काठमाडौं– बल्खु–थापाथली सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानपछि सार्वजनिक भएका तीन छुट्टाछुट्टै घटनाले देशभर तीव्र चर्चा र राजनीतिक बहस सिर्जना गरेको छ ।
विस्थापित परिवारको व्यवस्थापन, मानसिक स्वास्थ्य र पुनःस्थापनामा सरकार असफल भएको आरोप लागिरहेको छ ।
सबैभन्दा पहिले बल्खुका ६१ वर्षीय ईन्द्रबहादुर राई घर भत्किएको हेर्न नसक्ने भन्दै बिहान घरबाट निस्किएपछि दिउँसो बागमती खोलामा मृत अवस्थामा फेला परेका थिए ।
त्यसपछि थापाथली सुकुम्बासी बस्तीका १७ वर्षीय एक किशोरले आत्महत्या गरेको खबर सार्वजनिक भयो ।
त्यसैगरी, भक्तपुरको बोडेस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका ५७ वर्षीय हिरालाल पासवान कोठाको फ्यानमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।
थापाथलीका टहरा हटाइएपछि उनी अस्थायी रूपमा होल्डिङ सेन्टरमा बस्दै आएका थिए ।
यी घटनापछि सामाजिक सञ्जालदेखि संसदसम्म सरकारको आलोचना तीव्र बनेको छ ।
स्थानीयवासी र अधिकारकर्मीहरूले पहिले पुनःस्थापना, त्यसपछि हटाउने नीति अपनाउनुपर्ने बताएका छन् ।
मानसिक तनावमा रहेका परिवारलाई तत्काल मनोसामाजिक परामर्श, सुरक्षित आवास र आर्थिक सहयोग उपलब्ध गराउन माग गरिएको छ ।
प्रहरीले भने तीनवटै घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।






















