images
images
  • विवाह गर्ने विषयमा विवाद भएपछि अस्मिताको हत्या

    काठमाडौं । दैलेखको गुराँस गाउँपालिका-५ गोगनपानीको भैरीखोलामा भदौ १५ गते फेला परेको युवतीको शवको पहिचान खुलेको छ । शव फेला परेकी युवती नारायण नगरपालिका-१० भवानीकी २२ वर्षीया अस्मिता बोगटी भएको प्रहरीले जनाएको छ ।

    प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने क्रममा विवाद हुँदा उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको हो । उनको हत्या आरोपमा गुराँस गाउँपालिका-५ गोगनपानीका २१ वर्षीय गणेश विकलाई पक्राउ गरिएको छ ।

    गणेशले गएको भदौ १४ गते राति १० बजेतिर अस्मिताको हत्या गरी भैरीखोलामा फालेको भन्ने आरोपमा प्रहरीले असोज १ गते उनलाई पक्राउ गरेको थियो । आरोपितको संलग्नताको प्रमाण जुटाएर गणेशविरुद्ध पीडित परिवारबाट हत्या कसुरमा जाहेरी लिइएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक )इन्स्पेक्टर) इन्द्रजित सुनारले जानकारी दिए ।

    अस्मिता पाँच वर्षदेखि काठमाण्डौमा घरायसी कामदारका रूपमा काम गर्दै आएकी थिइन् । प्रहरीसमक्ष गणेशले अस्मितालाई आफू विवाहित रहेको र आफ्नो एक छोरी समेत भएको बताएपछि विवाद भएको र अस्मिता खोलामा हाम फालेको बयान दिँदै आएका थिए ।

    अस्मिताको शव घटनाको भोलिपल्ट भदौ १५ गते बिहान बिउराखेत नजिक भैरीखोलामा भेटिएको थियो । त्यसबेला पहिचान नखुलेको कारण भदौ १९ गते पोष्टमार्टम गरी नारायण नगरपालिका–८ झुप्रेसाल जङ्गलमा प्रहरीले शव खाडल खनी गाडेको थियो ।

    अस्मिताले काम गर्दै आएको घरबाट भदौ २८ गते दैलेखमा फोन गरेर सोधेपछि उनको खोजी सुरु भएको थियो । काठमाण्डौबाट दैलेख हिँडेकी अस्मिता घर नपुगेको थाहा पाएपछि प्रहरीले तर्ताङ्मा गाडेको शवको फोटोसँग दाज्दा उनको पहिचान खुलेको हो ।

    अस्मिताको मोबाइलको नम्बरमार्फत कल डिटेल जाँच गर्दा गरिएको कल डिटेल्सको आधारमा गणेश विकले हत्या गरेको खुल्न आएको हो। प्रहरीले भदौ १४ गते अस्मिता र गणेशबीच १२ पटक कल भएको डिटेल्स निकालेको थियो ।घटना भएकै दिन गणेशले आफ्नो सिम भाँचे पनि प्रहरीले दुई दिनमा उनको घरमा पुगेर पक्राउ गरी अनुसन्धान थालेको थियो ।

    भदौ १४ गते पनि बिहान सुर्खेतबाट बस चढेर माथिल्लो डुङ्गेश्वर बजारमा झरेर गणेशलाई भेटी विवाह गर्ने सल्लाहमै उसको घर जान हिँडेको बेला हत्या भएको खुलेको हो । अस्मिताको गएको भदौ २९ गते दाहसंस्कार गरिएको थियो ।

    अस्मिताकी आमा शान्ता बोगटीले गएको बुधवार गणेश विरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिनु भएको छ ।

    प्रहरीले सूचना प्रविधि र सामाजिक परीक्षणबाट हत्या भएको एकीन गरेर अनुसन्धान केन्द्रित गरेको जिल्ला प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी नायब उपरीक्षक ९डीएसपी० अनुपम श्रेष्ठले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images