बैतडी- बैतडीको पाटन नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा कक्षा ६ देखी ८ सम्म संस्कृत विषय अध्यापन गराउने निर्णय गरे पनि विद्यालयहरूलाई समस्या भएको छ । बजारमा संस्कृत विषयको पाठ्यपुस्तक र पाठ्यक्रम उपलब्ध नभएकाले पढाउन समस्या भएको पाटन-२ स्थित सिद्धनाथ मावि सिलंगाका प्रधानाध्यापक लक्ष्मण बोहराले बताए । संस्कृत विषयको विकल्पमा कम्प्युटर शिक्षा तथा व्यवसायी शिक्षा राखेको भए विद्यार्थीलाई फाइदा हुने उनले बताए ।
प्रधानाध्यापक बोहराले भने, ‘संस्कृत विषयको सट्टा कुनै व्यवसायी विषय राखिदिएको भए राम्रो हुन्थ्यो । जस्तै विद्यार्थीहरूलाई डोको, सुप्पो, नाङ्लो बनाउन, कपडा बुन्न, धान रोप्न धानको ब्याड राख्ने यस्ता धेरै ज्ञान दिन सकिन्थ्यो । नभए सबै विद्यालयमा कम्प्युटर उपलब्ध छन् । कम्प्युटर शिक्षा दिन सकिन्थ्यो । संस्कृत पढाउन भनेपछि समस्या भएको छ ।’
कतिपय विद्यालयमा संस्कृत विषय अध्ययन गरेका शिक्षक नहुँदा अध्यापन गर्न समस्या भइरहेको छ । लामो समयदेखी यो संस्कृत विषय नै हटाइएकाले शिक्षक पाउन मुस्किल भएको पाटन(१ स्थित सिद्धेस्वर मावि मेल्चोराका प्रधानाध्यापक प्रकाश विकले बताए ।
शिक्षकहरू नपाइएमा अन्य विषयका शिक्षकले समेत संस्कृत अध्यापन गर्न सक्ने शिक्षा शाखा प्रमुख बिर्खराज भट्ट बताउँछन् । गरपालिकाले संस्कृत विषय पढाउने निर्णय गर्नुभन्दा पहिले शिक्षा क्षेत्रका सरोकारवाला र शिक्षकहरूसँग छलफल गर्नुपर्ने कृष्ण मावि पाटनका प्रधानाध्यापक वीरेन्द्र केसी बताउँछन् । हचुवाको भरमा गरिएको निर्णयले सास्ती मात्रै पाइने उनको भनाइ छ ।


विश्व खबर 



















