः १५ शय्या थप गरी २० शय्या बनाएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी व्यास–२ स्थित साविकको कृषि विकास बैंकमा अक्सिजन सिलिण्डरसहितको ५० शय्याको आइसोलेशनकक्ष निर्माण गरिएको नपा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । बन्दीपुर गाउँपालिकाले बन्दीपुर अस्पतालमा चिकित्सक र अक्सिजन सिलिण्डरसहितको १५ शय्याको आइसोलेशन निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो । शुक्लागण्डकी नगरपालिकाले पनि दुई स्थानमा गरी ६५ शय्याको अक्सिजनसहितको सुविधासम्पन्न आइसोलेशन निर्माण गरेको नगरपालिकाका उपप्रमुख सविता रसाइलीले जानकारी दिनुभयो । त्यसैगरी भानुनगरपालिकाले भानु–५ स्थित पुरनडिही नगर अस्पतालमा अक्सिजनसहितको १७ शय्याको अक्सिजनसहित चिकित्सक रहने गरी आइसोलेशन निर्माण गरेको छ । आँबुखैरेनी गाउँपालिका, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका, घिरिङ गाउँपालिकले अहिले पाँच शय्या क्षमताको आइसोलेशन निर्माण गरेर सेवा प्रवाह गर्दै आएका छन् । तत्कालै पाँच शय्या थप गरी १० शय्या क्षमताको पु¥याउने लक्ष्य राखिएको ती पालिकाले जनाएका छन् । प्रारम्भिक उपचार गर्ने र जटिल हुँदै गएको अवस्थामा दमौली अस्पताल तथा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा पठाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्