images
images
  • ट्रम्प इजरायलमा फेरि किन चाहिरहेछन् नेतान्याहु ?

    काठमाडौं– इजरायलमा आसन्न निर्वाचनको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेन्जामिन नेतान्याहुको पक्षमा आफूलाई उभ्याएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा लेख्दै नेतान्याहु ठुलो लडाकु तथा शान्तिको राम्रो सहयात्री भएको समेत उल्लेख गरे । उनले सामाजिक सञ्जालमा नै इरान यसै किसिमले चलेमा सैन्य र आर्थिक रूपले अझ धेरै क्षतविक्षत हुने सम्भावना रहेको चेतावनी समेत दिए ।

    राष्ट्रपति ट्रम्पले इजरायलको नेता गलत भएको खण्डमा अमेरिकाले त्यसको विरुद्धमा केही कदम उठाउनुपर्ने उल्लेख गरे । उनले अहिले अमेरिका नेतान्याहुप्रति धेरै सकारात्मक भएको समेत टिप्पणी गरे । राष्ट्रपति ट्रम्पले महिनाको अन्त्यमा हुने निर्वाचनमा नेतान्याहुप्रति पूर्ण समर्थन रहेको जनाएका छन् ।

    इजरायलमा नोभेम्बर २७ मा आमनिर्वाचन हुँदैछ । पछिल्लो सर्वेक्षणअनुसार यासर पार्टीका गाडी आइसेनकोट सबैभन्दा अघि छन् । नेसेटमा आइसेनकोटको दलले ५२ तथा नेतान्याहुको लिक्विडसहितको गठबन्धनले ५१ सिट जित्ने प्रक्षेपण छ । इजरायलको संसद् नेसेटमा कुल १२० सिट छ ।

    यसअघि पनि टाइम म्यागेजिनले दुई पटक ट्रम्पलाई इजरायलमा नेतान्याहुले जित हात पारेमा अमेरिकासँग हुने सम्बन्धको बारे प्रश्न गरेको थियो । ट्रम्पले अहिलेको सम्बन्धका बारे अमेरिकाले धेरै नै ख्याल गरेर अघि बढ्ने बताएका थिए ।

    पछिल्ला केही समययता त ट्रम्पले नेतान्याहुको आलोचना समेत गरेका थिए । थिङ्क ट्याङ्क चाथम हाउसका सनम भाकिल केही महिनादेखि सुमधुर सम्बन्ध नराखेका यी दुईबीचको सम्बन्धमा आएको सुधार तथा ट्रम्पको यो भाषा अर्थपूर्ण रहेको टिप्पणी गर्छिन् ।

    विश्लेषकहरूकै मतको आधारमा ट्रम्पको यो बोली नै पनि इजरायलको निर्वाचनमा एक या दुई सिटका लागि निर्णायक हुनसक्छ । पूर्ण राजनीतिको गेमचेन्जर बन्ने सम्भावना भने छैन ।

    अहिले अमेरिकाको ध्यान इरान युद्धमा केन्द्रित छ । अमेरिकाका नोभेम्बरको सुरुमा हुने निर्वाचनभन्दा अघि नै इरानमाथि आक्रमण हुने सम्भावना समेत प्रबल छ ।

    गत फेब्रुअरीमा इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि इरानले पनि हर्मुज जलडमरु बन्द गरेको थियो । यसैकारण संसारको व्यापारमा असर गरेको थियो । यसले अमेरिकामा पनि असर नगरेको होइन ।

    गत महिना यी दुई देशबीचको युद्ध अन्त्यको तयारी भएको थियो । तथापि केही सर्तहरू अमेरिकाले नमानेपछि वार्ता बिथोलिएको थियो । इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्ध अन्त्यको प्रस्ताव अझै इरानको टेबलमा रहेको तथा यसमा अमेरिका सकारात्मक भए ६ दिनको समयमा हर्मुजको बाटो पूर्ण रूपमा खुला हुनसक्ने बताएका छन् ।

    अराघचीले ट्रम्पको सामाजिक सञ्जालमा उल्लेख गरेको कुराको जवाफ दिँदै आएका छन् । ‘तिमीहरूका काम बाँकी छ भने हाम्रो पनि बाँकी छ’, उनले चेतावनीको भाषामा लेखे ।

    अहिले पनि नेतान्याहुको चाहना इरानमाथि फेरि आक्रमण गर्ने नै छ । ट्रम्पको यो समर्थनको अर्थ नै अमेरिका र इजरायलको संयुक्त रूपमा सैन्य अभ्यासको चाहना भएको भाकिलको मत छ ।

    इरानमा भने नेतृत्वप्रति आमनागरिकको विश्वास किञ्चित पनि डगमगाएको छैन । यो नै अमेरिका र इजरायलका लागि ठुलो चिन्ताको विषय हो ।

    अहिले ट्रम्पको दाबी र धेरै सञ्चारकर्मीको मतमा समेत भिन्नता आएको छ । ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनभन्दा अघि आक्रमण गर्ने नीति नरहेको बताए पनि मिडिया आउटलेटहरुले मतदान सुरु हुनुअगावै इरानमा आक्रमण सुरु हुने अनुमान गरेका छन् ।

    त्यसो त ट्रम्पको कामलाई नोभेम्बरको निर्वाचनले पक्कै पनि असर गर्नेछ । पछिल्ला मत सर्वेक्षणले डेमोक्रेटलाई धेरै अघि देखाएका छन् । तथापि ट्रम्पको नेतान्याहुमाथिको समर्थन संयुक्त सैन्य अभ्यासको सङ्केत हो । जसले मध्यपूर्वमा फेरि चिन्ता थपेको छ ।

    – एजेन्सीहरुको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images