खोटाङ– नेपाली कांग्रेस खोटाङले दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको वडा अधिवेशनमा उत्पन्न विवादका विषयमा जाँचबुझ गर्न छानविन समिति गठन गरेको छ ।
कांग्रेस जिल्ला कार्य समितिको शनिबार बसेको बैठकले जिल्ला सचिव ज्ञानेन्द्र जोशीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको हो । तीन दिनभित्र छानबिन सकेर प्रतिवेदन बुझाउन समितिलाई समय दिइएको छ । समितिको सदस्यमा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तीर्थराज भट्टराई र तरुण दलका जिल्ला अध्यक्ष भीषण राई रहेका छन् ।
गत भदौ १८ गते मत गणनाका क्रममा १०८औं मतपत्र समावेशी र खुलातर्फको स्टिच गरिएको हुनुपर्नेमा दुवै खुलातर्फको मतपत्र स्टिच गरेको भेटिएको निहुँमा याम्खा कांग्रेसको वडा अधिवेशन विवादकाबिच टुंगिएको थियो । वडा अधिवेशन षडयन्त्र र धाँधलीपूर्ण ढंगबाट गराइएको भन्दै नेपाल विद्यार्थी संघ खोटाङका वरिष्ठ उपाध्यक्ष नइन्द्र राईले भदौ २२ गते दिक्तेलमा पत्रकार सम्मेलन गर्दै पुनः वडा अधिवेशनको माग गरेका थिए ।
गाउँपालिका अध्यक्ष एवं कांग्रेस महाधिवेशन प्रतिनिधि भूपेन्द्र राईको टिमबाट रामचन्द्र राई र नेविसंघका वरिष्ठ उपाध्यक्ष राईको टिमबाट नेत्रकुमार राई वडा सभापतिमा लडेका थिए । १९२ मत खसेको वडा अधिवेशनमा रामचन्द्रले १०४ मत र नेत्रकुमारले ८६ मत पाएको कांग्रेसले जनाएको छ ।























