दार्चुला- दार्चुलाको सीमावर्ती भारतीय जिल्ला पिथौरागढ प्रशासनले घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार पठाएको पत्रको शनिबार जवाफ फर्काउँदै भारतीय प्रशासनले यस्तो दाबी गरेको हो ।
पाँगला गस्कुमा (तुइन भएको भारतीय क्षेत्र) एसएसबीको गस्ती टोली पुग्दा जयसिंह धामी महाकालीमा खसिसकेको दाबी भारतीय प्रशासनले गरेको छ । ‘होहल्ला सुनेपछि एसएसबीको गस्ती टोलीका कमान्डरले बुझ्दा जयसिंह धामी तुइनको तार फुकालेर नेपालतर्फ फालिरहेको अवस्थामा अल्झिएर नदीमा बेपत्ता भएको थाहा भयो,’ पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरूपले पठाएको पत्रमा भनिएको छ, ‘तार फाल्ने क्रममै अल्झिएर धामी नदीमा खसेका हुन् ।’
घटना भएको समयमा एसएसबीको टोली मालघाट क्षेत्रमा ड्युटीमा खटिएको पत्रमा उल्लेख छ । भारतीय प्रशासनले पठाएको पत्र जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालयमा पठाएको छ ।
गृह मन्त्रालय भन्छ– अनुसन्धान जारी छ
शनिबार गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनाको वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइसकेको र सत्य–तथ्य जानकारी तथा उद्धारका लागि जिल्ला प्रशासन कार्यालय दार्चुला, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागको टोली खटिई घटनास्थलमा आवश्यक जाँचबुझ गर्ने कार्य भइरहेको छ ।’
घटनास्थलबाट सुरक्षा अधिकारी फर्केपछि वास्तविकता सार्वजनिक गर्छौँ : सिद्धराज जोशी, प्रजिअ, दार्चुला
सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थल पुगेको छ । सुरक्षाटोलीले प्रत्यक्षदर्शीसँग सोधपुछ गर्ने र आवश्यक अन्य अनुसन्धानपछि घटनाबारे सत्य–तथ्य बाहिर ल्याउनेछ । फिल्डमा पुगेका सुरक्षा अधिकृतहरूको रिपोर्टिङपछि वास्तविकता बाहिर आउँछ ।
भारतको पाँगला थानामा एसएसबीविरुद्ध उजुरी
तुइन तर्ने क्रममा एसएसबीले डोरी काटेका कारण व्यास गाउँपालिका– २ मालगाउँका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भन्दै आफन्तहरूले भारतीय प्रहरीमा उजुरी दिएका छन् । व्यास– २ का बहादुरसिंह धामी र जोगासिंह धामीले धार्चुला तहसिलको पाँगला प्रहरी थानामा उजुरी दिएका हुन् ।
तुइनको डोरी काटेपछि एसएसबीका जवानहरू भागेको उजुरीमा उल्लेख छ । घटनापछि त्यस क्षेत्रमा रहेका नेपालीलाई ‘कसैलाई नभन्न’ धम्क्याएको निवेदक बहादुरसिंहले बताए । उजुरीमा सीमा क्षेत्रका दुई देशका नागरिकबीचको आपसी सम्बन्धका कारण तुइनबाट आवतजावत हुँदै आइरहेको उल्लेख छ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्