काठमाडौं – साउदी अरब जाने तयारीमा रहेका राप्तीसोनारी गाउँपालिका–६ का डम्बर बुढाक्षेत्री स्वास्थ्य परीक्षणमा असफल भएपछि वैदेशिक रोजगारीमा जान पाएन । विदेश जाने योजना रोकिएपछि उनले स्वदेशमै बाख्रापालन सुरु गरे । अहिले त्यही व्यवसाय उनको परिवारको आम्दानी र आत्मनिर्भरताको बलियो आधार बनेको छ ।
बुढाक्षेत्रीसँग अहिले ६० वटाभन्दा बढी स्थानीय खरी जातका बाख्रा छन् । बाख्रापालनबाट हालसम्म करिब तीन लाख रुपैयाँ आम्दानी गरिसकेका उनले पुरानो ऋण चुक्ता गर्नुका साथै दुई छोराको पढाइ खर्च र घरपरिवारको आवश्यकता पूरा गर्दै आएको छ ।
वर्षमा आठदेखि १० वटासम्म खसी बिक्री गर्ने उनले यस वर्ष पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा राखेको छ । माउ बाख्रा बिक्री नगरी बाख्राको सङ्ख्या बढाउने उनको योजना छ । बाख्रा बिक्रीका लागि बजारको समस्या नरहेको उ बताउछन् । सहकारीले खसी खरिद गर्ने र आवश्यक परेको समयमा अग्रिम रकमसमेत उपलब्ध गराउने भएकाले व्यवसाय सञ्चालन गर्न सहज भएको उनको भनाइ छ ।
बुढाक्षेत्रीको बाख्रापालन यात्रा भने सहज थिएन । वैदेशिक रोजगारीमा जाने योजना सफल नभएपछि सुरु गरेको व्यवसाय पारिवारिक समस्याका कारण बीचमा छाड्नुपरेको थियो । बुबाआमाको उपचार र निधनपछि लागेको ऋण तिर्न उ तीन वर्ष भारतमा बिताउन बाध्य थिए । भारतबाट फर्किएपछि उ पुनः पशुपालनमा सक्रिय भए । सुरुमा आठवटा भैँसीसमेत पालेका उनले पछि भैँसी बिक्री गरेर बाख्रापालनलाई प्राथमिकता दिए । यही व्यवसायबाट आम्दानी गर्दै ऋण चुक्ता गर्न सफल भएको उनले बताए ।
“म यसैमा सन्तुष्ट छु । विदेश गएको भए राम्रो हुन्थ्यो भन्ने लागेको छैन,” उनले भने ।
बुढाक्षेत्री अहिले आफ्नो व्यवसायप्रति सन्तुष्ट मात्र हैन, अरूलाई पनि आफ्नै क्षमता र आर्थिक अवस्थाअनुसार सानो लगानीबाट उद्यम सुरु गर्न सुझाव दिन्छन् । अरूको देखासिकी गरेर एकैपटक ठूलो लगानी गर्दा जोखिम बढ्न सक्ने उनको अनुभव बताउछन् ।
स्थानीय जातका बाख्राको सङ्ख्या विस्तार गर्दै यही व्यवसायलाई भविष्यको आधार बनाउने उनको लक्ष्य छ । विदेश गएर मात्रै आर्थिक अवस्था सुधार्न सकिन्छ भन्ने सोचलाई आफ्नै गाउँमा गरेको मेहनतबाट बदलेका बुढाक्षेत्रीको अनुभव स्वदेशमै सम्भावना खोजिरहेका युवाका लागि प्रेरणादायी बनेको छ ।


















