images
images
  • ट्रम्पसँग भेट नभएपछि किमको जोड सार्वभौमिकतामा

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता हुन नसकेको केही दिनपछि उत्तर कोरियाली नेता किम जोङ उनले राष्ट्रिय सार्वभौमिकता र सुरक्षालाई प्राथमिकता दिँदै वैदेशिक सम्बन्ध विस्तार गर्ने बताएका छन् ।

    राज्य सञ्चारमाध्यम केसीएनएका अनुसार नयाँ नियुक्त राजदूतहरूबाट ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै उनले स्वतन्त्रता, शान्ति र मित्रतामा आधारित विदेश नीति अघि बढाउने बताएका हुन् ।

    कार्यक्रममा रूसका लागि नियुक्त राजदूत पनि सहभागी थिए ।

    किमले बढ्दो विश्वव्यापी सुरक्षा सङ्कट तथा राजनीतिक र आर्थिक अस्थिरताबीच उत्तर कोरियाले प्रभुत्व वा विस्तारको नीति नअपनाउने बताए ।

    सामान्यतया वरिष्ठ अधिकारीले गर्ने राजदूतहरूको प्रमाणपत्र ग्रहण समारोहमा उनी स्वयं विदेशमन्त्री चो सोन हुईसँग उपस्थित भएका थिए ।

    गत साता एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका लागि चीन पुगेका ट्रम्पले किमसँग भेट्ने प्रयास गरेका थिए ।

    तर, भेटको व्यवस्था हुन नसकेपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि उनी बिहीबार एसियाबाट फर्किएका थिए ।

    किमको प्रत्यक्ष सहभागितालाई उत्तर कोरियाको सार्वभौमिकतामा आधारित कूटनीतिको सङ्केतका रूपमा विश्लेषण गरिएको छ ।

    दक्षिण कोरियाको क्युङनाम विश्वविद्यालयका प्राध्यापक लिम युल–चुलले एएफपीसँग कुरा गर्दै ट्रम्पको पहलबाट प्रभावित नभई राजदूतहरूलाई स्वागत गर्नु उत्तर कोरियाले बहुध्रुवीय विश्व व्यवस्थामा आफ्नो भूमिका विस्तार गर्न चाहेको सङ्केत भएको बताए ।

    ट्रम्पको पहिलो कार्यकालमा किमसँग भएका शिखर वार्ताबाट उत्तर कोरियाको आणविक कार्यक्रम रोक्ने ठोस सम्झौता हुन सकेको थिएन ।

    संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आणविक कार्यक्रम अघि बढाउँदै आफ्नो आणविक हैसियतलाई कानूनी मान्यता दिएको छ र हतियार भण्डारलाई स्थायी तथा अपरिवर्तनीय घोषणा गरेको छ ।

    यसैबीच, युक्रेनविरुद्धको युद्धमा रूसलाई सैन्य सहयोग गर्न सेना परिचालन गरेपछि उत्तर कोरिया र रूसबीचको सम्बन्ध थप सुदृढ भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images