काठमाडौं-नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा आउने चाहेको बताएका छन् । तत्काल क्रिकेट एकेडेमी खोल्ने तयारीमा रहेका उनले नेपाल क्रिकेट संघ (क्यान)को आसन्न निर्वाचनबाट क्रिकेट व्यवस्थापनको भूमिकामा आफूलाई उतार्ने प्रयास गर्नेछन् ।
१० वर्षसम्म नेपालको कप्तानी गरेका पारसले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए । त्यसको भोलिपल्ट बुधबार सञ्चारकर्मीहरुमाझ उपस्थित खड्काले भनेका छन्, ‘एउटा खेलाडीका रुपमा मैले पार्न सक्ने इम्प्याक्ट यति नै थियो । अब व्यवस्थापन आउन मन छ ।’
क्रिकेटबाट टाढिएको छैन र टाढिने पनि छैन, खेलाडीका रुपमा गर्न सक्ने यत्ति हो, अब व्यवस्थापनमा आउन मन छ
उनले अघि भने, ‘नेपाल क्रिकेटको कुनै न कुरै रोलमा मैले आफूलाई देखेको छु ।’ सन् २००४ मा नेपालको राष्ट्रिय टिममा डेब्यू गरेका पारसले २००९ देखि २०१९ सम्म नेपालको कप्तानी गरे । उनकै आफ्नो कप्तानीमा डिभिजन ५ मा रहेको नेपाललाई आईसीसी क्रिकेट वर्ल्ड प लिग टूसम्म ल्याइपुर्याए, एकदिवसीय राष्ट्रको मान्यता दिलाए । नेपालले पहिलो पटक टी–२० विश्वकप खेल्यो ।
एकदिवसीय विश्वकप खेल्ने र नेपाललाई टेष्ट राष्ट्र बनाउने उनको सपना अधुरै रह्यो । पूर्वकप्तान पारस भन्छन्, ‘१९९६ मा सदस्यता पाएको नेपालले २००४-५ मा ओडीआई स्टाटस पाएको भए मेरो जीवनकालमै टेष्ट खेल्न्थ्यौं होला ।’अझै पनि आफ्नै जीवनकालमा नेपाल टेष्ट नेसन बनेको हेर्ने उनको चाहना छ र, त्यसका लागि आफूले सकेको भूमिकाका लागि सँधै तयार रहेको बताए ।
चुनाव जितेर आउन सहज छैन

पारसका अनुसार जब उनी कप्तान भए, त्यसको केही समयमै खेल जीवनपछि के भन्ने सोच्न थालेका थिए । २००९ मा कप्तान भएको एक डेढ वर्षमा केके गर्न सकिन्छ भन्ने आइडिया भएको भन्दै उनले अघि भने, ‘भोलि गएर क्रिकेट संघमा कुनै न कुनै भूमिका आउन सक्यो भने ‘भन्ने लाग्यो ।’ तर क्रिकेट संघमा चुनावी प्रक्रियाबाट आउनुपर्ने भएकाले चुनौतीपूर्ण रहेको उनले बताए । पारस भन्छन्, ‘जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म चुनावी प्रक्रियाबाट आउनु छ । तर म फेरि भन्छु, व्यक्तिभन्दा माथि उठेर आउनुपर्छ ।’
क्रिकेट व्यवस्थापनमा आउने निर्णयलाई करियरको सुरुवात मानेका उनले क्रिकेट संघको पदाधिकारी वा कोषध्यक्ष वा अध्यक्ष हुँदैनमा सबथोक नहुने बताउँछन् । ‘पारस खड्का क्यानमा आउनुपर्छ’, ‘पारस खड्का आयो भने यो गर्छ’ भन्ने मानिसहरुमा रहेको भन्दै उनले आफ्नो कारण मात्र नेपाली क्रिकेट यहाँसम्म नआएको बताए ।
‘म लगायत धेरै खेलाडी छन्, मभन्दा अगाडिका खेलाडीहरु पनि छन्, क्रिकेटका अरु स्टेकहोल्डरहरु पनि छन्’ उनले भने, ‘आगामी दिनमा साच्चै व्यवस्थित गर्न मेरो अनुभव र ज्ञानले मदत गर्छ भने त्यो भूमिका लिन नयाँ बाटो रोजेको छु ।’ सबैले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने भन्दै उनले भने, ‘जो हुनुहुन्छ, उहाँहरुलाई मिलेर काम गर्नुपर्छ । जसरी खेलाडी र प्रशिक्षले आफ्नो जिम्मेवारी निभाएका छन्, अरुले पनि आफ्नो जिम्मेवारी लिनुपर्छ ।’
केन्द्रको बजेट ताक्ने प्रवृत्तिका कारण प्रभावकारी काम हुन नसकेको भन्दै उनले भने, ‘भएका स्टेक होल्डरहरुलाई झ जिम्मेवार बनाउनुपर्छ र मेरिट बेसमा काम गर्नुपर्छ ।’
त्यो वातावरण मिस गर्छु…
झण्डै दुई दशक नेपालको राष्ट्रिय टोलीमा रहेका पारससँग खुसी, आँसु, हाँसोका धेरै सम्झना छन् । अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि क्रिकेट टिमभित्रको वातावरण मिस गर्ने उनले सुनाए । टिममा हुँदा विभिन्न पृष्ठभूमिबाट आएका सबैको गोल नेपाललाई जिताउनु हुने गरेको भन्दै पारसले भने, ‘सबैले अन फिल्ड मात्र हेर्नुहुन्छ, तर अफ फिल्ड धेरै थोक हुन्छ । त्यसलाई मिस गर्छु ।’
२८ असोज २०७६ मा कप्तान छाड्दा नै अन्तर्राष्ट्रिय क्रिकेट छाड्ने कि रु भन्ने सोच आएको सुनाएका उनले टिमलाई सहयोग होस भने् खेलिरहेको बताए । अब सही समय आएका सन्यास लिएको भन्दै उनले युवा खेलाडीहरु क्षमतावान रहेको र विश्वकपको तयारीका लागि पर्याप्त समय रहेको बताए । पारसले घरेलु क्रिकेट खेल्न मन रहेको बताए, तर खेल्ने नखेल्ने निर्णय लिइसकेको सुनाए ।
‘क्रिकेटले नेतृत्वकला सिकायो, राजनीतिमा आउन तयार छु’
क्रिकेटले मलाई यति धेरै समर्थक, उहाँहरुको माया र यति धेरै आर्शिवाद दिएको छ । त्यसका लागि म आभारी छु । मलाई लाग्छ, खेलाडी जीवन टुंग्याउने यो नै सही समय हो । अहिले नेपालसँग निकै प्रतिभावान युवा टिम छ । नेपालले अहिले एकदिवसीय क्रिकेट खेलिरहेको छ र यो चक्र पूरा हुन पनि दुई वर्ष बाँकी छ । त्यसैले यो दुई वर्ष टिमलाई अघि बढाउनका लागि राम्रो समय हो ।
नेपालका क्रिकेट टिमका खेलाडीहरूसँग राम्रो चिनजान र संगत भएकाले उनीहरुलाई आवश्यक पर्दा म अवश्य पनि सल्लाह दिनेछु ।सन्यासको निर्णय मैले हतारमा लिएको होइन । यसका लागि धेरै सोचेको छु । मैले हरेकपटक खेलमा कसरी प्रभाव पार्न सकिन्छ भनेर सोच्थें, अहिले सम्झँदा मैले पार्न सक्ने प्रभाव यति नै थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट छाडिसकेपछि व्यवस्थापनमा आउने इच्छा मैले यसअघि पनि धेरैपटक प्रकट गरेको थिएँ । व्यक्तिगत रुपमा मेरो सन्यास लिने निर्णय जति गाह्रो रह्यो, त्योभन्दा धेरै गाह्रो त देशको प्रतिनिधित्व गरेर खेल्ने क्रममा हुन्थ्यो । हामीले हासिल गरेका कुनै पनि उपलब्धि सहज छैनन्, यी सबै चुनौतीले भरिएका छन् । देशबाट हरेकपटक खेल्दा कप्तानका रुपमा सही निर्णय लिनुपर्ने, सही खेल्नुपर्ने दबाब हुन्थ्यो ।
खेलले नै नेतृत्वकला सिकायो
म २००९ मा राष्ट्रिय टिमको कप्तान भएँ । त्यो पोजिसनमा के–के गर्न सकिन्छ भनेर मैले बुझें । मलाई लाग्छ, सबैजना क्रिकेट संघमा आएर सबै मिलेर अघि बढ्ने हो भने धेरै कुरा अघि बढाउन सकिन्छ ।खेलले मलाई त्यही सिकाएको छ । कतिवटा गलत निर्णय हुन्छन्, कतिवटा सही निर्णय हुन्छन् । सबैले हामीले विश्वकप खेल्यौं भनेर वाहवाही गरे । तर, हामीले विश्वकप हारेका पनि थियौं ।अहिले हामीसँग ओडिआई स्ट्याटस छ । अर्को लेभलमा पुग्नका लागि भने व्यवस्थापनले सर्पोट गर्नुपर्छ । यी प्रतिभावान खेलाडीहरुलाई व्यवस्थापनले सर्पोट गर्ने हो भने आगामी दिनमा नतिजा अझ राम्रो हुनेछ ।
सुखद् अनुभवहरु
क्रिकेट मैदानमा मेरा धेरै सुखद् स्मरणहरु छन् । जतिबेला हामी डिभिजन २ मा खेलिरहेका थियौं । त्यतिबेला टिमले हा-यो भने नेपालको ओडिआई मान्यता पाउने सपना सकिनेछ भनेर लागेको थियो । मेरो खेल जीवन त यस प्रतियोगितासँगै सकिनेछ, नेपाली क्रिकेटको सपना पनि सकिनेछ भन्ने थियो ।जब यो खेल हामीले १ विकेटले जित्यौं । तब म मैदानमा कुदिरहेको थिएँ । जबकि, अन्य प्रतिस्पर्धाहरूमा म यसरी कुद्ने गरेको थिइँन । हामी सपनाको नजिक पुगिसकेका थियौं, त्यसैले बेग्लै भावना उत्पन्न भइरहेको थियो । अब फर्केर नआउने त्यो क्षण मेरो मस्तिष्कमा गाढा भएर बसिरहने छ ।
हाम्रो पुस्ताका खेलाडीले गर्न सक्ने योगदान यति नै रहेछ । हामीले एकदिवसीय मान्यता दिलायौँ, टी–२० विश्वकप खेल्यौं । यसक्रममा क्रिकेटरका रुपमा जुन सम्मान र माया पाइयो, त्यही नै ठूलो छ । फरक पृष्ठभूमिबाट आएर नेपाललाई जिताउने एउटै लक्ष्यमा अघि बढिरहेका हामी सबै खेलाडीले जुन रमाइलो गथ्र्यौं, टिमभित्रको जुन वातावरण थियो, ती सबै मिस हुनेछन् ।
मानिसहरुलाई पारस खड्का क्यानमा आउनुपर्छ, पारस खड्काले यस्तो गर्छ, उस्तो गर्छ भन्ने पनि छ । तर, पारस खड्काले गर्दामात्रै क्रिकेट टिम यहाँसम्म आइपुगेको होइन । म लगायत धेरै खेलाडीहरु छन् । मभन्दा अगाडिका खेलाडीहरूले पनि योगदान गर्नुभएको छ । क्रिकेटका सबै सरोकारवालाहरुको कारण यहाँसम्म आइपुगेका हौं ।
यदि क्रिकेटको विकासमा मेरो अनुभव, सल्लाह, सुझावले सहयोग गर्छ भने नेपालको लागि योगदान गर्न सधैं तयार छु । हिजो खेलाडीका रुपमा योगदान गरेको थिएँ, अब नयाँ भूमिकामा गर्छु होला । तर, म क्रिकेटबाट टाढिएको होइन, क्रिकेटमै रहिरहनेछु ।
एक्लो प्रयासले केही हुँदैन
मेरो उमेर केवल ३३ वर्ष भयो होला । तर, नेपाली क्रिकेटमा म जसरी संलग्न भएको छु, यहाँ गरेको कडा परिश्रम, प्रतिवद्धता र सोचका हिसाबले हेर्ने हो भने मानसिकरुपमा म ५० नाघिसकें । मैले एउटा क्रिकेटर र कप्तानका रुपमा पनि धेरै कुरा पाएँ ।आगामी दिनका लागि म निकै एक्साइटेड छु । म क्रिकेटरकारुपमा पनि म चुनौतीको मज्जा लिन्थेँ । चाँडै विकेट गयो भने रन हान्न झन् मज्जा आउँथ्यो । यसको अर्थ विकेट जाओस् भन्ने पनि होइन ।
क्रिकेट र खेलकुदसम्बन्धी अरु निकायले पनि सहकार्य गरेर अघि बढेमा नेपाली क्रिकेट माथि पुग्छ भन्ने लाग्छ । कहिलेकाँही म सोच्थें १९९६ मा एशोसियट मान्यता पाएको नेपालले २००५ मा ओडिआई स्ट्याटस पाएको भए । अर्थात्, मैले डेब्यु गर्दा नेपाल ओडिआई मान्यताप्राप्त देश हुन्थ्यों भने सायद म यतिबेला टेस्ट क्रिकेट खेलिरहेको हुन्थेँ कि ! तर, यथार्थ अर्कोतर्फ थियो । हामीमध्ये कोही खेतमा, कोही घरको आँगनमा, कोही शहरबाट क्रिकेट खेलेर आएका थियौं । हामीले जुन वातावरणमा खेल्यौं, त्यो वातवारण र क्रिकेटिङ लेभलले हामीलाई पुयाउनसक्ने यहाँसम्म नै थियो ।
अहिलेको जेनेरेशनका खेलाडी भने निकै प्रतिभावान छन् । उनीहरुको इन्फरमेसन र पहुँच धेरै छ । ट्यालेन्ट पनि छ, एक्सपोजर पनि छ । उनीहरुमा स्ट्रङ क्यारेक्टर डेभलप गरेर अघि बढ्ने हो भने भविष्यमा राम्रो नतिजा आउनेछ । अहिलेको युवापुस्ताले नेपाललाई टेस्ट मान्यता दिलाउनेछ भन्ने मेरो सपना हो । मेरो सपनाले मात्रै हुँदैन । टिमको मिहेनतले मात्रै पनि हुँदैन, हामी सबैलाई थाहा छ, टेस्ट मान्यता पाउनु धेरै चुनौतीपूर्ण छ । मैदानभित्रको कुरा त एकातर्फ छ, मैदान बाहिरको प्रणालीलाई पनि सुधार्न जरुरी छ । आगामी १० वर्षमा टेस्ट खेल्ने राष्ट्र बन्यौं भने हामी सबै खुसी नैं हुनेछौं ।
भूमिका परिवर्तन गर्न खोजेको हुँ, राजनीतिमा आउन तयार छु
मैले एउटा खेलाडीका रुपमा प्रेसर सिचुएशनमा आफूलाई कसरी ह्यान्डल गर्ने भनेर बुझेको थिएँ । त्यही चुनौती सामना गरेर यहाँसम्म आएको हुँ । अनफिल्ड क्रिकेटिङ जर्नी सकिएको छ । आगामी दिनमा पनि बाटो सहज हुने छैन ।तर, म क्रिकेट छाड्न गइरहेको छैन, भूमिका परिवर्तन गर्न खोजेको मात्रै हो । व्यवस्थापकका रुपमा पनि सक्रिय हुने चाहना र सम्भावना त छँदैछ । यसबाहेक प्रशिक्षण करियरलाई पनि अघि बढाउन सक्छु । संसारभर धेरै लिगहरु सञ्चालन भइरहेका छन् । प्रशिक्षक बन्नका लागि लेभल वान, लेभल टु कोर्स गर्नुपर्ने हुन्छ र भोलि ती लिगहरुमा अफर आउन सक्छ ।
तत्कालका लागि केही समयभित्रै एउटा एकेडेमी सञ्चालनमा ल्याउने योजना बनाइरहेको छु । मलाई प्राप्त हुने अवसरहरूलाई स्वीकारेर जिम्मेवारी पूरा गर्ने कोसिस गर्नेछु । क्रिकेटमा रहेका जिम्मेवार व्यक्तिहरुसँग मिलेर यस खेललाई अघि बढाउने प्रयास गर्नेछु । यदि मलाई राजनीतिमा उपयुक्त अवसर आयो र मैले राजनीति गर्दा देशको हित हुन्छ भने म राजनीतिमा आउन पनि तयार छु ।
(नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले बुधबार आफ्नो सन्यासपछिको योजनाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा व्यक्त गरेको धारणाको सम्पादित अंश )


विश्व खबर 


















