images
images
  • हर्मुजमा इरानले बिछ्याएको बारुदी सुरुङ विस्फोट, चार ट्याङ्करमा आगलागी

    काठमाडौं– हर्मुज जलघाँटी पार गर्ने क्रममा समुद्री बारुदी सुरुङमा ठोक्किएपछि चारवटा तेल ट्याङ्करमा आगलागी भएको इरानको सशस्त्र सेनाले जनाएको छ । अमेरिकी सेनाले मुख्य पारवहन मार्गबाट बारुदी सुरुङ हटाइसकेको दाबी गरेको एक दिनपछि इरानले यस्तो जानकारी दिएको हो ।

    इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी) का अनुसार पछिल्लो २४ घण्टामा हर्मुज जलघाँटीको अनधिकृत दक्षिणी मार्गबाट पार हुने प्रयास गर्दा तीनवटा ट्याङ्कर विस्फोट भई आगलागी भएको थियो । अर्को ट्याङ्कर पनि प्रतिबन्धित क्षेत्रमा बारुदी सुरुङमा ठोक्किएपछि जलघाँटीको पूर्वी भागमा आगलागी भएको इरानी सेनाले जनाएको छ । सुरुका तीनवटा जहाजले राडार तथा नेभिगेसन प्रणाली बन्द गर्नुका साथै आईआरजीसी नौसेनाको चेतावनी बेवास्ता गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यसैबीच बेलायती सामुद्रिक व्यापार सञ्चालन केन्द्र (यूकेएमटीओ) ले ओमानको खसाबबाट करिब २५ समुद्री माइल उत्तरपूर्वमा एउटा ट्याङ्करमा आगलागी भएको जनाएको छ ।

    बन्दरगाहतर्फबाट आएको सानो डुङ्गामा सवार व्यक्तिहरूले जहाजको बाहिरी भागमा दुईवटा विस्फोटक उपकरण जडान गरेपछि इन्जिन कक्षमा आगलागी भएको केन्द्रले जनाएको छ । केही घण्टापछि आगो नियन्त्रणमा आएको र चालक दलका सबै सदस्य सुरक्षित रहेको जानकारी दिइएको थियो ।

    इरानले पछिल्ला केही सातादेखि यस क्षेत्रमा जहाजहरू समुद्री बारुदी सुरुङमा ठोक्किएको बताउँदै आएको छ । तर अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले मुख्य पारवहन मार्गका सबै बारुदी सुरुङ हटाइसकेको दाबी गरेको छ ।

    आईआरजीसीका प्रवक्ता हुसेन मोहेबीले भने सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी पक्षलाई आफ्नो दाबी स्वतन्त्र प्रमाणबाट पुष्टि गर्न चुनौती दिएका छन् ।

    फेब्रुअरी २८ मा युद्ध सुरु भएयता इरानले विश्वको कुल तेल खपतको करिब पाँच भागको एक भाग ओसारपसार हुने हर्मुज जलघाँटीमा जहाज आवागमनमा कडा प्रतिबन्ध लगाउँदै आएको छ । अमेरिकाले जवाफमा इरानी बन्दरगाहमा नाकाबन्दी लगाउनुका साथै ट्याङ्करलाई जलघाँटी पार गर्न सहयोग गर्दै आएको छ ।

    सेन्टकमले यसै गर्मीयामदेखि खाडी मुलुकहरूबाट हर्मुज हुँदै एक अर्ब ५० करोड ब्यारेल तेल निर्यात गर्न सहयोग गरेको दाबी गरेको छ ।

    इरानले ओमानको तट नजिकको दक्षिणी मार्गलाई अनधिकृत मान्दै आएको छ । आइआरजिसीले उक्त मार्गमा बारुदी सुरुङ बिछ्याइएको भन्दै जहाजका मालिक तथा चालक दललाई त्यसको जोखिमप्रति सचेत गराएको छ ।

    -फाइल तस्विर

    प्रतिक्रिया दिनुहोस्
    images
    images