पोखरा-नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पोखरा महानगरपालिका कार्यसमिति सचिवका लागि पोखरा ३२ का क्षेत्रीय प्रतिनिधि गणेशबहादुर थापाले उम्मेद्वारी दिने भएका छन् ।
पर्यटन व्यवसायीसमेत रहेका थापाले ‘कर्पोरेट पोखरा’को अवधारणा सार्वजनिक गर्दै चुनावमा होमिन लागेका हुन् । ‘मेरो उम्मेद्वारी खास रुपमा नागरिकहरु धाउनुपर्ने निकायहरुमा प्रणाली सुधारका लागि हो,’ उनले भने, ‘वैज्ञानिक ढंगका नीति नियम नहुँदा मानिसहरु आजपनि अड्डामा धाइरहनु परेको छ । अहिलेको व्यवस्था निर्वाहमुखी व्यवस्थापन मात्र हो । यसले जनताको आधारभूत तहमा परिवर्तन दिलाउँदैन ।’
‘कर्पोरेट पोखरा’को अवधारणा सार्वजनिक गर्दै सचिव पदका उम्मेद्वार थापाले तीन पक्षलाई महत्वपूर्ण रुपमा उठान गरेका छन् । ‘नियम’, ‘अभ्यास’ र विधि स्थापनाका लागि ‘प्रक्रिया ।’
कुनै नागरिक सामान्य काम लिएर महानगरपालिका जाँदा राजनीतिक दलका मान्छेलाई समाएर जानुपर्ने बाध्यताको अन्त्य गर्न आफूले अघि सारेको अवधारणालाई पार्टीबाटै स्थापित गराउन प्रतिबद्ध हुने थापाको भनाई छ ।
उनी भन्छन्, ‘अझ बढी त जनप्रतिनिधिहरु भएका निकायहरुमा उच्चतम प्रणाली सुधारको थालनी गर्नुपर्छ । आजको युगमा पनि नियमित हुने कामहरु ठेक्का पट्टाले मात्र जनतालाई परिवर्तनको महसुश गराउन सकिँदैन । आधारभूत तहबाटै प्रणाली सुधारमा भइरहेको अलमललाई चिर्न अब ढिला गर्नु हुँदैन । मेरो उम्मेद्वारी विधि स्थापनाकै लागि हो ।’
थापा लेकसाइड बाराही चोकस्थित होटल स्नोल्याण्डका सञ्चालक हुन् । उनी बिबिए र एलएलबी उत्तीर्ण हुन् ।
महानगरको अधिवेशन भदौ २७ गते हुँदै छ । अधिवेशनमा क्षेत्रीय प्रतिनिधि, वडा इकाई सभापति, महानगर भित्रका केन्द्रीय सदस्य, प्रतिनिधि सभाका प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेद्वारहरुले मतदात गर्न पाउनेछन् । पोखरा महानगर भित्र करिब १ हजार ६ सय मतदाता छन् ।


विश्व खबर 



















