तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधिहरू स्वास्थ्यकर्मी लिएर कोरोना सङ्क्रमित भेट्न घरघरमा पुगेका छन् । गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा, उपप्रमुख करुणा गुरुङ, स्वास्थ्य शाखाका प्रमुख अंजिर भट्टराई सहितको टोली कोरोना पोजेटिभ पुष्टि भई होम आइसोलेशनमा बस्दै आएकाको घरदैला पुगेको हो । घरदैलो अभियानमा सामान्य औषधी र स्वास्थ्य सामग्री प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो । गाउँपालिकाको वडा नं ३ रामकोटका १८ र वडा नं ५ याम्पाका नौ गरी २७ सङ्क्रमितलाई भेटघाट गरी सान्त्वना दिनुको साथै सुरक्षित भएर रहन आग्रह गरिएको उहाँले बताउनुभयो । रामकोटमा बाक्लो बस्ती भएका कारण सुरक्षित हुन कठिनाई देखिएकाले सचेत गराउनको लागि पनि स्वास्थ्यकर्मीको सहित गएको हो । रामकोट क्षेत्रमा घरहरू जोडेर बनाइएको छ । यहाँ १०० बढी मगर समुदायको बाक्लो बस्ती छ । सङ्क्रमित भई होम आइसोलेशनमा रहेकाको आत्मबल बढाउनका लागि पनि घरघरमा पुगिएको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । सङ्क्रमित भई आइसोलेशनमा बस्दाको समयमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड तथा आहारबिहारलगायत विषयमा सचेत गराइएको उहाँले जानकारी दिनुभयो । घरमै स्वास्थ्यकर्मी सहितको टोली पुग्दा सङ्क्रमितहरू खुशी भएका छन् । सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले जिल्लाका सञ्चारकर्मीलाई बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ । श्रेष्ठले नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । श्रेष्ठले २०० एन्–९५ मास्कसहित सामग्री प्रदान गर्नुभएको शाखाका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०७८ जेठ ७ गते शुक्रबार ०९:२५