images
images
  • दुई करोड बजेटपछि दमौली खेलमैदान स्तरोन्नति गरिँदै

    काठमाडौं – ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न आवश्यक पूर्वाधारको अभावमा सेभेन ए साइड फुटबलमा सीमित हुँदै आएको तनहुँको दमौली खेलमैदान स्तरोन्नति हुने भएको छ। व्यास नगरपालिका–३ स्थित बीपी वनवाटिकामा रहेको खेलमैदानलाई व्यवस्थित बनाउन सङ्घीय सरकारले दुई करोड रुपैयाँ बजेट विनियोजन गरेपछि स्तरोन्नतिको प्रक्रिया अघि बढेको हो । खेलमैदानको स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । विनियोजित बजेटबाट मैदानको भौतिक अवस्था सुधार गर्नुका साथै खेलाडीका लागि कपडा फेर्ने कक्ष र शौचालय निर्माण गरिने योजना छ ।

    नगर खेलकुद समितिका अध्यक्ष एवं व्यास नगरपालिका–६ का वडाध्यक्ष जीवन गुरुङले सङ्घीय सरकारबाट प्राप्त बजेट कार्यान्वयनको प्रक्रिया अघि बढिसकेको बताए । यसअघि नगरपालिकाको बजेटबाट खेलमैदानमा प्यारापिट निर्माण गरिएको थियो । अब मैदानको अवस्था सुधार गरी प्रतियोगिता सञ्चालन गर्न आवश्यक थप पूर्वाधार निर्माण गरिने उहाँले जानकारी दिए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलमैदान रहेको जग्गा जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको उल्लेख गर्दै त्यसलाई व्यवस्थित बनाउने प्रयास भइरहेको बताए । आवश्यक पूर्वाधार निर्माण भएपछि खेलमैदानलाई नियमित र व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुने उनको भनाइ छ ।

    हाल दमौली खेलमैदानमा आवश्यक पूर्वाधारको अभावका कारण ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न कठिनाइ हुँदै आएको छ । यहाँ मुख्यतः सेभेन ए साइड फुटबल प्रतियोगिता सञ्चालन हुने गरेको छ । मैदानको स्तरोन्नति र आवश्यक संरचना निर्माणपछि जिल्लास्तरीय तथा ठूला प्रतियोगिता आयोजना गर्ने सम्भावना बढ्ने अपेक्षा गरिएको छ । खेलमैदान व्यवस्थित बनेपछि स्थानीय खेलाडीले अभ्यास र प्रतिस्पर्धाका थप अवसर पाउने नगर खेलकुद समितिका अध्यक्ष गुरुङले बताए । यसले जिल्लाको खेलकुद गतिविधि विस्तार गर्न र नयाँ खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    दमौलीका युवा भुवन गोशलीले वर्षौंदेखि युवाको सपना बनेको फुटबल मैदान निर्माणका लागि बजेट सुनिश्चित हुनु खुसीको विषय भएको बताए । आधुनिक सुविधासहितको खेलमैदान निर्माणले व्यास नगरपालिकाको खेलकुद विकासमा योगदान पुर्‍याउनुका साथै स्थानीय तथा क्षेत्रीय प्रतियोगिता आयोजना गर्न सहज हुने उनको भनाइ छ । खेलमैदानका लागि बजेट विनियोजन भएपछि खेलप्रेमी युवामा नयाँ उत्साह थपिएको उल्लेख गर्दै उनले खेलकुद पूर्वाधार विकासले युवालाई सकारात्मक गतिविधिमा जोड्न र दमौलीलाई खेलकुदको केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images