दार्चुला- तुइन तर्दै गर्दा भारतीय अर्धसैनिक बल एसएसबीले डोरी फुकालिदिएपछि शुक्रबार बिहान महाकाली नदीमा बेपत्ता भएका दार्चुला व्यास गाउँपालिका– २ मालगाउँका जयसिंह धामी शनिबार पनि फेला परेका छैनन् । उनको खोजीमा हिँडेका परिवारका सदस्य र गाउँलेले मृत्यु भएको आशंकामा कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् ।
‘गाउँका १५–२० जनासहित महाकालीको किनारैकिनार निकै तलसम्म खोज्यौँ । नदीमा पानी निकै बढेको छ, डुबाएर मृत्यु भयो । शवसमेत भेट्टाउन सकिने अवस्था नरहेपछि कुशको शव बनाएर दाहसंस्कार गरेका हौँ,’ जयसिंहका भाइ नरेन्द्रसिंहले भने, ‘बगेको ठाउँमै कुशको मूर्ति बनाएर अन्तिम संस्कार गर्यौँ ।’
सुरक्षाकर्मीसँगै स्थानीयले शनिबार बर्तिबगड, मडगाउँ हुँदै डोकटको नदी किनारमा जयसिंहको खोजी गरेका थिए । भारततर्फको किनारमा एसएसबीले पनि खोजी गरिरहेको थियो । जयसिंह बेपत्ता भएपछि मालगाउँ पूरै शोकमा छ । घरमा जयसिंहको पत्नी, करिब सात वर्षका छोरा र डेढ वर्षकी छोरी छन् । कमाउने मुख्य व्यक्ति नै बेपत्ता भएपछि परिवार बिचल्लीमा परेको छ । उनका अन्य तीन भाइ छुट्टाछुट्टै बस्दै आएका छन् । ‘छोराछोरी नाबालक छन्, स्वाभाविक रूपमा कसरी घर चलाउने भन्ने समस्या बढेको छ,’ स्थानीय हरकसिंह कार्कीले भने, ‘उनकी पत्नी राजन्तीमाथि ठूलो बज्रपात भएको छ ।’
श्रीमान् बेपत्ता भएको सुनेदेखि राजन्ती छिनछिनमा बेहोस भइरहेकी छिन् । गाउँलेले उनलाई ढाडस दिने र सम्झाउने गरिरहेको नरेन्द्रले बताए । ‘दाजु काठमाडौं गएर विदेश जाने तयारी गर्छु भन्नुहुन्थ्यो, त्यता जान सम्भव भए ठिकै भयो नत्र गौरापर्वका लागि केटाकेटीका लागि लुगाफाटो लिएर फर्किन्छु भनेर हिँड्नुभएको हो । तर, सबै सपना महाकालीको भेलमा बिलायो,’ उनले भने ।
वैदेशिक रोजगारीका सिलसिलामा दुई वर्ष कतार र एक वर्ष दुबईमा सेक्युरिटी गार्डको काम गरेका जयसिंह गत वर्ष कोरोना महामारीले काम छुटेपछि नेपाल फर्किएका थिए । उनले आठ वर्षजति सेनामा पनि जागिर गरेका थिए । दुबईबाट फर्किएपछि जयसिंहले काठमाडौंको एक बैंकमा सेक्युरिटी गार्डको काम पनि गरेका थिए । भाइ नरेन्द्रका अनुसार विदेश जाँदा लागेको सात–आठ लाख ऋण अझै तिर्न सकेका छैनन् ।
बेपत्ता रहेका जयसिंह धामीको महाकाली किनारमा खोजी गर्दै स्थानीय
शुक्रबार बिहान सदरमुकाम खलंगाका लागि हिँडेका जयसिंह मालघाटमा तुइन तर्ने क्रममा एसएसबीले डोरी फुकाइदिएपछि महाकालीमा खसेर बेपत्ता भएका थिए । खलंगाबाट काठमाडौं जाने उनको योजना थियो । शुक्रबार जयसिंहभन्दा अघि तुइन तरेका प्रत्यक्षदर्शीले ‘तुइनबाट जयसिंह पारि (भारततर्फ) पुग्न एक–डेढ मिटर बाँकी रहँदा एसएसबीले डोरी काटेको’ बताएका थिए ।
सडकमार्गको पहुँच नहुँदा स्थानीय बासिन्दा सदरमुकाम आउन पनि तुइनकै भर पर्नुपर्ने बाध्यता छ । तुइन तरेपछि भारतपट्टिबाट गाडी चढेर उनीहरू खलंगा पारिपट्टि धारचुलासम्म पुग्छन् । तर, पछिल्लो समय एसएसबीले वेलावेलामा तुइन काटेर दुःख दिने गरेको थियो ।
शुक्रबार बिहान जयसिंह तुइन तर्दा सञ्चालक कल्याणसिंह धामीले तीनजना तरेपछि मात्रै डोरी फुकाउन एसएबीलाई अनुरोध गरेका थिए । तर, एसएसबीका जवानले अमानवीय व्यवहार देखाउँदै जयसिंह तरिरहेका वेला डोरी फुकालिदिए । ‘एसएसबीसँग तीनजना तरेपछि डोरी काट्नुहोला भनेर निकै आग्रह गरेका थियौँ । तर, जयसिंह तरिरहेका वेला एकजना एसएसबीका जवानले तार फुकालिदिए,’ कल्याणसिंहले भने ।
तुइनको डोरी भारतपट्टिको रूखमा तीन फन्को बेरिएको थियो । ‘जयसिंह भारतपट्टि पुग्न एक–डेढ मिटर बाँकी थियो, त्यही वेला तुइनको डोरी फुकाइदिए,’ कल्याणसिंहले भने । जयसिंहपछि तुइन तर्ने लाइनमा विक्रम रंकोली थिए । ‘हामीसँग फोटो खिच्न मोबाइल थिएन । हामी तीनजना नेपालतिर थियौँ । जयसिंह भारतपट्टि पुग्ने वेला नदीमा खसे । एक्कासि उनी महाकालीमा डुबेपछि हामी पनि आत्तियौँ,’ उनले भने, ‘नेपालतिर भएको भए उद्धारमा कोसिस गथ्र्यौँ, एसएसबीका जवान जयसिंह महाकालीमा खस्नेबित्तिकै भागेर पाँगलास्थित ब्यारेकतर्फ गए ।’
तुइन भएकै ठाउँमा झोलुंगे पुल बनाउन तीन वर्षअघि ठेक्का लागेको छ । तर, अहिलेसम्म जग हाल्ने काम मात्रै भएको छ । ‘पुल बनाउने भनेर जग हाल्ने काम मात्रै भयो, बाँकी काम अघि बढेन,’ तुइन सञ्चालक कल्याणसिंह धामीले भने, ‘यो ठाउँमा पुल बनेको भए जयसिंहले अकालमै ज्यान गुमाउनुपर्ने थिएन ।’ मालगाउँबाट पैदल हिँडेर सदरमुकाम पुग्न घोरेटो बाटो पनि राम्रो छैन । गाउँबाट खलंगा पुग्न पूरै एक दिन लाग्छ । तर, महाकालीमा तुइन तरेर भारततिरबाट गाडीमा जाँदा एक घन्टामै सदरमुकाम पुगिन्छ ।
घटनास्थल पुगे सुरक्षाकर्मी
सशस्त्र प्रहरीको नम्बर ४४ गणका डिएसपी वीरसिंह धामी र जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख तथा सूचना अधिकारी नरेन्द्रबहादुर चन्द नेतृत्वको टोली शनिबार व्यासको मालगाउँ पुगेको छ । घटनाबारे थप अनुसन्धान गर्न टोली भारतीय बाटो हुँदै घटनास्थल गएको हो । उनीहरू व्यास गाउँपालिकाको तिगरमस्थित पुलबाट नेपाल प्रवेश गरेका थिए ।
त्यस्तै, व्यास गाउँपालिका– २ दुम्लिङबाट सशस्त्रका इन्स्पेक्टर नरेन्द्रसिंह बोहरा र नेपाल प्रहरीका असइ जनकबहादुर सिंह मालगाउँ पुगेका छन् । सुरक्षा टोलीले प्रत्यक्षदर्शीसँग सोधपुछ गर्ने र अनुसन्धानका आधारमा घटनाबारे सत्यतथ्य बाहिर आउने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।
‘फिल्डमा पुगेका अधिकृतहरूको रिपोर्टपछि घटनाबारे यकिन विवरण आउँछ,’ प्रजिअ जोशीले भने । भारततर्फको स्थलगत अध्ययन गर्न गएका सशस्त्र प्रहरी नम्बर ४४ गणका गणपति नरेन्द्रबहादुर बमले घटनास्थलबारे सुरक्षा बैठकमा जानकारी गराएका छन् ।
तुइन तर्दै गर्दा एसएसबीले डोरी फुकालिदिएपछि शुक्रबार बिहान महाकालीमा बेपत्ता भएका जयसिंह धामीकी शोकाकुल पत्नी र परिवार । श्रीमान् बेपत्ता भएको सुनेदेखि नै उनी छिनछिनमा बेहोस हुने गरेकी छिन् । डेढ वर्षकी छोरी र करिब सात वर्षका छोराको लालन–पालन र शिक्षा–दीक्षाको जिम्मेवारी उनको काँधमा आएको छ । वैदेशिक रोजगारीका लागि दुई वर्ष कतार र एक वर्ष दुबईमा सेक्युरिटी गार्डको काम गरेका जयसिंह गत वर्ष कोरोना महामारीले काम छुटेपछि नेपाल फर्किएका थिए । शुक्रबार पनि उनी विदेश जाने प्रक्रिया थाल्न काठमाडौं हिँडेका थिए ।


विश्व खबर 


















