काठमाडौं- दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटस्थापनादेखि आज नवमीसम्म पाँच लाख ७६ हजार ५७८ जना काठमाडौं उपत्यकाबाट बाहिरिएको जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार घटस्थापनादेखि आजसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत उक्त संख्यामा सर्वसाधारण काठमाडौ उपत्यकाबाट बाहिरिएका हुन् ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले उपत्यका छाड्ने यात्रुमध्ये दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष रहेका छन् ।
दसैं मनाउन उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढेसँगै काठमाडौं उपत्यकाका प्रमुख नाकामा सवारीसाधनको आवागमन बाक्लिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ ।
यी नाकामा दसैंका लागि घर फर्किने यात्रुको चाप बढ्दै गएपछि सवारीसाधनको आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष ध्यान दिएको छ ।
चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताए ।
यात्रुको आवागमन सहज बनाउने, सवारीसाधनको चाप व्यवस्थापन गर्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सडकमा निगरानी बढाइएको उनको भनाइ छ ।























