काठमाडौं– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ ।
महानगरपालिकाले बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका परिवारको व्यवस्थापनका लागि निवेदन माग गरेपछि प्राप्त निवेदन, दाबी–विरोध, संशोधन तथा आवश्यक छानबिनका आधारमा अन्तिम विवरण तयार गरिएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार अन्तिम विवरणमा ३२५ परिवार भूमिहीन र २४२ परिवार अव्यवस्थित बसोबासी कायम भएका छन् ।
अन्तिम सूचीअनुसार १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुमबासी रहेका छन्। यसरी भूमिहीन परिवारको कुल संख्या ३२५ पुगेको छ ।
त्यस्तै, छानबिनपछि २४२ परिवारलाई अव्यवस्थित बसोबासीका रूपमा कायम गरिएको छ ।
यसअघि प्रारम्भिक विवरणमा भूमिहीन दलिततर्फ २००, भूमिहीन सुकुमबासीतर्फ २४८ र अव्यवस्थित बसोबासीतर्फ ११६ निवेदन परेको थियो। दाबी–विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि छानबिन र परीक्षण गरेपछि अन्तिम विवरणमा परिवारको संख्या परिवर्तन भएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाबाट जिल्ला समितिमा सिफारिस गरिने
वडा तहको सहजीकरण समितिले दाबी–विरोध र छानबिनपछि तयार गरेको अन्तिम विवरण वडा समितिसमक्ष पेस गरेको थियो। वडा समितिको बैठकले उक्त प्रतिवेदनलाई नियमानुसार ग्रहण गर्दै आवश्यक सिफारिससहित महानगरपालिकामा पठाउने निर्णय गरेको छ ।
अब पोखरा महानगरपालिकाको कार्यपालिकाले प्रतिवेदनमाथि छलफल गरी जिल्ला समितिमा सिफारिस गर्ने तयारी गरेको छ ।
महानगर प्रमुख आचार्यले वास्तविक भूमिहीन, भूमिहीन दलित तथा सुकुमबासी परिवारको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
उहाँका अनुसार दाबी–विरोध र छानबिनको प्रक्रिया पूरा भएसँगै बसपार्क क्षेत्रमा रहेका परिवारको व्यवस्थापन प्रक्रिया निर्णायक चरणमा पुगेको छ ।
“वास्तविक भूमिहीन, भूमिहीन दलित र सुकुमबासी परिवारको पहिचान गरी कानुनबमोजिम व्यवस्थापन गर्ने प्रक्रिया अब निर्णायक चरणमा पुगेको छ। कसैलाई अन्याय नहोस् र वास्तविक पीडितले न्याय पाऊन् भन्ने उद्देश्यले छानबिन र दाबी–विरोधको प्रक्रिया पूरा गरेका छौँ,” आचार्यले भन्नुभयो ।
महानगरपालिकाका अनुसार प्रक्रिया समयमै अघि बढेमा अर्को सातादेखि बसपार्क क्षेत्रको सुकुमबासी बस्ती स्थानान्तरणको काम सुरु गर्ने तयारी छ ।
आचार्यले सबै सरोकारवाला निकायसँग समन्वय गरी व्यवस्थित रूपमा स्थानान्तरणको काम अघि बढाइने बताउनुभयो ।
‘पहिले व्यवस्थापन, त्यसपछि बसपार्क खाली गर्छौं’
बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुमबासीले भने निष्पक्ष छानबिनबाट वास्तविक भूमिहीन तथा सुकुमबासीको पहिचान गरी व्यवस्थापन गर्न आफूहरूले सहयोग गर्ने बताएका छन् ।
भूमिहीन सुकुमबासी सरोकार समितिका संयोजक प्रेम गुरुङले विकास निर्माणका काममा आफूहरू बाधक नबन्ने तर बसपार्क खाली गर्नुअघि वैकल्पिक व्यवस्थापन गरिनुपर्ने माग गर्नुभयो ।
“हाम्रो कारणले मात्र बसपार्क बन्न नसकेको होइन। यसमा धेरै कारण छन् । हामी बसपार्क बनाउन महानगरलाई सहयोग गर्न तयार छौँ । हाम्रो वैकल्पिक व्यवस्थापन पहिले हुनुपर्छ,” गुरुङले भन्नुभयो ।
पाँच दशकदेखि अलपत्र बसपार्क योजना
पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा जग्गा अधिग्रहण गरिएको थियो। तर, पाँच दशकसम्म पनि बसपार्क निर्माण हुन नसक्दा पृथ्वीचोक क्षेत्रबाटै लामो तथा छोटो दूरीका बस सञ्चालन हुँदै आएका छन् ।
बसपार्कका लागि छुट्याइएको जग्गामा सुकुमबासी तथा अन्य व्यक्तिको बसोबास र अतिक्रमण भएपछि निर्माण योजना अघि बढ्न नसकेको महानगरपालिकाको भनाइ छ ।
पछिल्लो समय महानगरपालिकाले बसपार्क क्षेत्रभित्र रहेका व्यापारिक सटर तथा संरचना हटाउने कामसमेत अघि बढाएको छ ।
बसपार्कको जग्गा खाली गराएपछि दातृ निकायको सहयोगमा सुविधासम्पन्न बसपार्क निर्माण गर्ने योजना महानगरपालिकाले अघि सारेको छ ।
अब भूमिहीन तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगिएसँगै उनीहरूको व्यवस्थापन र स्थानान्तरण प्रक्रिया अघि बढ्ने तथा त्यसपछि लामो समयदेखि अलपत्र रहेको पोखरा बसपार्क निर्माण योजनाले गति लिने अपेक्षा गरिएको छ ।






















