काठमाडौं– अमेरिकामा मध्यावधि निर्वाचन हुन अब केही दिनमात्र बाँकी छ । अमेरिकामा बारम्बार भएका सर्वेक्षण असफल भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुवै पटक सर्वेक्षणमा पछि पर्नुका बाबजुद निर्वाचनमा जित हात पार्न सफल भएका थिए ।
यस पटक भने अवस्था फरक छ । डेमोक्रेटको लोकप्रियता बढिरहेको छ । सर्वेक्षणमा धेरे अङ्कले अघि भएका कारण डेमोक्रेटको सफलताको सम्भावना बढी देखिएको हो ।
यस निर्वाचनमा ट्रम्प आफैं उम्मेदवार भएका छैनन् । तर पनि निर्वाचनले ट्रम्पले यस दुई वर्षमा गरेको कामलाई अमेरिकीले कसरी हेरेका छन् भन्ने कुरा छुट्ट्याउन सहज हुनेछ । साथै आगामी दिनमा उनको काम र योजना कति सहज रूपले अघि बढ्छ भन्ने पनि तय हुनेछ ।
यस निर्वाचनमा प्रतिनिधिसभामा ४३५ सिट तथा अमेरिकी सिनेटका १०० मध्ये ३५ सिटको चयन हुनेछ । अमेरिकी विदेशमन्त्री मार्क रुबियो र उपराष्ट्रपति जेडी भान्सको क्षेत्र फ्लोरिडा र ओहायोमा उपनिर्वाचन पनि हुनेछ ।
प्रतिनिधिसभा सदस्यको कार्यकाल दुई वर्षको हुन्छ । उनीहरूले एउटा कङ्ग्रेसनल जिल्लाको प्रतिनिधित्व गर्छन् ।
मध्यावधि निर्वाचन राष्ट्रपतिको लोकप्रियता मापनको एउटा मुख्य आधार हो । सन् १९४६ यता राष्ट्रपतिको दलले औसतमा प्रतिनिधिसभामा २६.५ प्रतिशत सिट गुमाएको छ । जर्ज वासिङ्टन विश्वविद्यालयका राजनैतिक व्यवस्थापनका प्राध्यापक टड बेल्टकै अनुसार सिनेटमा पनि राष्ट्रपतिको दलले धेरै सिट गुमाउने गरेका छन् ।
कङ्ग्रेसको अलावा मतदाताले राज्यका विधायक र स्थानीय अधिकारीको चयन गर्नेछन् । दुवै सदनमा अहिले रिपब्लिकनको बहुमत छ । डेमोक्रेटले यसलाई रोक्न सकेमा राष्ट्रपति ट्रम्पलाई आफू अनुकूल बजेट ल्याउन अवरोध सृजना गर्न सक्नेछ ।

डेमोक्रेटले प्रतिनिधिसभामा ३ तथा सिनेटमा ४ स्थान खोस्न सकेमा आफ्नो शक्ति बढाउन सक्छ । सिनेटमा बराबरी भएमा मात्र यो सबै सम्भव छ । किनकि भान्सले बराबरी भए मात्र मत दिन पाउनेछन् । अहिलेको प्रतिनिधिसभामा ४३५ सदस्य रहेका छन् ।
रिपब्लिकनको अहिले ठ्याक्कै बहुमत अर्थात् २१८ छ । डेमोक्रेटको २१४ छ । एक स्वतन्त्र सांसद रिपब्लिकनको पक्षमा छन् भने दुई स्थान खाली छ । हरेक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचन हुनेछ । मिचिगन र लोआका समान दुई गरी चार स्थानलाई धेरैले चासो दिएर हेरेका छन् ।
यसरी चासो दिइएका स्थानमा एरिजोना, क्यालिफोर्निया, कोलराडो, फ्लोरिडा, न्यु योर्क, ओहायो, टेक्सस तथा भर्जिनियामा समान एक स्थानमा तीव्र प्रतिस्पर्धा छ ।
माथिल्लो सदन सिनेटको स्वरूप
सिनेटमा १०० सदस्य छन् । कार्यकाल ६ वर्षको हुन्छ । प्रत्येक एकतिहाइ सदस्यको कार्यकाल दुई वर्षमा अन्त्य हुन्छ । अहिले निर्वाचन भइरहेका ३५ सिटमा रिपब्लिकनले २२ तथा डेमोक्रेटले १३ स्थानमा सिट सुरक्षित गरेका छन् । अहिले रिपब्लिकनको ५३ तथा डेमोक्रेटको ४५ छ । दुई स्वतन्त्रले डेमोक्रेटलाई साथ दिएका छन् । तसर्थ डेमोक्रेटले आफ्नो सिट चारले बढाउन आवश्यक छ ।
अहिले डेमोक्रेटले जितेका १३ स्थानमा निर्वाचन हुँदैछ । यी सबै जोगाएर थप एक निर्वाचन क्षेत्र जित्न आवश्यक छ । रिपब्लिकनले जितेका केही स्थानमा तीव्र प्रतिस्पर्धा त छ । तर विगतमा डेमोक्रेटले जितेका केही स्थान जोगाउन पनि मेहनत गर्नुपर्ने अवस्था छ ।
अहिलेको मुख्य चुनावी मुद्दा भनेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि, घरेलु सामानमा महँगी र स्वास्थ्य क्षेत्रमा बढेको आर्थिक भारलगायत छन् । प्रजनन् अधिकार, अध्यागमन र प्रजातन्त्रको सुदृढीकरण अन्य चुनावी मुद्दा हुन् ।
एआईको व्यापक विकास, अमेरिका–इरान युद्ध र रोजगारीको सुरक्षालगायत विषय पनि मुख्य एजेन्डा बनेका छन् ।
यो निर्वाचनमा १८ वर्ष पूरा भएका २१० मिलियन अमेरिकीहरूले मतदान गर्नेछन् । क्यालिफोर्निया, टेक्सस र फ्लोरिडामा सबैभन्दा धेरै मतदाता रहेका छन् ।
सर्वेक्षणमा डेमोक्रेट अगाडि
प्यु रिसर्च सेन्टरले सेप्टेम्बर २८ देखि अक्टोबर ४ सम्म गरेको एक सर्वेक्षण सार्वजनिक भएको छ । जसमा ४४ प्रतिशतले आफ्नो जिल्लामा डेमोक्रेटलाई साथ दिने देखाइएको छ । रिपब्लिकनको पक्षमा ३६ प्रतिशत रहेका छन् । ५ प्रतिशतले अन्य उम्मेदवारलाई साथ दिने बताएका छन् । १५ प्रतिशतले भने निर्णय गर्न सकिरहेका छैनन् ।
पुरुषहरूको मत दुवै दललाई बराबर ४२ प्रतिशत छ भने महिलाको मत डेमोक्रेटको पक्षमा ४५ प्रतिशत तथा रिपब्लिकनको पक्षमा ३१ प्रतिशत छ ।
डेमोक्रेटलाई प्रतिनिधिसभामा सफलता मिले यसले धेरै विधेयक पास गर्न ट्रम्पलाई अप्ठेरो पार्नसक्छ । सिनेटमा पनि रिपब्लिकनले प्रभाव गुमाएमा महत्त्वपूर्ण नियुक्तिहरूमा अवरोधसमेत आउन सक्नेछ ।
संसद्ले राष्ट्रपतिलाई महाअभियोग लगाउन सक्नेछ । यो कानुनी व्यवस्था भए पनि व्यवहारिक रूपले सम्भव छैन । राष्ट्रपतिविरुद्धको महाअभियोग पास हुन संसद्को दुईतिहाइ आवश्यक छ ।
आफ्नो प्रभाव क्षेत्रमा ट्रम्प

आफूले पछिल्लो ३ वटै निर्वाचनमा अग्रता कायम गरेका डोनाल्ड ट्रम्पले ओहायोको चुनावी सभालाई सम्बोधन गरे । उनले यस निर्वाचनमा पनि आफू नै उम्मेदवारसरह भएको कुरामा जोड दिएका छन् ।
ट्रम्पको मूल प्रयास विवेक रामाश्वामीको पक्षमा माहोल बनाउने छ । उनले डेमोक्रेट प्रतिस्पर्धी एमी एक्सनलाई झूटो भनेको कारण रामाश्वामी अहिले विवादमा छन् । अहिले डेमोक्रेट पार्टीमा समाजवादीहरूको भूमिका बढिरहेको ट्रम्पले बताएका छन् ।
पूर्वराष्ट्रपति बाराक ओबामाले भने जर्जियामा पुगेर सम्बोधन गरे । उनले अमेरिकाको मूल समस्या महँगी भएको बताए । दुवै नेताको यो दौडाहाको परिणाम अबको एक सातामा आउने नै छ ।
–अलजजिरा, सीबीएस न्युजलगायतको सहयोगमा


मनोज घिमिरे 



















