images
images
  • सत्ताबाट सीधै जेल जानेहरुको लामो सूची, जसमा थपिँदैछन् त नेतान्याहु ?

    काठमाडौं- अहिले इजरायली प्रधानमन्त्री अन्योलमा छन् । राष्ट्रपति आइजाक हर्गोजले विपक्षी गठबन्धनका गादी आइसेनकोटलाई नयाँ सरकार गठन गर्न सङ्केत गरिसकेका छन् । त्यसको दुई दिनपछि बेन्जामिन नेतान्याहुले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै इजरायल गृहयुद्धतर्फ धकेलिने चेतावनी दिए । उनले अरब गठबन्धनले इजरायल राज्यलाई नै बारम्बार अस्वीकार गरेको र उसको उपस्थितिमा सरकार गठन धेरै जनाका लागि अस्वीकार्य हुनेसमेत बताए ।

    अहिले अल्ट्रा अर्थोडक्स हरेदम पार्टीको भूमिकाका बारे धेरैको चासो बढेको छ । विगतमा यो समूहको साथ नेतान्याहुको पक्षमा थियो । अहिले सोही समूहको साथ छुटेकै कारण नेतान्याहु धेरै कमजोर पनि बनेका हुन् ।

    आइसेनकोटको पक्षमा बहुमत देखेपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्तिको प्रक्रिया सुरु गरेका हुन् । यसका बाबजुद अहिले आइसेनकोटलाई असफल बनाउँदै नेतान्याहुलाई नै सत्तामा यथावतै राख्न केही शक्ति सक्रिय भएर लागिपरेको छ ।

    netanyahu

    अल्ट्रा अर्थोडक्स यहुदी दल युनाइटेड तोराह जुदिजमको नेतालगायत अन्य धेरै जनासँग नेतान्याहु सम्पर्कमा छन् । जेरुसेलममा रहेका नेतान्याहुका पूर्वसल्लाहकार माइकल बाराक यो सबै सामान्य भएको बताउँछन् । उनले अहिले आइसेनकोटको साथमा रहेको ६७ सिटमा केही सदस्य चोर्ने प्रयासमा नेतान्याहु अन्तिम समयसम्म रहने बताए ।

    सत्ताच्युत भएपछि नेतान्याहुले धेरै आरोप सहनेछन् । पहिलो त उनीमाथि भ्रष्टाचार र शक्तिको दुरुपयोगको अभियोग लाग्न सक्नेछ । विगतदेखि नै उनको राष्ट्रपति हर्गोजसँग राम्रो सम्बन्ध छैन ।

    सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसको प्रत्याक्रमणस्वरूप इजरायलले पनि प्यालेस्टाइनमा आक्रमण गरेको थियो । धेरै देशले यसलाई नरसंहारको संज्ञा दिएका थिए । यसकारण पनि उनलाई सत्ताबाट हट्नेबित्तिकै छिमेकी देशको डर छ ।

    अक्टोबर ७ को दिन २५० जना हमासले कब्जामा लिएको थियो । यी सबै छुटाउन पनि नेतान्याहु असमर्थ रहे । आइसेनकोट आफैंले पनि छोरासहित परिवारका ३ जना गुमाए । आफन्त गुमाउने धेरै जना यसै संसद्मा सदस्य भएका छन् । यसकारण संसद् नै नेतान्याहुको विरुद्धमा आक्रामक रहने सम्भावना प्रबल छ ।

    इजरायली राजनीतिका ज्ञाता निम्रोन फ्लासेनबर्ग पहिलो पटक इजरायली संसद्मा नेतान्याहुले कडा चुनौतीको सामना गर्ने बताए । उनले अहिले नेतान्याहुले गृहयुद्धको धम्की दिए पनि यसले विपक्षीलाई प्रभाव पार्न नसक्ने बताए ।

    अहिले नेतान्याहुको चाहना अमेरिका र इजरायल मिलेर इरानमा आक्रमण गर्ने भन्ने छ । उनले अहिले युद्ध चाहेका छन् । युद्ध भएमा यसै बहानामा सङ्कटकाल लगाउन पनि सकिने उनको बुझाइ छ ।

    सङ्कटकाल लागिहालेमा संसद्का सबै काम रोकिनेछ । यसले नेतान्याहुको सत्तालाई केही समयमा लम्ब्याउने छ । समाचार स्रोत यसका लागि नेतान्याहुले ट्रम्पसँग सम्पर्क गरे पनि यो सहज नहुने बताउँछन् ।

    पछिल्लो ५ दशकको विश्व घटनाक्रमलाई हेर्ने हो भने केही देशका घटना अचम्मलाग्दो नै छ । कोरोना महामारीपछि यस आधा दशकमा सेनाले सत्ता कब्जा गर्ने, निर्वाचनमा पराजयको सामना गरेपछि धेरै अभियोगको सामना गर्नुपर्ने र सडक विद्रोहबाट सत्ता फेरिएर सत्तासीनहरू विदेश भागेका घटना छन् ।

    सन् २०२१ मा म्यानमारमा सेनाले सत्ता कब्जा गरेको थियो । सेनाले सत्ता लिएलगत्तै निर्वाचित सरकार प्रमुख एवम् काउन्सिलर आङ साङ सुकीलाई नजरबन्दमा राखेको छ ।

    suki

    उनीमाथि भ्रष्टाचार गरेको तथा निर्वाचनमा धाँधली गरेको आरोप छ । सन् २०२६ मा म्यानमारमा सेनाले एकतर्फी निर्वाचनको घोषणा गरेको छ ।

    यस्तै घटना बङ्गलादेशमा पनि भयो । बङ्गलादेशमा भएको विद्यार्थी आन्दोलनले शेख हसिना बाजेदलाई सत्ताच्युत गरेको थियो । विद्यार्थी आन्दोलनलाई थेग्न नसकेपछि उनी सन् २०२४ अगस्ट ५ मा भागेर भारत पुगिन् । यसअघि १५ वर्ष उनको शासनमा बङ्गलादेश रहेको थियो ।

    Hasina 1738861786

    सन् २०२५ नोभेम्बर १७ मा उनीविरुद्ध भएको सुनुवाइले मानवताविरोधी अपराध गरेको ठहर गरेको थियो । आन्दोलन दबाउन सबै शक्ति लगाएको र भ्रष्टाचार गरेको थप आरोप पनि उनीमाथि लागेको छ ।

    उनले भने आफूमाथि लागेको सबै आरोप झूटो भएको बताउँदै राजनीतिक पूर्वाग्रहले प्रेरित भएको आरोप लगाएकी छन् । यसै महिनामा उनले फेरि बङ्गलादेश फर्केर राजनीति गर्ने घोषणा गरिसकेकी छन् ।

    यस्तै अवस्था अर्को दक्षिण एसियाली देश पाकिस्तानमा पनि छ । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खान ३ वर्षदेखि जेलमा छन् । संसद्मा विश्वासको मत पाउन असफल भएपछि उनलाई रावलपिण्डीस्थित जेलमा राखिएको छ ।

    imran khan pak1

    उनलाई १४ वर्षको जेल सजाय तोकिएको छ । उनलाई भ्रष्टाचार, गैरकानुनी विवाह र राज्यको गोप्य सूचना चुहाएकोलगायतको आरोप छ । उनी अहिले अस्वस्थ छन् । आँखा नै देख्न छाडेपछि दुई दिन यता उपचार गराइरहेका छन् । बुधवार बिहान मात्र उनी उपचार सकेर जेलमा फर्किएका छन् ।

    अहिले नेतान्याहुका लागि सबैभन्दा कठिन मुद्दा अन्तर्राष्ट्रिय अपराध अदालतको निर्णय पनि हो । उनी सत्ताबाट हटेपछि अन्य देशमा गएर बस्ने सम्भावना न्यून छ ।

    विगतमा थुप्रै पटक मुस्किलले बचेका नेतान्याहुका लागि यो सबैभन्दा कठिन समय हो । यस कठिन घडी घटाउन उनी भरमग्दुर प्रयास गरिरहेका छन् । सायद सत्ताबाट हटेपछि सीधै जेल जीवन बिताउने नेताको सूचीमा पर्ने जोखिम उनको पनि छ ।

    -अलजजिरा, आईसीसी, बीबीसीलगायतको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images