काठमाडौं – सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको गोरेछाप गाउँ यतिबेला हिमपातपछि हिउँले सेताम्य बनेको छ । सगरमाथा आधारशिविर जाने पदमार्गमा पर्ने समुद्री सतहबाट करिब पाँच हजार १६४ मिटर उचाइको यो बस्ती हिउँले ढाकिएपछि झनै आकर्षक देखिएको छ । वरिपरि अग्ला हिमशृङ्खला, बीचमा झुप्रुक्क बसेको सानो बस्ती र हिउँले सेताम्य बनेका घर तथा पदमार्गले गोरेछापको सुन्दरता थप मनमोहक बनाएको छ ।
हिमपातपछि गोरेछाप पुग्ने पर्यटक हिउँमा रमाउने, तस्बिर खिच्ने र प्राकृतिक सौन्दर्यमा रमाउने गरेका छन् । हिउँले ढाकिएका घर, होटल र वरपरका हिमालको दृश्यले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्ने गरेको पथप्रदर्शक मदन कँडेलले बताए । उनका अनुसार जति पटक गोरेछाप पुगे पनि यसको प्राकृतिक सुन्दरताले उत्तिकै लोभ्याउने गर्छ ।
सगरमाथा आधारशिविरतर्फ जाने पदयात्रीका लागि गोरेछाप महत्त्वपूर्ण विश्रामस्थल हो । यहाँ स्थानीयका घरसँगै पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएका साना होटल तथा आवास सुविधा छन् । प्रतिकूल मौसम र अत्यधिक चिसोका बाबजुद पाँच हजार मिटरभन्दा माथिको उचाइमा मानव जीवन चलिरहेको यस बस्तीलाई सगरमाथा क्षेत्रको अन्तिम प्रमुख बस्तीका रूपमा समेत चिनिन्छ । आधारशिविरतर्फ अघि बढ्ने पर्यटकका लागि यहाँको आतिथ्य र उपलब्ध सुविधाले थप सहजता प्रदान गर्ने गरेको छ ।
तर, प्राकृतिक सुन्दरताले भरिएको यो हिमाली क्षेत्र जलवायु परिवर्तनको असरबाट भने अछुतो छैन । स्थानीयको अनुभवमा विगतको तुलनामा हिमालमा वर्षभरि रहने हिउँको मात्रा घट्दै गएको छ । करिब एक दशकअघिको जस्तो बाक्लो हिउँको आवरण अहिले देखिन छाडेको छ । हिमालका कतिपय भागमा हिउँ पग्लिएर चट्टान देखिन थालेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।
हिमालको हिउँ र प्राकृतिक वातावरण गोरेछापका बासिन्दाको जीविकोपार्जन तथा पर्यटन व्यवसायसँग प्रत्यक्ष जोडिएको छ । हिउँको मात्रा घट्दै जाँदा हिमाली पर्यावरणमा पर्ने असरले पर्यटन र स्थानीय जनजीवनसमेत प्रभावित हुन सक्ने जोखिम बढेको छ । हिमालको सुन्दरता जोगाउन नसकिए भविष्यमा यस क्षेत्रमा निर्भर समुदायको जीविकोपार्जनमा समेत चुनौती थपिने स्थानीयको चिन्ता छ ।
यसैबीच, टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय छलफलमा पनि हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर, हिमनदी संरक्षण र जोखिममा रहेका समुदायको सुरक्षाको विषय उठिरहेको छ । जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि यसको असर हिमाली क्षेत्रमा गम्भीर रूपमा देखिन थालेको छ । हिमालको हिउँ पग्लिने क्रम र प्राकृतिक प्रणालीमा देखिएका परिवर्तनले नेपाललाई जलवायु सङ्कटको उच्च जोखिममा रहेको मुलुकका रूपमा प्रस्तुत गरेको छ ।
हिउँको घुम्टोमा सजिएको गोरेछाप अहिले पर्यटकका लागि आकर्षक गन्तव्य बने पनि यसको प्राकृतिक स्वरूप जोगाउनु चुनौतीपूर्ण बन्दै गएको छ । हिमाल, हिमनदी र जैविक विविधताको संरक्षणसँगै त्यसमा आश्रित स्थानीय समुदायको भविष्य सुरक्षित गर्न विश्वव्यापी प्रतिबद्धता व्यवहारमा उतार्नुपर्ने आवश्यकता यस क्षेत्रले औँल्याएको छ ।
स्रोतः गोर्खापत्र





















