काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा सरदरभन्दा केही उत्तर अर्थात् नेपाल नजिक र पूर्वी भू–भागमा सरदर स्थान आसपास रहेको छ ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली तथा मधेश प्रदेशमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ । मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भू–भागमा भने आंशिक बदली रहने अनुमान गरिएको छ ।
देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ ।
यसैगरी, कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाका कारण आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज राति देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली र तराई भू–भागमा आंशिक बदली रहनेछ । हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।























