images
images
  • एमाले महाधिवेशनमा ‘गैडा’ वहस

    राजेन्द्र मानन्धर
    एक सिङ्गे गैडा पछाडीका दुई खुट्टाको आडले उभिन्छ । अगाडीका दुई खुट्टामध्ये दायाँले हसिया हथौडा अंकित रातो झण्डा उठाउछ । ठिङ्ग उभिएर साम्नेको सूर्य अकिंत चिन्हलाई मोहित हुँदै हेरिरहन्छ । विश्वमै दुर्लभ जंगली जनवार एक सिङ्गे गैडा कहिल्यै उभिन सक्दैन । नत कुनै वस्तु समाउन नै सक्छ । केवल चार खुट्टा टेकेर जंगलमा विचरण गर्छ । उभिएको गैडा केवल कल्पनाको ‘ब्रण्ड’ मात्र हो । धेरैलाई जानकारी नै छ यो नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको लोगो हो । हरियो घाँसमा टेकेर उभिएको गैडा झण्डा र सूर्यको समिश्रणको प्रतीक चित्र सामाजिक सञ्जालमा भाइरल छ । आमसञ्चार माध्यमभरि छाएको छ । पार्टी नेता र कार्यकर्ता पंक्तिले यो लोगोभित्र आफ्नो तस्बिर जोडेर आदनप्रदान गरिरहेका छन् ।

    नेकपा एमालेको २०७८ साल मंसिर १० देखि १२ गतेसम्म दशौं महाधिवेशन चितवनमा हुँदैछ । एमालेले महाधिवेशनहरुमा प्रतीक चिन्हको रुपमा पहिलोपटक जनवारलाई रोजेको हो । एमालेले छैठौं राष्ट्रिय महाधिवेशनबाट मात्र लोगोको अभ्यास सुरु गरेको देखिन्छ ।

    एमालेले छैठौ महाधिवेशनमा पार्टीको हसिया हथौडा अंकित झण्डालाई प्रयोग ग¥यो । सातौमा अक्षरहरुको पृष्टभूमिमा जानकी मन्दिरको चित्र मिलाइको थियोे । आठौंमा ऐतिहासिक थलो वुटवलको ऐतिहासिक जितगढी किल्ला र सूर्य चिन्हलाई लोगोको रुपमा प्रयोग ग¥यो । नवौंमा राष्ट्रिय झण्डा र नौ अंकको मिश्रणसहित काठमाडौंका ऐतिहासिक थलोलाई आधार वनाएर प्रतीक वनायो ।

    अहिले गैडा, झण्डा र सूर्य चिन्हलाई रोजिएको छ । यो लोगो मजदूर युनियन जिफन्टका नेता महेन्द्र श्रेष्ठले वनाएका हुन् । जिफन्टको घटक इम्प्रेशन नेपालमा आवद्ध उनैले छैठो महाधिवेशनदेखि लगातार पोस्टर र लोगो वनाउदै आएका छन् । गैडासहितको लोगो पनि उनकै परिकल्पना हो । एमाले केन्द्रीय कार्यालयको सल्लाह अनुसार परिस्कृत भएको लोगो विगतको तुलनामा वढी आकर्षक छ । र, वढी प्रचारित पनि छ ।
    सन्सारभर विभिन्न कार्यमा लोगो प्रयोग भैरहेका छन् । लोगोमा जनवारको प्रयोग गर्ने प्रचलन पुरानै हो । देशका झण्डा, विषेश कार्यक्रम र उत्सवहरुमा लोगोमा जनवार रोजिएका छन् । जनवार अंकित लोगामा आ-आफ्नै कथा हालेका छन् । रोचक कथा भर्दै लोगोहरुलाई महत्वपूर्ण वनाइरहेका हुन्छन् ।

    अमेरिकाको दुई ठूला पार्टीका झण्डा नै जनवार अंकित छन् । अमेरिकाको डेमोक्र्याटिक पार्टीले गधा अंकित गर्दै झण्डामा प्रयोग गरेको छ । रिपब्लिकनले हात्तिको चित्र राख्दै झण्डा बनाएको छ । चुनाव चिन्ह पनि गधा र हात्ति नै हो ।

    कार्टुनिष्ट थोमास नास्टले सन् १८७० मा चिडियाखानामा भएको जनवारहरु न्युयोर्कको सेन्टरपार्कमा कुदिरहेको कार्टुन हार्पर साप्ताहिकमा प्रकाशित गरे । कार्टुनमा एउटा गधाले सिंहको छाला ओढेर अन्य जनावारलाई लेखट्दै आएको देखिन्छ । त्यहीनिर एउटा हात्ति रिपब्किनलाई भोट हाल्नु भनेर हतासपूर्वक हिडिरहेको पनि देखिन्छ । त्यही कार्टुनलाई जोड्दै अमेरिकी राजनीतिमा दुई पार्टीवीचको झण्डा र चुनाव चिन्हको व्यङ्ग्यात्मक कथा चर्चित पनि छ ।डेमोक्र्याटिक पार्टीले गधा जस्तै कडा परिश्रमी, लचकदार र चतुर जन्तुको रुपमा चित्रण गर्दै दललाई वलियो सावित गरेको  कथा वनाउदै आएको छ । रिपब्लिकनले हात्ति जस्तो वलियो पार्टीको रुपमा उभ्याउछ ।

    देशको विशेषताआनुसार जिवजन्तुलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यमा अंकित गर्छ । छिमेकी राष्ट्र भुटानले अजिङ्गरलाई झण्डामा राखेको छ । श्रीलङ्काले सिंह, मेक्सिकोले चील र सर्पलाई झण्डामा प्रयोग गरेको छ । प्रतीक चिन्हमा भारतले सिंहको प्रयोग गरेको छ । सन् १९६० मा भएको रोम ओलम्पिकमा व्वाँसोको थुनबाट दुई जना दाजुभाइ वच्चाहरु रेमुस र रोमुलसले दुध चुसिरहेको प्रतीक वनाएको थियो । पछि ती दाजुभाइले रोम सहर स्थापना गरेर राजा भै नेतृत्व गरेको कथा जोड्ने गरिन्छ ।

    नेपालको सवैभन्दा ठूलो दल एमालेले पनि खास अर्थसहित महाधिवेशनमा गैडाको प्रतीक अघि सारेको छ । चितवन राष्ट्रिय निकुञ्ज एक सिङ्गे गैडाको आवास क्षेत्र हो । नारायणी किनार गैडा सयर गर्ने सुरक्षित थलो पनि हो । त्यहीँ किनारमा पाँच लाख जनतामाझ अत्याधुनिक प्रविधिले वनाएको मञ्चमा उभिएर पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने भनिएको छ ।

    यसैलाई कथा हाल्दै एमालेले गैडाको चित्रलाई महाधिवेशनको लोगो चुनेको फेहरिस्त वनाएको छ । जंगलबाट खुला घाँसे मैदानमा उभिएर शक्तिशाली जनवारले एमालेको झण्डा उठाएको कथामा आधारित लोगो तयार भएको डिजाइनर महेन्द्र श्रेष्ठ वताउछन् । विश्वमै दुर्लभ एक सिङ्गे गैडा कडा अवरोधका वावजुत वदलिदो पर्यावरणीय परिस्थितिसँग संघर्ष गर्दै नेपालमा भने संख्या वढाइरहेको छ । एमालेले पनि कडा चुनौतीको सामना गर्दै आफ्नो आकार वढाइरहेको वेला दशौं महाधिवेशन गर्दै छ ।

    गैडाको घर चितवनबाट नेपाल चिनाउन र प्रर्यावरणिय संरक्षणका लागि राजनीतिक पहलसँग लोगोको कथा जोडिएको छ । ‘सन्तुलित प्रकृति, सुरक्षित समाज’ भन्ने नारासमेत समावेश गरेर राजनीतिक दलको एजेण्डामा पहिलोपटक वातावरणीय महत्वलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

    विभिन्न प्रसंगमा जनवारलाई अघि सार्ने चलन विश्भरी नै छ । पर्यावरणसँग जोड्दै हालै संयुक्त राष्ट्रसंघले डाइनोसरले ‘म किन लोप भएँ’ भन्ने कथात्मक भिडियो सार्वजनिक गरेको छ । एक सिङ्गे गैडा पनि पृथ्वीमा खतरापूर्ण अवस्थामा छ । खासमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि गैडा मोह छ । उनी प्रधानमन्त्री भएका वेला उनका धर्मपत्नी राधिका शाक्यले एक महिनाको गैडा अगिंकरण (एडप्ट) गर्दै पेन्सनबाट खाइखर्च वेहोरिदिने घोषणा गरेकी थिइन् ।

    प्रधानमन्त्री ओलीले ‘एडप्ट एन एनिमल’को अवधारणा प्रस्तुत गर्दै नेपालको पर्यावरणीय चिन्तालाई विश्वामाझ सन्देश दिएका थिए । २०७३ सालमा दुर्लभ एक सिङ्गे गैडाका दुई जोडी चीन सरकारको आग्रहमा नेपालले उपहार पनि पठाएको थियो ।

    गैडाहरुको आँगनमा हुन लागेको नेकपा एमालेको ऐतिहासिक महाधिवेशनको लोगोलाई लिएर विभिन्न व्यङ्ग्यहरु सार्वजनिक भैरहेका छन् । मजदूर, किसान, सर्वहारा, श्रमजीवि वर्गको नेतृत्व गर्ने कम्युनिष्ट पार्टीको झण्डा गैडालाई उठाउनुलाई अन्यथा अर्थ लगाइएको छ ।

    एमालेको विधान महाधिवेशन सकिसकेको सन्दर्भमा नयाँ नेतृत्व चयनका लागि हुने महाधिवेशनका लागि गैडाको चित्र रोजिनु खुला र विशिष्ट सोचमा आधारित छ । सामान्तवाद, साम्राज्यवाद, दलाल नोकरशाही पूँजिपति वर्गलाई शत्रु मानेर अघि वढेको एमालले राजनीतिमा गैडा अंकित लोगोले देशको समग्र अवस्थालाई समेटेको भन्ने अर्थमा वुझ्दा नै राम्रो मानिने छ ।

    जंगलको सुन्दर शाकाहारी जनवारलाई साक्षी राख्दै नेकपा एमालेले सक्षम, इमान्दार र जुझारु नेतृत्व दिने सोच आफैमा नवीन हो । हालै सम्पन्न विधान महाधिवशनले निर्देशित गरेको विचार, सिद्धान्त, कार्यक्रम, आन्दोलन र संगठनलाई आत्मसाथ गर्दै अघि वढ्नसक्ने कर्मठ नेतृत्व चयन हुँदा गैडालाई साक्षी राख्नु जलवायु परिवर्तनमा कम्युनिष्ट पार्टीको गहिरो चिन्ता प्रकट हो भन्ने वुझाइबाट हेर्न पनि सकिन्छ ।

    गैडा, हसियाँ हथौडासहितको झण्डा र सूर्य चिन्ह अंकित लोगो भरिएको झोला वोकेर चितवन अधिवेशनमा पुग्ने करिब २२ सय प्रतिनिधिहरुलाई विवेकपूर्वक नेतृत्व चुन्ने मौका छ । देशको प्रमुख पार्टीसँग केवल पार्टी नेता र कार्यकर्ताको मात्र सम्वन्ध हुदैन । एमालेसँग नेपाली जनताको भाग्य र भविश्य जोडिएको हुनाले देशले अपेक्षा गरेको नेतृत्व एमालेले चितवनबाट उतार्ने विश्वास लिइएको छ । शुभकामना ।
    (मानन्धर नेकपा एमाले महाधिवेशन प्रचार कमिटिका सदस्य हुन् ।)

    प्रतिक्रिया दिनुहोस्
    images
    images