काठमाडौं– नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ सहचालक पाइलटहरूका लागि आधार प्रशिक्षण उडान सुरु गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बुधबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनबमोजिम प्रशिक्षण उडान सञ्चालन गरिएको हो ।
विमानस्थलका प्रवक्ता इन्जिनियर कुमार सुजखुले निगमले आफ्नो एउटा जहाजको सञ्चालन आधार गौतमबुद्ध विमानस्थलमा राख्ने तयारीस्वरूप नयाँ सहचालक पाइलटहरूलाई प्रशिक्षण दिइरहेको जानकारी दिए । विमानस्थलका अनुसार एयरबस ३२० विमानमार्फत धावनमार्गमा उडान र अवतरणको प्रयोगात्मक अभ्यास गराइनेछ । बुधबारदेखि सुरु भएको प्रशिक्षण उडान भदौ ३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
सामान्यतया एयरलाइन्सहरूले उडान सेवालाई सहज, नियमित र किफायती बनाउन प्रमुख विमानस्थलमा सञ्चालन आधार स्थापना गर्ने गर्छन्। निगमको यो कदम गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन गतिविधि विस्तार गर्ने प्रयासका रूपमा पनि हेरिएको छ ।


विश्व खबर 

















