images
images
  • छ महिनापछि खुले विद्यालय, अभिभावक भन्छन्– ‘पढाउन पठाउने कि नपठाउने’

    काठमाडौं – बिहिबार दश बजेको समय, ओखलढुंगाको सरस्वती माध्यमिक विद्यालय बुङ्नामको प्राङगणमा बालबालिकाको उपस्थिति बाक्लै देखियो । स्कुल ड्रेसमा सजिएका उनिहरुको साथैमा देखिन्थ्यो, किताब र कपी पनि । यहि भिडमा भेटिए, लेडिज धमला र मिना खत्री । दुवै जना कक्षा ५ मा पढ्छन् । लामो समय साथिहरुसंग बसेर पढ्न नपाएका धमलाले विद्यालय खुलेसंगै खुसि व्यक्त गरे । ‘विद्यालयमा साथिहरुसंगै बसेर पढ्न पाउँदा रमाइलो लागेको छ ।’ घरमा बस्दा खेल्ने साथिहरु पनि हुँदैनथ्य, उनले भने,‘यहाँ त नआएको कुरा साथिहरुसंग पनि सिक्न पाइन्छ, सरहरुले पनि सिकाउनु हुन्छ ।’

    यस्तै खत्रीले विद्यालयमा पढ्न आउँदा मास्क लगाएर आउने गरेको सुनाइन् । ‘पहिला मास्क लगाएर विद्यालय आउन पदैँन थियो, अहिले सबै जनाले मास्क लगाएर आउँनु पर्छ । मास्क लगाएन भने कक्षा कोठामा जानै पाइदैँन ।’ उनीले भनिन्, ‘कोरोना रोगबाट बच्न हामि पटक पटक साबुन पानिले हात पनि धोइरहन्छौँ ।’ सरस्वती माध्यमिक विद्यालय बुङ्नाका प्रधानध्यापक लिलानाथ गिरीले विद्यार्थिको भौतिक उपस्थितीमा विद्यालयमा पठनपाठन संचालन गरिएको बताए । स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सम्बन्धित सरोकारवालाहरुले दिएको अनुमति अनुसार विद्यालयमा पढाई सुरु गरिएको उनको भनाई छ । ‘आइतबारदेखि विद्यालय संचालन गरेका हौँ । विद्यार्थिको पढाई निकै खस्किएको छ ।’ उनले भने,‘मोबाईलमा विद्यार्थी अभ्यस्त भैसकेका छन् । पढाईमा ध्यान केन्द्रित गराउँनै चुनौती छ ।’

    बढ्दो कोरोना संक्रमणका कारण छ महिनादेखि बन्द भएका विद्यालय धमाधम खुलेका छन् । काठमाडौं उपत्यकासहित ओखलढुंगा, दोलखा, रामेछाप, खोटाङ, सिन्धुली, उदयपुर लगायत देशका अन्य क्षेत्रहरुमा पनि भौतिक उपस्थितमा पठनपाठन सुरु भएका छन् ।
    काठमाडौं महानगरपालिका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार भौतिकरुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसी अभिभावकको सहमति लिएर कार्ययोजना बनाएर स्थानीय तहमा पेश गर्नुपर्नेछ । विद्यार्थी संख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य गरिएको छैन ।

    ‘कामपाभित्र सञ्चालनमा रहेका विद्यालय पुनःसञ्चालन गर्न व्यवस्थापन समितिको बैठक बसी आपसी समझदारीमा मात्र सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने, विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाई महानगरको शिक्षा शाखामा पेश गर्नुपर्ने र शिक्षक, विद्यालय कर्मचारी, चालक सबैले खोप लगाएको हुनुपर्ने छ ।’ शिक्षा विभागका प्रमुख सुवेदीले भने । शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा कामपाले खोप लगाउने व्यवस्थासमेत गर्ने जनाएको छ । कामपाले औपचारिक जानकारी आज गरे पनि यसअघि नै विद्यार्थी संख्या कम भएका विद्यालय आलोपालो गरेर संचालनमा आइसकेका छन् ।

    यता अभिभावकलहरु पढाइभन्दा आफ्ना छोराछोरीको स्वास्थ्यको चिन्ता बढी भएको बताउँछन् । विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने वातावरण सरकारले नबनाएको उनिहरुको गुनासो छ । ‘यतिन्जेलसम्म कोरोना संक्रमण हुनबाट छोरोछोरीहरुलाई जोगाएका छु । विद्यालय पठाएर संक्रमण भए भने के गर्नु ? बच्चाहरुको स्कुल खुलेको ४÷५ दिन भइसक्यो । अब दशैँ पनि आउन लाग्यो ।’ अभिभावक सिर्जना खत्रीले भनिन्,‘ अब पढाउने पठाउने कि नपठाउने अन्योलमा छु ।’ लामो समय विद्यालय बन्द रहेको, चाडबाडको समय नजिक आएको र कोरोनाको त्रास अझै कायमै रहेकाले दशैँ तिहारपछि मात्र भौतिकरुपमा विद्यालय खोल्नु हुनुपर्ने उनको धारण छ ।
    अनलाइन तथा अन्य वैकल्पिक माध्यमबाट विद्यालयको पठनपाठन प्रभावकारी नभएकाले स्वास्थ्य सावधानी अपनाएर, विद्यालयको भौतिक पूर्वाधार हेरेर, कोभिड–१९ फैलिन नदिन आवश्यक अन्य पूर्वाधारको व्यवस्था गरेर विद्यालय भौतिकरुपमा सञ्चालन गर्ने अनुमति दिएको सम्बन्धित स्थानीय तह तथा सरोकारवालाहरुको भनाई छ । स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन हुने, पालना नभएको पाइए, पालना गर्न सुझाव दिइने र अटेर भएमा कार्वाहीको दायरामा ल्याउन पहल गरिने उनिहरु बताउँछन् । स्थानीय तहले विद्यार्थी विद्यालय आउँदा अनिवार्य मास्क लगाउनुपर्ने, विद्यालय प्रवेश गर्नुअघि अनिवार्य साबुन पानीले हात धुनुपर्ने, विद्यार्थी संख्याको आधारमा कक्षाकोठाभित्र विद्यार्थीहरुको बसाई व्यवस्थापन गर्न आंशिक, जोरबिजोर वा आलोपालो कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने जस्ता मापदण्ड राखेका छन् ।

    वैकल्पिक पठनपाठन प्रभावकारी नभएकाले विद्यालयमा नै विद्यार्थि उपस्थित गराएर पढाउन थालिएको हो । सबै विद्यार्थीको पहुँचमा इन्टरनेट नभएको, कोरोना महामारीको अवस्था विश्लेषण गर्दा घट्ने क्रममा रहेको र स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि, २०७८ बमोजिम विद्यालय सञ्चालन गर्न दिइने निर्णय भएअनुसार सम्बन्धित सरोकारवालाहरुसंगको समन्वयमा विद्यालयमा पठनपाठन सुरु गरिएको सम्बन्धित स्थानीय सरकारले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images