images
images
  • प्रजातन्त्रको बाहिरी आवरणमा प्रभुत्ववाद लाद्न खोज्नु कदापि सच्चा प्रजातन्त्र होइन

    होउ यान्छी

    हाल अन्तर्राष्ट्रिय रूपमा प्रजातन्त्र एक चर्चित विषय बनेको छ । यो विश्व विविधताले भरिएको छ । प्रजातन्त्र पनि धेरै स्वरूपका छन् । चीनमा एक प्राचीन भनाइ छ– ‘सबै जुत्ता एक समान हुनु आवश्यक छैन, जोडालाई मिल्ने भए पुग्छ ।’ हामी एकै प्रकारको मानकबाट विश्वमा विद्यमान विभिन्न प्रकारका राजनीतिक प्रणालीको मूल्यांकन गर्न सक्दैनौँ, त्यसो गर्नु आफैँमा अप्रजातान्त्रिक कार्य हो । तर, केही देश प्रजातन्त्रको परिभाषा र मूल्यांकन गर्ने अधिकारमा आफ्नो एक्लो प्रभुत्व जमाउन चाहन्छन् । प्रजातन्त्रको झन्डा बोकेर विश्वलाई विभिन्न खेमामा छुट्याई विभाजन ल्याउन चाहन्छन्, वास्तवमा त्यो प्रजातन्त्रको बाहिरी आवरणमा प्रभुत्ववाद लाद्न खोज्नु हो । त्यो प्रजातन्त्रको स्पिरिटविपरीत छ । त्यो कदापि सच्चा प्रजातन्त्र होइन । यहाँ म प्रजातन्त्रबारे आफ्ना केही विचार प्रस्तुत गर्दै छु ।

    प्रजातन्त्र सम्पूर्ण मानवजातिको साझा मूल्यमान्यता हो, कुनै एक देशको पेवा होइन । चीनिया कम्युनिस्ट पार्टीले सदैव प्रजातन्त्रको इमानदारीपूर्वक खोजीनीति, अन्वेषण गरेको छ र त्यसलाई व्यवहारमा उतार्ने कार्यमा पनि एक नमुना बनेको छ । पार्टी स्थापना भएको सय वर्षमा चिनियाँ कम्युनिस्ट पार्टीले सदैव जनवादी प्रजातन्त्रको झन्डालाई उचाली चिनियाँ जनताको नेतृत्व गरी हजारौँ वर्षको सामन्ती व्यवस्थाको इतिहास भएको र आधुनिक कालको प्रारम्भमा अर्ध औपनिवेशिक अर्ध सामन्ती बन्न पुगेको देशमा जनताको प्रजातन्त्रको स्थापना गर्‍यो ।

    बीसौँ शताब्दीको ३० को दशकको प्रारम्भमा रोइचिनलाई केन्द्र बनाई स्थापना गरिएको केन्द्रीय क्रान्तिकारी आधार इलाकामै चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नै अनुभवबाट सुवेइआई ९कम्युनिस्ट० मजदुर, किसान, सैनिक प्रतिनिधिसभा स्थापना गरेको थियो । जापानी आक्रमणविरुद्धको युद्धकालमा चिनियाँ कम्युनिस्ट पार्टीले केराउ कचौरामा खसालेर भोट दिने निर्वाचन प्रक्रिया अस्वीकार गरी निरक्षर जनताले पनि निर्वाचनमा भाग लिन सक्ने व्यवस्था गरेको थियो । नयाँ चीन स्थापनापछि जनवादी प्रजातान्त्रिक व्यवस्था स्थापना गरी पार्टीको नेतृत्व, जनताको आफ्ना लागि निर्णय गर्ने अधिकार र कानुनी राज्य, यी तीनको एकाकार हुने प्रत्याभूति दिलाएको छ, जसबाट पार्टीको निर्णय, जनताको इच्छा र राज्यको निधो एकाकार हुन सम्भव भएको छ ।

    केही समयअघि मात्र सम्पन्न भएको चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौँपटकको छैटौँ सत्रको बैठकले पारित गरेको पार्टीको सय वर्षको संघर्षका महान् उपलब्धि र ऐतिहासिक अनुभव दस्ताबेजले चिनियाँ कम्युनिस्ट पार्टीले समाजवादी प्रजातन्त्रको विकासमा प्राप्त गरेको सफल अनुभव र महान् प्रगतिबारे व्यवस्थित बिश्लेषण गरेको छ । चिनियाँ राष्ट्रपति सी चिन फिङले केही दिनअघि पेइचिङको सिछङ क्षेत्र, चुङ्नानहाई निर्वाचन क्षेत्रको हुवाइरेनछाङ निर्वाचन स्थलमा जनप्रतिनिधिको निर्वाचनमा भोट खसाल्नुहुँदा निरन्तर रूपमा सम्पूर्ण जनवादी प्रजातान्त्रिक प्रक्रियाको विकास गर्नुपर्ने र जनताको आफ्ना लागि निर्णय गर्ने अधिकार जनतामै रहिरहनुपर्नेमा जोड दिनुभएको थियो । सम्पूर्ण जनवादी प्रजातान्त्रिक प्रक्रिया भनेको सम्पूर्ण खण्ड र सम्पूर्ण पदमुक्त प्रजातन्त्र हो । त्यो केही वर्षमा एकचोटी भोट खसाली गरिने निर्वाचनमा मात्र सीमित भएर पुग्दैन । त्यो देश र जनतासँग सरोकार राख्ने सम्पूर्ण महत्वपूर्ण सार्वजनिक विषयमा नियमित रूपमा पनि प्रकट हुनुपर्छ । त्यो प्रजातान्त्रिक निर्वाचनमा मात्र प्रकट भएर पुग्दैन, प्रजातान्त्रिक सुपरीवेक्षण आदि राज्य शासनका अन्य पक्षमा पनि देखिनुपर्छ । राजनीतिक क्षेत्रमा मात्र भएर पुग्दैन, अर्थव्यवस्था संस्कृति, समाज आदि क्षेत्रमा पनि गहन रूपमा देखिनुपर्छ र मानिसको दैनिक जीवन र उत्पादन प्रक्रियाको अभिन्न अंग बन्नुपर्छ ।

    सन् २०१६ देखि चीनमा दर्ता गरिएका एक अर्ब जनताले प्रत्यक्ष निर्वाचनद्वारा करिब २५ लाख काउन्टी र गाउँस्तरीय जनप्रतिनिधिसभाका प्रतिनिधि चुने । चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशनपछि १८७ पटक कानुन निर्माण गर्दा नागरिक समाजसँग सुझाव संकलन गरिएको थियो । करिब ११ लाख व्यक्तिले ३० लाखभन्दा बढी सुझाव प्रस्तुत गरेका थिए । तीमध्ये धेरै सुझावलाई ग्रहण पनि गरिएको थियो । चीन सरकारले चौधौँ पञ्चवर्षीय योजना तर्जुमा गर्ने प्रक्रियामा व्यापक रूपमा जनतासँग सुझाव मागेको थियो, अनलाइन सुझाव माग्दा १० लाखभन्दा बढी सुझाव प्राप्त भएका थिए । अन्तराष्ट्रिय आधिकारिक जनमत अनुसन्धान संस्थाले प्रकाशित गरेको नवीनतम परिणामअनुसार चिनियाँ कम्युनिस्ट पार्र्टी र चीन सरकारप्रति सन्तुष्ट चिनियाँ जनताको प्रतिशत क्रमशः ९५ र ९८ रहेको छ । इतिहास र वर्तमानले यथेष्ट रूपमा प्रमाणित गर्छ, चीनको प्रजातन्त्रको मोडेल आफ्नो देशको परिस्थिति सुहाउँदो छ, यहाँ प्रक्रियागत प्रजातन्त्र र परिणाममुखी प्रजातन्त्र, विधिगत प्रजातन्त्र र मूलभूत प्रजातन्त्र, प्रत्यक्ष प्रजातन्त्र र परोक्ष प्रजातन्त्र, जनवादी प्रजातन्त्र र देशको निधोको एकाकार भएको छ, यही नै उपयोगी एवं सफल प्रजातन्त्र हो ।
    चिनियाँ कम्युनिस्ट पार्टीले पार्टीभित्र प्रजातन्त्रलाई व्यवहारमा उतारेको चीनमा सम्पूर्ण प्रक्रियागत जनवादी प्रजातन्त्रको विकास गरेको मात्र होइन, अन्तरराष्ट्रिय जगत्ेमा अन्तर्राष्ट्रिय सम्बन्धको प्रजातान्त्रिकीकरणका लागि पनि ठूलो प्रयास गर्दै आएको छ । नयाँ चीन स्थापनाको प्रारम्भमै चीनले स्पष्ट रूपमा शान्तिपूर्ण सहअस्तित्वका पञ्चशील सिद्धान्त नै विश्वका सबै देशबीच आपसी सम्बन्ध स्थापना र विकास गर्ने आधार हुनुपर्छ भनी आवाज उठाएको थियो । विश्वमा आजसम्म नआएको परिवर्तन भइरहेको अहिलेको अवस्थामा चीनले आपसी सम्मान, समानता, सत्यता, सहकार्य, सबैको जित हुने नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्ध निर्माणका लागि सक्रिय भूमिका खेल्दै आएको छ र विश्वका देश ठूला या साना, शक्तिशाली या कमजोर, धनी या गरिब जे भए पनि तिनीहरू एकै अन्तर्राष्ट्रिय सम्बन्धमा एक समान हुनुपर्छ भन्ने मान्यता राख्दै आएको छ ।

    ठूलो देशले ठूलो देशको भूमिका निभाई मानव जातिको भविष्य र भाग्यलाई समेत ध्यानमा राखी विश्व शान्ति र विकासका लागि अझ ठूलो जिम्मेदारी वहन गर्नुपर्छ । केही ठूला देश आफूलाई प्रजातन्त्रको ‘गुरु’ भनेर बस्छन्, तर उनीहरू आन्तरिक राजनीतिको धु्रवीकरण गर्दैै धनी र गरिबलाई छुट्याई समानतालाई विखण्डित पार्दै जातीय भेदभाव बढाउने मात्र होइन, महामारी नियन्त्रणमा समेत निष्क्रिय बनी आफ्ना झन्डा आठलाख जनतालाई कोभिडको सिकार बनाउन पनि पछि पर्दैनन् । अन्तर्राष्ट्रिय जगत्मा सैन्य बल आदि प्रयोग गरी आफ्नो प्रजातन्त्रको मोडेल अरू देशमा थोपर्न खोज्छन्, जसबाट धेरै देशमा अशान्ति र अराजकता सिर्जना भएको छ, विश्वभरका शान्तिप्रिय जनताले यसको कडा विरोध गरेका छन् ।

    चीर र नेपाल दुवै विकासशील देश हुन्, दुवै देशको आ–आफ्नो प्राचीन सभ्यता रहेको छ । हामीले सहर्ष देखेका छौँ, नेपालमा सन् २००८ मा संघीय प्रजातान्त्रिक गणतन्त्र स्थापना भएयता उसले आफ्नो देशको परिस्थितिमा आधारित भएर नयाँ संविधान निर्माण गरी घोषणा गरेको छ । तीन तहस्तरीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ । निरन्तर रूपमा प्रजातान्त्रिक व्यवस्थालाई विकसित गर्दै देशको विकास र जनताको सुखमा अभिवृद्धि गर्दै लगेको छ । अन्तर्राष्ट्रिय जगत्मा चीन र नेपाल केही देशले प्रजातन्त्रको एजेन्डा प्रयोग गरी अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्नुको विरोध गर्छ, साथै देशको सार्वभौमसत्ता जोगाउन, अन्तर्राष्ट्रिय सम्बन्धको प्रजातान्त्रीकरण गर्न, कोभिड महामारी, जलवायु परिवर्तन आदि मानवजातिले सामना गरिरहेका साझा चुनौतीको समाधान गर्न हातमा हात मिलाई अघि बढ्न लागिपरेका छन् ।

    प्रजातन्त्र भनेको कुनै सजावटको वस्तु होइन, त्यसलाई प्रदर्शनीका लागि राख्ने पनि होइन । यसलाई जनताको समस्या समाधानका लागि प्रयोग गरिनुपर्छ । हामी नेपाललगायत विशाल अन्तर्राष्ट्रिय समुदायका सत्यवादी शक्तिसाथ सच्चा प्रजातन्त्रमा जोड दिन चाहन्छौँ, नक्कली प्रजातन्त्रको विरोध गर्न चाहन्छौँ, सबैसँग हातमा हात मिलाई संयुक्त रूपमा मानवजातिको साझा भाग्यको समष्टि निर्माण गर्न चाहन्छौँ, जनतालाई सुखी बनाउने क्षमता र शक्ति निरन्तर रूपमा बढाउन चाहन्छौँ, प्रजातन्त्रको वृक्षलाई सदा फलाउन फुलाउन चाहन्छौँ ।
    ९यान्छी नेपालका लागि चिनियाँ राजदूत हुन्०

    प्रतिक्रिया दिनुहोस्
    images
    images