images
images
  • संरक्षण र रेखदेख अभावमा कान्तितालको अस्तित्व संकटमा

    काठमाडौं – नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा अवस्थित कान्तिताल संरक्षण र उचित रेखदेखको अभावमा जीर्ण बन्दै गएको छ । कुनै समय नेपालगञ्जकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको ताल अहिले झाडी र बुट्यानले ढाकिएको छ भने त्यहाँ निर्माण गरिएका पूर्वाधारसमेत भत्किन थालेका छन् ।

    नेपालगञ्ज उपमहानगरपालिकाले विसं २०७५ मा कान्तिताललाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने महत्वाकाङ्क्षी योजना अघि सारेको थियो। स्थानीय पूर्वाधार निर्माण र तालको सौन्दर्य अभिवृद्धिका लागि उपमहानगरले करिब १० करोड रुपैयाँ खर्च गरिसकेको छ । तर, संरक्षण र नियमित रेखदेखको अभावमा लगानीअनुसारको प्रतिफल देखिन सकेको छैन ।

    नेपालगञ्ज–२२ पुरैनीका अगुवा चेतबहादुर थापाका अनुसार तालको सौन्दर्य बढाउन निर्माण गरिएका आकर्षक रेलिङ भत्किएका छन् भने ताल क्षेत्र झाडी र बुट्यानले भरिएको छ । उचित सरसफाइ र व्यवस्थापन नहुँदा तालले आफ्नो पहिचानसमेत गुमाउने अवस्था आएको उनको भनाइ छ ।

    कान्तिताल पूर्वाधार र पर्यटनका दृष्टिले मात्र नभई जैविक विविधताका हिसाबले पनि महत्वपूर्ण रहेको थापाले बताए । ताल क्षेत्रमा विभिन्न प्रजातिका चराचुरुङ्गीको प्राकृतिक बासस्थान छ । पर्यावरण तथा चरा संरक्षणमा सक्रिय अभियन्ताहरूले तालको प्राकृतिक स्वरूप जोगाउन र पुरानै अवस्थामा फर्काउन पटक–पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आए पनि ठोस पहल हुन नसकेको उनको गुनासो छ ।

    ताल क्षेत्र झाडीले ढाकिएपछि सुरक्षा चुनौतीसमेत बढेको स्थानीयको भनाइ छ । विशेषगरी साँझ परेपछि यहाँ शङ्कास्पद गतिविधि हुने गरेको र लागुऔषध प्रयोगकर्ताहरूको जमघटस्थल बन्न थालेको थापाले बताए । यसले ताल आसपासका बासिन्दामा त्रास सिर्जना गरेको छ ।

    ताल सञ्चालनका लागि वार्षिक २८ लाख रुपैयाँ राजस्व उपमहानगरपालिकालाई बुझाउने सम्झौतामा ठेक्का लिएका फनबहादुर गुरुङले ताल परिसरमा निर्माण गरिएका रेलिङलगायतका पूर्वाधार लागुऔषध प्रयोगकर्ताहरूले तोडफोड गरेको हुन सक्ने बताए । उनका अनुसार पूर्वाधारको संरक्षण र सुरक्षा व्यवस्थापनमा चुनौती देखिएको छ ।

    नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतमा कान्तिताल विकासका लागि बनाइएका योजनाले अपेक्षित नतिजा दिन नसकेको स्वीकार गरे । अब सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरेर तालको दिगो संरक्षण र व्यवस्थापनका लागि नयाँ योजना बनाउने तयारी भइरहेको उनले बताए ।

    “विगतमा बनाइएका योजनाहरूले अपेक्षाकृत नतिजा दिन सकेनन्,” उनले भने, “अब हामी सरोकारवाला निकायका प्रतिनिधिहरूसँग गहन छलफल गरेर कान्तितालको दिगो संरक्षण र व्यवस्थापनका लागि प्रभावकारी नयाँ योजना बनाउने तयारीमा छौँ।”

    कुनै समय नेपालगञ्जको पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिको सम्भावनासँग जोडिएको कान्तिताललाई पुनर्जीवन दिनुपर्ने नागरिक अगुवाहरूको माग छ। नेपालगञ्जका नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले तालको संरक्षणमा उपमहानगरपालिकासहित सबै सरोकारवाला निकायले जिम्मेवारी लिनुपर्ने बताए ।

    करिब १० करोड रुपैयाँ खर्च भइसकेको कान्तितालको वर्तमान अवस्था सार्वजनिक लगानीको प्रभावकारी उपयोग र संरक्षण व्यवस्थापनमाथि पनि प्रश्न बनेको छ । नयाँ योजना बनाउने प्रतिबद्धतासँगै पुराना संरचनाको मर्मत, नियमित सरसफाइ, सुरक्षा व्यवस्था र जैविक विविधताको संरक्षणलाई प्राथमिकता दिन सके मात्रै कान्तिताललाई पुनः पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images