images
images
  • युवाको श्रमदानबाट म्याग्दीमा सडक मर्मत

    काठमाडौं – बर्खायाममा बिग्रिएर आवागमनमा समस्या हुँदै आएको म्याग्दीको मालिका गाउँपालिका–५ स्थित गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो युवाको सक्रियतामा मर्मत गरिएको छ । तिहारको अवसर पारेर न्यू देविस्थान युथ क्लबको आयोजनामा स्थानीय युवाले श्रमदान गरी सडक सरसफाइ तथा मर्मतसम्भार गरेका हुन् । मंगलबार आयोजित अभियानमा क्लबका पदाधिकारी तथा सदस्य, आमा समूह र स्थानीय अग्रजहरूको सहभागिता थियो ।

    श्रमदानका क्रममा सडकमा जमेको माटो, ढुङ्गा तथा झाडी हटाउनुका साथै आवश्यक मर्मत गरिएको क्लबले जनाएको छ । बर्खायाममा अवरुद्ध सडक मर्मतमा ढिलाइ हुँदा स्थानीयवासीलाई आवतजावत र सामान ढुवानीमा समस्या हुँदै आएको थियो । सरकारी निकायको प्रतीक्षा गर्दा मर्मतमा ढिलाइ भएपछि युवाहरूले नै अग्रसरता लिएर सडक सुधार अभियान सञ्चालन गरेको क्लबका सचिव सुभास पुन मगरले बताए ।

    उनका अनुसार तिहार मनाउन जन्मथलोमा भेला भएका ३० जना युवाले सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले श्रमदान गरेका हुन् । चाडपर्वको अवसरलाई सामाजिक कामसँग जोड्दै स्थानीय पूर्वाधार सुधारमा युवाहरू जुटेको उनले बताए ।

    अभियानलाई सफल बनाउन स्थानीय लक्ष्मीकुमार पुन, रेशम घर्ती मगर र रेकबहादुर पुनले ढुवानीका लागि आवश्यक ट्र्याक्टर भाडा तथा खाजाका लागि आर्थिक सहयोग गरेका थिए। क्लबका अनुसार खाजामा मात्रै १० हजार ७९० रुपैयाँ खर्च भएको थियो । चाडपर्वमा गाउँ फर्किएका युवाको सामूहिक पहलबाट सडक मर्मत भएपछि स्थानीयवासीलाई आवागमन र ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images