images
images
  • आफूलाई देउता आएको भन्दै टोकेर पत्नी र छोरीको हत्या

    इलाम-इलामको देउमाई नगरपालिका(५ का एक व्यक्तिले गए राती पत्नी र छोरीको हत्या गरेका छन्। कमल भनिने ३४ वर्षीय पूर्णचन्द्र तामाङले ३५ वर्षीया पत्नी सिता तामाङ र १५ वर्षीया छोरी दीक्षा तामाङको हत्या गरेको प्रहरीले जनाएको छ। छोरी दिक्षा कक्षा १० मा अध्यायनरत थिइन्।

    आफू धामी भएको भन्दै टोकेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए। घटनाबारे प्रहरीले मंगलबार बिहान मात्रै जानकारी पाएको थियो। कमललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    आफूलाई देउता आएको भन्दै एक हप्तादेखि अस्वभाविक कृयाकलाप गरिरहेका तामाङले परिवारका अन्य सदस्यलाई पनि आक्रमण गर्न खोजेका थिए। तर उनको परिवारका ६३ वर्षीय बाबु लाल बहादुर तामाङ, आमा भीममाया तामाङ जेठि दिदी शान्ता तामाङ, माइली दिदी आशा तामाङ र तामाङका दुई छोरीले भागेर ज्यान बचाएको छिमेकी शिव कार्कीले बताए।

    ‘बिहान चार बजे तिर हामी पुग्दा घरभित्र श्रीमती, छोरी र कुकुरको शव थियो।’ छिमेकी कार्कीले भने-‘त्यसपछि हामीले प्रहरीलाई खबर गरेका हौं।’ केही समयदेखि कमलले बाबुलाई समेत छोरो नभनी गुरु सम्बोधन गर्न भन्ने गरेको कार्कीले बताए। तामाङकी जेठी दिदी शान्ता केहिदिन अघि माइत आएकी थिइन् भने माईली आशा सोमबार मात्रै माइत आएकी थिइन्। उनीहरु भागेर फुपुको घरमा लुकेर ज्यान बचाएको बताएको छिमेकी कार्कीले जानकारी दिए।

    स्थानीयका अनुसार मृतकको जिउमा टोकेका दागहरु रहेका छन्। कार्कीले भने-‘काटेको जस्तो कतै देखिदैन, टोकेरै मारेको जस्तो देखिन्छ।’ तामाङलाई इलाका प्रहरी कार्यालय मंगलबारेमा राखेर अनुसन्धान अघि बढाइएको छ। प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ। तामाङका माईली छोरी दिवाना ८ बर्षकी छन् भने कान्छी छोरी दिप्निा साढे ३ बर्षकी छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images